राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठन भएयता सेयर बजारमा ठुलो गिरावट आएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजार र लगानीकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका छन् । उनले सोमबार सेयर लगानीकर्ता तथा आर्थिक पत्रकारहरूसँग छुट्टाछुट्टै छलफल गरेर रास्वपा सरकार सेयर बजारप्रति उदार रहेको प्रस्ट पारेका हुन् । सरकारले धरपकड गर्ने नीति नलिएको, तर इन्साइडर ट्रेडिङ र म्यानिपुलेसन गर्नेलाई कारबाही गर्नेसमेत उनले बताए ।
अर्थमन्त्रीले सोमबार स्टक ब्रोकर एसोसिएसन, नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल गर्दै वर्तमान सरकार सेयर बजारप्रति उदार रहेको भन्दै अफवाह फैलाउनेलाई कारबाही गरिने बताए । उनले नेपालको सेयर बजारमा अफवाह फैलाउने र इनसाइडर ट्रेडिङ गर्नेलाई निस्तेज पारिने बताएका छन् ।
‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ । पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो–बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ, सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमुना क्षेत्रका रूपमा लिएको छ । प्रधानमन्त्रीले पनि अन्य क्षेत्रमा पनि स्टक मार्केटको जस्तो डिजिटलाइजेसन गर्न खोज्नुभएको छ,’ उनले भने, ‘स्टक मार्केटमा आएर ‘सम्पत्ति कहाँबाट ल्यायौ ?’ भनेर सोध्ने अवस्था छैन । सरकारले धरपकड गर्ने नीति लिएको छैन ।’
सेयर बजारमा सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकारले नसोचेको अर्थमन्त्रीको भनाइ छ । सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा पारदर्शी भएकाले बजारमा भित्रिएको लगानीको सम्पत्ति शुद्धीकरण छानबिन गर्नेतर्फ सरकार नरहेको उनले स्पष्ट पारे । यही कारण, लगानीकर्ता आत्तिनुनपर्ने वाग्लेको भनाइ छ ।
स्टक मार्केटबारे बोल्दै उनले बजारमा अफवाह फैलाइएको भन्दै चिन्ता व्यक्त गरे । ‘सरकारले अघि बढाएको सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई देखाउँदै केही समूहले चलखेल गर्न खोजेको छ,’ वाग्लेले भने, ‘तैपनि, इनसाइडर ट्रेडिङ गर्ने र नियमविपरीत कारोबार गर्नेलाई निस्तेज पारिन्छ ।’ तर, सेयर बजारमा भएको लगानीको वैधता खोज्नेबारे अहिले नै सरकारले छलफल नगरेको वाग्लेको भनाइ छ ।