वीरगन्जका क्यासिनोमा प्रहरीको छड्के अनुगमन

शुक्रबार, २७ चैत, २०८२
डिजिटल संस्करण

वीरगन्जका क्यासिनोहरूमा नेपाली नागरिक प्रवेश गर्दै आएको सूचनापछि पर्सा प्रहरीले आकस्मिक छड्के अनुगमन गरेको छ। बिहीबार राति सादा पोसाकमा खटिएको प्रहरीले किङ क्यासिनो, सुरज होटेल क्यासिनो र सरुबर पोटिका क्यासिनोमा छड्के अनुगमन गरेको हो।

अनुगमनका क्रममा वीरगन्जका क्यासिनो परिसर, खेल क्षेत्रदेखि प्रवेशद्वारसम्म विशेष निगरानी गरिएको प्रहरीले जनाएको छ। छड्के अनुगमनका क्रममा क्यासिनोभित्र नेपाली नागरिक भने फेला नपरेको डिएसपी हरिबहादुर बस्नेतले बताए।

उनका अनुसार क्यासिनोमा नेपालीहरू प्रवेश गरेर निर्वाध खेलिरहेको सूचना पुगेपछि क्यासिनोको अनुगमन गरिएको हो। जिल्लामा रहेका केही क्यासिनोहरूमा विगतको जस्तै अहिले पनि अनुगमन गरिएको डिएसपी बस्नेतले बताए।

पर्सा प्रहरीले यस्ता छड्के अनुगमनलाई निरन्तरता दिएका कारण कानुन कार्यान्वयनमा थप प्रभावकारिता ल्याउने विश्वास रहेको उनले बताए।

सुझावित समाचार