पनौती नगरपालिकामा क्रसर तथा खानीबाट साढे सात महिनामा करिब २० करोड राजस्व संकलन

मंगलबार, १७ चैत, २०८२
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकामा क्रसर तथा खानीबाट साढे सात महिनामा करिब २० करोड राजस्व संकलन भएको छ। गत भदौदेखि चैत १४ गतेसम्ममा १९ करोड ९१ लाख १० हजार दुई सय रुपैयाँ राजस्व संकलन भएको हो। पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार तीनपटकसम्म राजस्व संकलनका लागि विद्युतीय बोलपत्र आह्वान भए पनि बोलपत्र पेस नभएपछि कर्मचारीबाटै अमानतमा राजस्व संकलन भइरहेको छ ।

मूल्य अभिवृद्धि करबाहेक न्यूनतम ३२ करोड ११ लाख एक रुपैयाँको बोलपत्र आह्वान भएको थियो। कोहीबाट बोलपत्र पेस नभएपछि गत भदौ १ गते बसेको कार्यपलिका बैठकले पनौती नगरपालिका वडा नम्बर १२ स्थित रोशी खोला कर संकलन केन्द्र र वडा नम्बर ८ स्थित मल्पी कर संकलन केन्द्रमा कर्मचारी खटाई अमानतमा राजस्व संकलन गर्ने निर्णय भएको थियो । 

पनौती नगरपालिकाभित्र सञ्चालित क्रसर तथा खानी उद्योगबाट भदौ महिनामा एक करोड १९ लाख ९१ हजार ९६० रुपैयाँ राजस्व संकलन भएको थियो । त्यसरी नै असोजमा ३६ लाख आठ हजार आठ सय, कात्तिकमा ११ लाख ४३ हजार ४९० रुपैयाँ, मंसिरमा तीन करोड ४८ लाख ९३ हजार ६० रुपैयाँ, पुस महिनामा चार करोड ९० लाख ५० हजार सात सय, माघ महिनामा चार करोड २८ लाख ६८ हजार १८० रुपैयाँ, फागुन महिनामा तीन  करोड ८६ लाख ८२ हजार ६ सय र चैत १४ गतेसम्ममा दुई करोड २८ लाख ३१ हजार ९९० रुपैयाँ राजस्व संकलन भएको छ । वार्षिक राजस्व संकलन लक्ष्यअनुसार ५६.३३ प्रतिशत राजस्व संकलन भएको नगरपालिकाका प्रमुख भण्डारीले जानकारी दिए । 

आजभोलि भौतिक संरचना निर्माणको समय भएकाले दैनिक करिब १५ लाख राजस्व संकलन भइरहेकाले आर्थिक वर्षको अन्त्यसम्ममा नगरपालिकाको लक्ष्यअनुसार पूरा हुने अनुमान रहेको नगरप्रमुख भण्डारीले बताए । राजस्व संकलन कार्यमा कुनै पनि व्यक्ति वा संस्थाको दबाब र प्रभावमा छुट नहुने र त्यस्तो पाइएमा नियमअनुसार कारबाही हुने नगरपालिकाले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

राजस्व संकलनलाई पारदर्शिता र दिगोपनाको विषयमा नगरपालिका गम्भीर रहेको र निगरानीका लागि सरोकारवालाहरूलाई नगरप्रमुख भण्डारीले अनुरोध गरेका छन् ।

नगरपालिकाभित्र सञ्चालित क्रसर तथा खानी उद्योगहरूलाई प्रचलित कानुन, मापदण्ड तथा वातावरणीय सर्तहरूको पूर्ण पालना गरेर मात्र खानी तथा उद्योग सञ्चालन गर्न भण्डारीले व्यवसायीहरूलाई अनुरोध गरे ।
 

सुझावित समाचार