सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्रडटकमडटएनपीमार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएको छ । सोही वेबसाइटमा ठेकेदारहरूले बोलपत्र प्रविष्ट गर्नुपर्ने हुन्छ । तर, केही गिरोहले बोलपत्रको प्रणाली ह्याक गरी अरूले पेस गरेको बोलपत्र हेर्ने गरेका थिए । बोलपत्र पेस गर्न तोकिएको समयभन्दा केही मिनेट मात्र अगाडि सबैको भन्दा कम हुने गरी आफ्नो आर्थिक प्रस्ताव राखेर ठेक्का कब्जा गर्दै आएको कार्यालयको प्रारम्भिक छानबिनले देखाएको छ । कार्यालयको सिफारिसमा अहिले सिआइबीले थप अनुसन्धान गरिरहेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणालीमा अनधिकृत रूपमा पहुँच पुर्याएर ठुला सरकारी ठेक्का कब्जा भइरहेको प्रारम्भिक छानबिनले देखाएको छ । कार्यालयले आफ्नो प्रारम्भिक छानबिनमा चार ठुला ठेक्का ह्याक गरी कब्जा गरेको देखिएपछि विस्तृत अनुसन्धानका लागि प्रहरीमा पठाएको छ ।
कार्यालयको पत्रका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र साइबर ब्युरोले दुई महिनादेखि अनुसन्धान गरिरहेका छन् । हालसम्मको अनुसन्धानले सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन सिस्टममा अनुचित पहुँच (ह्याकिङ) पुर्याएको प्रशस्त प्रमाण भेटिएका छन् । प्रणालीमा पहुँच पुर्याएर अन्य कम्पनीको बोलपत्रको आर्थिक प्रस्ताव हेर्ने र त्योभन्दा कममा आफूले प्रस्ताव हालेर ठेक्का कब्जा गर्ने प्रवृत्ति देखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयका एक अधिकारीले बताए ।
सुरुमा यस विषयमा कार्यालयको आइटी टिमले छानबिन गरेको थियो । जसक्रममा प्रणालीमा अनधिकृत गतिविधि देखिएपछि विस्तृत छानबिनका लागि प्रहरीलाई पत्राचार गरिएको कार्यालयका प्रवक्ता रामप्रसाद आचार्यले बताए । ‘हाम्रो प्रणालीमा शंकास्पद गतिविधि देखिएपछि छानबिनका लागि प्रहरीलाई पत्राचार गरेका छौँ,’ उनले भने, ‘तीन–चारवटै ठेक्कामा अनधिकृत पहुँच भएको प्रारम्भिक ठम्याइ छ । प्रहरीको अनुसन्धानपछि नै यसबारे विस्तृत खुल्ला ।’
कार्यालयले बोलपत्रडटकमडटएनपीमार्फत अनलाइन बोलपत्रको व्यवस्थापन गर्दै आएको छ । सोही वेबसाइटमा ठेकेदारहरूले बोलपत्र प्रविष्ट गर्नुपर्ने हुन्छ । तर, केही गिरोहले बोलपत्रको प्रणाली ह्याक गरी अरूले पेस गरेको बोलपत्र हेर्ने गरेका थिए । बोलपत्र पेस गर्न तोकिएको समयभन्दा केही मिनेट मात्र अगाडि सबैको भन्दा कम हुने गरी आफ्नो आर्थिक प्रस्ताव राखेर ठेक्का कब्जा गर्दै आएको कार्यालयको प्रारम्भिक छानबिनले देखाएको छ ।
त्यसमध्ये एक ठेक्का काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)को हो । केयुकेएलले एसियाली विकास बैंकको सहयोगमा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पाइप बिछ्याउनका लागि करिब १० अर्ब रुपैयाँको ठेक्का खुलाएको थियो । जुन ठेक्का ह्याकिङमार्फत केही कम्पनीले हात पारेको सूचनामा कार्यालयले छानबिन गर्यो ।
पाँचवटा प्याकेजमार्फत खुलाइएको ठेक्कामा करिब चार अर्बबराबरको तीनवटा प्याकेज आशिष निर्माण सेवाले पाउन लागेको छ । सोही कम्पनीको सबैभन्दा कम आर्थिक प्रस्ताव छ । सो कम्पनीका मालिक निर्माण गौली हुन् । सोही कम्पनीले नै अनधिकृत पहुँच पुर्याएको आशंकामा छानबिन भइरहेको स्रोत बताउँछ । सो कम्पनीले यसअघि मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयको एक ठेक्कामा पनि अन्तिम सयमा ‘बिड मोडिफाई’ गर्ने असफल प्रयास गरेको कार्यालयको छानबिनमा देखिएको थियो ।
केयुकेएलमा बाँकी ठेक्का चिनियाँ कम्पनीसँगको साझेदारीमा सगुन निर्माण सेवालाई दिने तयारी छ । सो कम्पनीको पनि मिलेमतोको आशंका गरिएको स्रोत बताउँछ । सबैभन्दा कम आर्थिक प्रस्ताव गर्ने कम्पनीका सञ्चालक तथा कर्मचारीसँग पनि प्रारम्भिक सोधपुछ भइसकेको छ ।
पछिल्लो खानेपानीको ठेक्कामा छानबिन भएपछि केयुकेएलले अन्तिम निर्णय गरिसकेको छैन । ‘हामीले यस विषयमा एडिबीलाई पत्राचार गरेका छौँ, उताबाट निर्णय भएर आएपछि मात्र हामी अघि बढ्छौँ,’ आयोजना निर्देशक टीका चौधरीले भने ।
अन्य ठुला तीन ठेक्कामा पनि यस्तै प्रवृत्ति देखिएको छ । यसमा ठेकेदारहरूले अन्तर्राष्ट्रिय ह्याकर समूहकै साथ लिएको प्रहरीको आशंका छ । यसअघि डिभिजन सडक कार्यालय भक्तपुरले खुलाएको एक बोलपत्रमा रौताडा कन्स्ट्रक्सनको युजरनेमबाट शंकास्पद गतिविधि देखिएको भन्दै सो कम्पनीलाई कार्यालयले सचेत गराएको थियो । सो कम्पनीले नेपालबाहिरको आइपी ठेगानाबाट समेत प्रणालीमा लगइन गरेको तथा चार मिनेट बाँकी रहँदा बिड मोडिफाई गरेको खुलेको थियो । त्यतिवेला पनि ह्याकिङ गतिविधि देखिएपछि कार्यालयले सचेत गराएर छाडेको थियो । विस्तृत छानबिन र कारबाही हुन नसक्दा यस्ता घटना बढिरहेको कार्यालयका एक अधिकारी बताउँछन् ।
सिआइबीका प्रमुख एआइजी डा. मनोज केसी यो घटना जटिल किसिमको भएकाले अनुसन्धानमा समय लागेको बताउँछन् । ‘सार्वजनिक खरिद अनुगमन कार्यालयबाट पत्र आएपछि दुई महिनादेखि यो विषयमा विस्तृत अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘यो अलि जटिल विषय छ, अनुसन्धान सकिएपछि मात्र के भएको ठ्याक्कै भन्न सक्छौँ ।’