कोशी प्रदेशस्तरीय प्याराग्लाइडिङ प्रतियोगिता २०८२ को उपाधि भारतीय पाइलट अलिसार रम्तेल र नेपाली पाइलट विष्णु तिम्सिनाले जितेका छन् । उदयपुरको बेलका नगरपालिका– ८ बोप्ताङमा पहिलोपटक आयोजना भएको प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियो । समान ४४ अंक जोडेपछि अलिसार र विष्णुलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
यसैगरी, सुमनजंग थापा दोस्रो र र पवन परियार तेस्रो भए । महिलातर्फको प्रतिस्पर्धामा भारतीय पाइलट सियन्सी तामाङले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हात पारिन् । प्रतियोगिताका विजेताले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघ, जिल्ला समिति उदयपुरका अध्यक्ष ईश्वरमान राईले प्रतियोगिता आठ राउन्डमा सम्पन्न भएको बताए । जसमा दुवै पाइलटले उत्कृष्ट सन्तुलन र सटीक अवतरण प्रदर्शन गरेका थिए । चैत २६ र २७ गते दुई दिनसम्म सञ्चालन भएको प्रतियोगिताले स्थानीयस्तरमा साहसिक पर्यटन प्रवद्र्धन गर्ने नयाँ सम्भावना उजागर गरेको आयोजकले जनाएको छ ।
नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघ, जिल्ला समिति उदयपुरको आयोजना तथा कोशी प्रदेश पर्यटन कार्यालय धरानको आर्थिक सहयोगमा सम्पन्न उक्त प्रतियोगितामा विदेशी चारजनासहित कुल ३५ जना पाइलटको सहभागिता रहेको थियो । प्रतियोगिताभर पाइलटहरूले बोप्ताङबाट दुई सय ८० भन्दा बढी उडान गरेका थिए ।
उडानका क्रममा सहभागीले कोशी टप्पु आरक्ष, सप्तकोशी नदी क्षेत्र तथा आसपासका प्राकृतिक दृश्यहरूको अवलोकन गरेका थिए । निर्धारित मापदण्डअनुसार उनीहरूले किनाराको लाहुरे खोच क्षेत्रमा सटीक रूपमा अवतरण गर्नुपर्ने नियम थियो, जसले प्रतियोगितालाई थप प्रतिस्पर्धात्मक बनाएको थियो ।
यसरी दिइन्छ अंक
प्याराग्लाइडिङ एक्युरेसी प्रतियोगिता हवाई खेलकुदअन्तर्गतको विशेष विधा हो । जसमा पाइलटहरूले आकाशबाट उडान गरेर जमिनमा तोकिएको सानो लक्ष्य विन्दुमा कति नजिक अवतरण गर्न सक्छन् भन्ने आधारमा अंक प्रदान गरिन्छ । प्रत्येक पाइलटले अधिकतम आठपटकसम्म उडान गर्ने अवसर पाउने व्यवस्था गरिएको थियो । जसले उनीहरूको निरन्तरता र दक्षताको परीक्षण गर्ने काम गरेको थियो । आयोजकले भविष्यमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बोप्ताङ क्षेत्रलाई प्रदेशस्तरीय मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ । स्थानीयवासी, पर्यटन व्यवसायी तथा सरोकारवालाले पनि यस प्रतियोगिताले क्षेत्रको पर्यटन प्रवद्र्धन, स्थानीय अर्थतन्त्रको सुदृढीकरण तथा पहिचान विस्तारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।