सम्पत्ति शुद्धीकरणमा छानबिनमै रहेका पूर्वप्रधानमन्त्री तथा कांग्रेस पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ अनुमति मागेपछि जिल्ला अदालत काठमाडौंबाट उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
देउवादम्पती हाल हङकङमा छन् । त्यसैले, पुर्जी जारी भए पनि तत्काल पक्राउ असम्भव छ । उनीहरूलाई आफैँ चाँडो स्वदेश नफर्किए इन्टरपोलमार्फत झिकाउने सरकारको तयारी छ । रेडकर्नर नोटिस जारी गर्ने विषयमा छलफल भइरहेको विभाग स्रोतले बताएको छ । सम्बन्धित देशको अदालतले पक्राउ पुर्जी जारी गरिसकेको, तर पक्राउ गर्न अन्य देशको सहयोग चाहिने अवस्थामा रेडकर्नर नोटिस जारी गरिन्छ ।
‘सन्देहपूर्ण’ विदेश बसाइ
पक्राउ पुर्जी जारी भएपछि पूर्वप्रधानमन्त्री देउवाले आफू उपचारका क्रममा विदेश रहेको दाबी गरेका छन् । तर, उपचारका नाममा देउवादम्पतीको लामो विदेश बसाइ ‘सन्देहपूर्ण’ देखिन्छ । कुन अस्पतालमा कस्तो उपचार गरिरहेको उनीहरूले खुलाएका छैनन् । स्वास्थ्य उपचारभन्दा पनि ‘सम्पत्ति व्यवस्थापन’का लागि उनीहरू सिंगापुर र हङकङमा बसेको सूचना आएको स्रोतको दाबी छ ।
देउवा पछिल्लोपटक १४ फागुनमा सिंगापुर गएका थिए । त्यसयता उनी स्वदेश फर्किएका छैनन् । करिब तीन साता सिंगापुर बसेर हङकङ गएका उनी हाल उतै छन् । आरजु भने शेरबहादुर सिंगापुर जानुभन्दा एक साताअघि नै भारत गएकी थिइन् । उनी भारतबाटै सिंगापुर गएकी हुन् ।
देउवाका छोरा–बुहारी जयवीर र शिवाना श्रेष्ठ पनि लामो समयदेखि विदेशमै छन् । स्रोतका अनुसार देउवाले बुढानीलकण्ठस्थित जग्गा पनि बिक्री प्रक्रिया अघि बढाएका थिए । यद्यपि, उनको त्यो जग्गा रोक्का भइसकेको छ ।
काठमाडौंको बुढानीलकण्ठमा रहेको देउवाको घर जेन–जी विद्रोहका क्रममा आन्दोलनकारीहरूले तोडफोड र आगजनी गरेका थिए । त्यसक्रममा देउवादम्पतीमाथि कुटपिट पनि गरिएको थियो । घरभित्र ठुलो परिमाणमा पैसा भेटिएको भन्दै जलाउँदै गरेका भिडियो सार्वजनिक भएका थिए ।
देउवादम्पती विदेशमा रहेकै वेला घर भत्काउन सुरु गरियो । तर, अनुसन्धान भइरहेका वेला घर भत्काउँदा प्रमाणहरू नष्ट हुने भन्दै सम्पत्ति शुद्धीकरण विभागको निर्देशनमा रोकिएको छ ।
पक्राउ पुर्जीपछि विदेशबाटै देउवाले भने–सम्पत्तिबारे भ्रामक प्रचार भयो, मेरो जीवन खुला किताब छ
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भने आफ्नो र परिवारका सदस्यको सम्पत्तिलाई लिएर भ्रामक प्रचार भइरहेको दाबी गरेका छन् । आफूविरुद्ध पक्राउपुर्जी जारी भएपछि बुधबार उनले फेसबुकमार्फत वक्तव्य जारी गर्दै भनेका छन्, ‘म र मेरो परिवारबारे सम्पत्तिसम्बन्धी विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु ।’
देउवाले आफू खुला किताब रहेको दाबी गर्दै भ्रष्टचारमुक्त समाज निर्माण गर्न आफू गृहमन्त्री भएकै वेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन बनेको स्मरण गराएका छन् । ‘मेरो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको छ । भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन, २०५९ लागू भएको सर्वविदित नै छ,’ उनको भनाइ छ ।