भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले कर्मचारीले घुस मागे सिधै आफूलाई जानकारी गराउन निर्देशन दिएका छन्।
सोमबार मन्त्रालयमा निर्माण व्यवसायीहरूसँग छलफल गरेका मन्त्री लम्सालले कर्मचारीले घुस मागे त्यसको जानकारी आफूलाई दिन आग्रह गरेका हुन्। घुस माग्ने कर्मचारीलाई आफूले कारबाही गर्ने प्रतिबद्धता मन्त्री लम्सालले गरेका छन्।
मन्त्रालयमा निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलसँग छलफल गर्दै मन्त्री लम्सालले समयमै गुणस्तरीय निर्माण कार्यमा अवरोध सिर्जना हुने गरी पूर्वाधार निर्माणको क्षेत्रमा व्यापक रूपमा आर्थिक अनियमितता हुने गरेको जनगुनासो आएको बताएका थिए।
यसपछि उनले निर्माण कर्मचारीलाई घुस नदिन निर्माण व्यवसायीहरूलाई निर्देशन दिए। ‘कुनै पनि तह र तप्काका सरकारी अधिकारीहरूलाई अतिरिक्त शुल्क नदिन र कुनै पनि सरकारी अधिकारीहरूले त्यस्तो शुल्क मागेको खण्डमा त्यस्ता अधिकारीहरूलाई प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन सिधै मलाई जानकारी गराउनू’ निर्माण व्यवसायीहरूलाई मन्त्री लम्सालले निर्देशन दिए।
मन्त्रीको निर्देशनपछि सोही निर्देशन उल्लेख गर्दै सोमबार महासंघले आफ्ना सदस्यहरूलाई पत्राचार गरेको छ।
