मनीष झा भन्छन् - प्रश्नको अस्तित्व नभए जनता सदनमै छिर्छन्

सोमबार, २३ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य मनीष झाले सदनमा जनताको आवाज दबाइए जनता आफैँ सदनमा प्रवेश गर्न सक्ने चेतावनी दिएका छन्।

सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले सदन जनताको आवाज उठाउने थलो भएको उल्लेख गर्दै जनताको प्रश्नको अस्तित्व नभए त्यसको परिणाम गम्भीर हुने बताएका हुन्। ‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,’ उनले भने, ‘त्यो भदौ २३ र २४ गते देखिइसक्यो, सहकर्मीहरूले सम्झिरहनुहोला।’

उनले अतीतमा सदनलाई बालुवाटार, बुढानीलकण्ठ, बालकोट र खुमलटारबाट सञ्चालन गर्ने प्रयास हुँदा विवाद र असन्तुष्टि चर्किएको स्मरण गराए। सत्तापक्षको दम्भकै कारण जनस्तरमा आन्दोलन चर्किएको दाबी गर्दै उनले ‘जेन-जी आन्दोलन’ त्यसको उदाहरण भएको बताए।

सांसद झाले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र र निष्पक्ष बनाउने दिशामा काम गर्न आग्रह गरे। ‘सभामुखले उदारता देखाउनु छ, संस्कार देखाउनु छ र विश्वास दिलाउनु छ,’ उनले भने।

उनले सदनलाई जनताको वास्तविक प्रतिनिधि संस्थाका रूपमा स्थापित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

See More On

सुझावित समाचार