फेक रेस्क्यु प्रकरण : १० जनाविरुद्ध एक लाखदेखि ३० लाखसम्म धरौटी माग, २२ विरुद्ध पक्राउ पुर्जी

शुक्रबार, २० चैत, २०८२
डिजिटल संस्करण

नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको भन्दै नक्कली कागजात बनाई बिमा रकम ठगी गर्ने १० जनाविरुद्ध एक लाखदेखि ३० लाख रुपैयाँसम्मको धरौटी माग गरिएको छ । फरार २२ जनाको हकमा भने पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत काठमाडौंमा बिहीबार थुनछेक बहस भएको थियो । अदालतले पक्राउ परेकामध्ये मुक्ति पाण्डे, जयराम रिमाल, सुवास केसी र रवीन्द्र अधिकारीको हकमा ३०–३० लाख रुपैयाँ धरौटी रकम माग गरेको छ । त्यस्तै, डा. गीर्वाणराज तिमल्सिना, विवेक पाण्डे, सन्तोष अधिकारी भनिने खेमराज अधिकारी, पासाङ शेर्पा र सन्दीप तिवारीको हकमा पाँच–पाँच लाख र विवेकराज थपलियालाई एक लाख रुपैयाँ धरौटी माग गरेको छ ।

जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार तीर्थराज भट्टराईले फेक रेस्क्यु प्रकरणमा १० जनाविरुद्ध धरौटी खुलेको र बाँकीको हकमा पक्राउ पुर्जी जारी भएको बताए । ‘फेक रेस्क्यु घटनामा संलग्न १० जनाविरुद्ध धरौटी खुलेको छ । बाँकीको हकमा पक्राउ पुर्जी जारी भएको छ । फरार रहेकाले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको हो,’ उनले भने ।

धरौटी माग गरिएकामध्ये रिमाल र पाण्डे माउन्टेन रेस्क्यु सर्भिस प्रालिका मालिक र म्यानेजर हुन् । अधिकारी नेपाल चार्टर सर्भिस प्रालिका मालिक र थपलिया म्यानेजर हुन् । पाण्डे र केसी एभरेस्ट इक्सपेरियन्स एन्ड असिस्टेन्स प्रालिका मालिक हुन् । डा. तिमल्सिना श्रीद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक हुन् । शेर्पा प्यानरोमा हिमालय टे«किङ एन्ड एक्सपेडिसनका सञ्चालक र तिवारी रोयल होलिडेज एडभेन्चर्ससँग आबद्ध छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले फेक रेस्क्यु प्रकरणको अनुसन्धान गरेको थियो । सिआइबीले घटनाका मुख्य मतियार हवाईविज्ञ राजेन्द्रबहादुर सिंहसहित ३३ जनाविरुद्ध संगठितसहित राज्यविरुद्धको अपराध कसुरमा मुद्दा चलाउनुपर्ने राय सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । तर, कार्यालयले सिंहलाई हटाएर ३२ जनाविरुद्ध मात्रै मुद्दा चलाएको थियो । गत ८ चैतमा दर्ता मुद्दामा बिहीबार थुनछेक बहस सकिएको थियो ।

अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार उनीहरूविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ मूल्यबराबरको धनमाल जफत गर्ने भनिएको छ । त्यसमध्ये एक अर्ब १० करोड २९ लाख १० हजार ४०३ रुपैयाँ नेपाली रहेको छ । बाँकी २९ लाख ९८ हजार ८१८ अमेरिकी डलर र १४ हजार ५०० युरो छ । जसको नेपाली रुपैयाँ करिब ४० करोड ७० लाख ८९ हजार ५९७ रुपैयाँ हुन आउँछ । 

सिआइबीका अनुसार पक्राउ परेकाले सन् २०२२ यता मात्रै नक्कली कागजातका आधारमा झन्डै दुई अर्ब ८५ करोड ६२ लाख ५० हजार १६५ रुपैयाँ बिमा दाबी गरेको थिए । सन् ०२२ यता माउन्टेन रेस्क्युले मात्रै एक हजार २४८ विदेशी पर्यटकको रेस्क्यु गरेको तथ्यांक छ । जसमध्ये १७१ पर्यटकको रेस्क्यु नक्कली रहेको देखिन्छ । अर्थात् १६ करोड ७३ लाख १८ हजार २५५ रुपैयाँ रकम माग गरेको छ ।

सुझावित समाचार