परराष्ट्रमन्त्री शिशिर खनालले पद तथा गोपनीयताको शपथ ग्रहणपछि नेपालको राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई उच्च राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री खनालले आमनागरिकका अपेक्षालाई आत्मसात् गर्दै पूर्ण प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्ने बताएका हुन्।
उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाजलाई स्पष्ट, सन्तुलित र प्रभावकारी रूपमा प्रस्तुत गर्ने उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सम्बन्धलाई सुदृढ बनाउनेतर्फ अघि बढ्ने दृढता व्यक्त गरे। परराष्ट्रमन्त्री खनालले कूटनीतिलाई परिणाममुखी, विश्वसनीय र उत्तरदायी बनाउनेतर्फ निरन्तर प्रयास रहने पनि बताएका छन्।
उनले सम्पूर्ण नेपाली जनताको विश्वासलाई आफ्नो सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गर्दै उक्त विश्वासलाई कायम राख्न पारदर्शिता, उत्तरदायित्व र राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए। संवाद, सहकार्य र समन्वयमार्फत नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा अझ उचो बनाउने दिशामा इमानदारीपूर्वक समर्पित रहने उनले उल्लेख गरेका छन् ।