हेटौँडामा अवैध घरेलु मदिराभट्टीमा प्रहरी छापा, तीनजना नियन्त्रणमा

बुधबार, २५ चैत, २०८२
डिजिटल संस्करण

मकवानपुर प्रहरीले हेटौँडामा अवैध रूपमा सञ्चालन हुँदै आएको घरेलु मदिराभट्टीमा छापा मारेर तीनजनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका– १६ मा एक घरमा खानतलासी गर्दा ठुलो परिमाणमा मदिरा उत्पादन भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ५ घर भई हाल हेटौँडा– १६ मा डेरा गरी बस्दै आएका ६७ वर्षीय भिमानसिंह तामाङले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्दै आएका थिए ।

सोही भट्टीमा काम गर्ने कामदार १९ वर्षीय लीलाबहादुर तामाङ र मकवानपुरको बकैया गाउँपालिका– ४, हात्तीसुँडे घर भएका २२ वर्षीय शिवराज ठकुरीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

छापा मार्ने क्रममा प्रहरीले करिब पाँच सय लिटर तयारी घरेलु मदिरा तथा दुई हजार पाँच सय लिटर कच्चा पदार्थ बरामद गरी सोही स्थानमा नष्ट गरेको जनाएको छ ।

त्यस्तै, मदिरा उत्पादनमा प्रयोग हुने मदिरा बनाउने मेसिन एक थान, प्लास्टिकका १५ वटा ड्रम, ग्यासका सातवटा सिलिन्डर, फलामका तीनवटा स्टेन्ड, भट्टी चुलो एक थान, मर्चा आधा कार्टुन, सोडा आधा कार्टुन र कोदो ४० बोरा बरामद गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जनाएको छ ।

सुझावित समाचार