विराट गोल्डकप : आर्मीलाई पराजित गर्दै झापा सेमिफाइनलमा

आइतबार, २९ चैत, २०८२
डिजिटल संस्करण

विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गर्दै झापा– ११ सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको रात्रिकालीन प्रतिस्पर्धामा विभागीय टोलीविरुद्ध मोफसलको टिम हाबी भएको हो । 

झापाको जितमा स्ट्राइकर फागुराम थारूले दुई गोल गरे । राष्ट्रिय लिगमा प्लानिङ ब्बाइजका लागि खेलेका उनी नै खेलको प्लेयरअफ द म्याच घोषित हुँदै नगद ११ हजार रुपैयाँ प्राप्त गरे । आर्मीका लागि नवीन लामाले एक गोल फर्काएका थिए । 

अब, आइतबारको खेल ’ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली एपीएफ क्लबबिच हुनेछ । प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । वैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका प्रतिष्ठित क्लब गरी ८ टिमको सहभागिता छ । विराट गोल्डकप ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीका अनुसार प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार र अन्य विधागत उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

फागुरामको दुई गोल 
झापाको जितमा युवा स्ट्राइकर फागुरामले दुई गोल गरे । उनले दुबै गोल पहिलो हाफमा गरेका हुन् । फागुरामले खेलको दशौँ मिनेटमा अप्रत्याशित रूपमा झापालाई अग्रता दिलाएका थिए । अनुप तामाङले मिलाइदिएको पासलाई सदुपयोग गर्दै फागुरामले आकर्षक गोल गरेका थिए । 

तर, २३औँ मिनेटमा नवीन लामाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । नवीनले गौरव महर्जनको पासमा सदुपयोग गरेका थिए । ४४औँ मिनेटमा फागुरामले पुनः दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् । यसपटक फागुरामलाई राजेश दाहालले गोलको अवसर बनाइदिएका थिए । बाँकी समय आर्मीले खेलमा दबाब बनाएपछि फाइनल थर्डमा चुकेको थियो । 

झन्डै ११ वर्षपछि सोही मैदानमा आमनेसामने भएका यी दुई टोलीबिचको भिडन्त निकै प्रतिस्पर्धात्मक थियो । विसं २०७१ सालको विराट गोल्डकप फाइनलमा पनि झापाले आर्मीलाई नै हराएर उपाधि जितेको थियो । शनिबारको नतिजासँगै झापाले पुरानो इतिहास मात्र दोहोर्याएन, आर्मीलाई प्रतियोगिताबाट घर फर्काइदिएको छ ।

प्रतिस्पर्धात्मक खेल
पहिलो हाफमै झापाले अग्रता बनाए पनि दोस्रो हाफमा आर्मीले खेल बराबरी गर्ने थुप्रै अवसर गुमायो । आर्मीले आधा दर्जनभन्दा बढी चर्चित खेलाडी समावेश गरेर प्रतियोगिता खेल्न गएको थियो । तर, उपाधि दाबेदार मानिएको आर्मी पहिलो खेलबाटै बाहिरिएको छ । ७६औँ मिनेटमा भरत खवासको पासमा कप्तान जिलेस्पीजंग कार्कीको प्रहार झापाका रक्षक योगेश गुरुङले गोललाइनबाट क्लियर गरिदिए । लगत्तै ७८औँ मिनेटमा गौरव महर्जनको सशक्त प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । झापाका तर्फबाट विदेशी खेलाडी सोलमन र राजेश दाहालको प्रहारलाई आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै अन्तर बढ्न दिएका थिएनन् ।

सुझावित समाचार