एमाले सडकमा : ओली पक्राउको राजनीतिक, कानुनी र संसदीय प्रतिवाद गर्ने

आइतबार, १५ चैत, २०८२
डिजिटल संस्करण

सरकार गठनको २४ घण्टा नबित्दै एमाले सडकमा उत्रेको छ । जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिमा जाँचबुझ आयोगले जिम्मेवार ठहराएका तत्कालीन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली शनिबार बिहान पक्राउ परेपछि त्यसलाई प्रतिशोधपूर्ण कारबाही ठहर गर्दै एमाले सडकमा उत्रेको हो । सरकार र एमाले आमने–सामने हुँदा तनाव बढ्ने जोखिमसमेत बढेको छ । 

एमालेले पार्टी अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विरोधमा राजनीतिक, कानुनी र संसदीय मोर्चाबाट प्रतिवाद गर्दै अघि बढ्ने निर्णय लिएको छ । ओली पक्राउ परेलगत्तै शनिबार बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले तीनवटै मोर्चाबाट प्रतिवाद गर्ने निर्णय लिएको थियो । त्यसलगत्तै काठमाडौं उपत्यकासहित देशभर एमाले कार्यकर्ता सडकमा उत्रेका थिए । 

पार्टी नेताहरू बैठकमा बसिरहेका वेला पार्टी कार्यालय च्यासलपरिसर र आसपासका क्षेत्रका साथै चाबहिल र प्रदर्शनीमार्ग क्षेत्रमा एमाले कार्यकर्ता विरोध प्रदर्शनमा उत्रेका थिए । निर्णय सार्वजनिक भएपछि भने एकैपटक देशभर विरोध प्रदर्शन भएका थिए । त्यसक्रममा केही ठाउँमा तनावसमेत भएको थियो । 

एमालेले आफ्नो निर्णयमा भनेको छ, ‘गिरफ्तारीले संविधान, लोकतन्त्र र मानव अधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आमनागरिकलाई चिन्तित तुल्याएको छ । हाम्रो पार्टीले यस प्रतिशोधपूर्ण कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्नेछ । यस घटनाबाट कति पनि विचलित नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढ्न समस्त पार्टीपंक्तिलाई आह्वान गर्दछ ।’

एमाले बैठकले प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी ढंगले गिरफ्तार गरिएको भन्दै निन्दा र विरोध गरेको छ । साथै, बैठकले गिरफ्तारी लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको ठहरसहित तत्काल रिहाइको पनि माग गरेको छ । कार्की आयोगको प्रतिवेदन प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहेको ठहर गर्दै बैठकले घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरेको छ । 

यस्तै, ओली र लेखक पक्राउको विरोधमा एमालेले देशभर राजनीतिक र कानुनी प्रतिवादसहित विभिन्न विरोधका कार्यक्रमका लागि तीन नेतालाई संयोजनको जिम्मेवारी दिएको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय सचिवालयको बैठकले राजनीतिक संवाद र समन्वयको जिम्मेवारी उपाध्यक्ष विष्णु पौडेल, संसद्मा रहेका दलहरूसँग समन्वय र संवाद सयोजनको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा बादल तथा कानुनी प्रतिवाद र संयोजनको जिम्मेवारी गोकर्ण विष्टलाई दिएको छ ।

See More On

सुझावित समाचार