अवैध ‘ट्रान्स पार्टी’मा सहभागी ३८ जना पक्राउ

बुधबार, १८ चैत, २०८२
डिजिटल संस्करण

पोखरामा आयोजना गरिएको अवैध ‘ट्रान्स पार्टी’मा सहभागी भएका नेपाली र विदेशी गरी ३८ जना पक्राउ परेका छन् । फेवातालसँगैको पोखरा महानगरपालिका– १८ स्थित सेदी जंगलनजिकैको एउटा पुरानो घरमा आयोजित पार्टीबाट प्रहरीले सहभागी र आयोजकलाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १२ जनालाई मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले बताए । १२ मध्ये चारजनालाई अभद्र व्यवहार र आठजनालाई लागुऔषध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका २६ जनालाई आवश्यक सोधपुछपछि अभिभावक एवं आफन्तको जिम्मा लगाई छाडिएको बस्नेतले बताए ।

पोखरा– १८, सेदीबगर बस्ने ३२ वर्षका बमेन्द्र पुन र भारतीय नागरिक अनुभव शर्माले आयोजना गरेको पार्टीमा नेपालीसँगै भारतीय र ब्राजिलका युवायुवती सहभागी थिए । प्रहरीले आयोजकद्वय पुन र शर्मासँगै आठजनालाई लागुऔषध मुद्दा दर्ता गरेको छ । लागुऔषध मुद्दा दर्ता गरिएका अन्यमा आशिष दर्जी, निकुञ्ज सिंह, सौरभ मोहरा, विशाल परियार, सृष्टि चन्द र चार्ली डा सिल्भा गौभा छन् । यसैगरी सक्षम कोइराला, रोशन अधिकारी, विवेक परियार र लोकबहादुर घर्ती मगरलाई अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

प्रहरीले घटनास्थलबाट गाँजा, कोकिनजस्तो सेतो धुलो, एमडिएमए, चरेस, आइस (एम्फेटामिनजस्तो), म्याजिक मसरुम, खैरो हेरोइनजस्तो पदार्थ, कागज, तरल प्रदार्थ, एलएसडी (लाइसर्जिक एसिड डाइथाइलामाइड)लगायत विभिन्न लागुऔषध बरामद गरेको जनाएको छ । कम्तीमा ७२ घण्टासम्म चल्ने तयारीका साथ आयोजना गरिएको पार्टीमा एक्कासि प्रहरी टोली पुगेपछि अवस्था तनावपूर्ण बनेको थियो ।

के हो ‘ट्रान्स पार्टी’ ?
ट्रान्स पार्टी, ट्रान्स म्युजिक अर्थात् एक प्रकारको इलेक्ट्रोनिक डान्स म्युजिकको तालमा नाँच्न र रमाइलो गर्न आयोजना गरिने विशेष सांगीतिक जमघट हो । जहाँ द्रुत गतिको संगीत, सम्मोहन गर्ने र मधुर इलेक्ट्रोनिक संगीत बजाइन्छ, जुन रातभरि चल्छ । लेजर लाइटलगायतको प्रयोगसँगै विभिन्न सजावटको प्रयोग गरिन्छ । पार्टीमा सहभागीहरू मादक पदार्थ, लागुऔषध सेवन गर्दै संगीतको लयमा हराएर नाँच्ने र रमाइलो गर्ने गर्छन् । नसाले लट्ठ पार्नेसँगै चर्को संगीतको धुनले मस्त बनाइदिन्छ, जसकारण सहभागीहरू एकोहोरो हुन्छन् र एकले अर्काको कुनै मतलब गर्दैनन् । 

See More On

सुझावित समाचार