- कार्बन फुटप्रिन्ट वृद्धिसँगै पृथ्वीको तापमान पनि बढ्ने भएकाले यसमा न्यूनीकरण गर्न सबै मानवीय गतिविधिबाट हुने कार्बन फुटप्रिन्ट घटाउनैपर्छ
पर्यावरणमैत्री निर्वाचन : नेपालले भर्खरै प्रतिनिधिसभा निर्वाचन–२०८२ सम्पन्न गर्यो । युवामैत्री नयाँ विचार बोक्ने सरकार बन्दै छ । पर्यावरणीय चेतना पनि नयाँ विचार हो । जेन–जी आन्दोलनको म्यान्डेटलाई निर्वाचनबाट वैधता दिने गरी निष्कर्षमा लैजान यो निर्वाचन गरिएको हो । राम्रै जनसहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न यस निर्वाचनमा ६४ राजनीतिक दल र स्वतन्त्रसमेत गरी तीन हजार ४०६ जना प्रत्यक्ष उम्मेदवार थिए ।
यसपटक निर्वाचन आयोगले सबै उम्मेदवारका लागि हरित निर्वाचन आचारसंहिता (ग्रिन इलेक्सन कोड) जारी गरेको थियो, जो पर्यावरणमैत्री चुनावको महत्वपूर्ण आधारस्तम्भ थियो । निर्वाचन प्रचारप्रसारका क्रममा वायु प्रदूषण नगर्न, चर्को ध्वनि ननिकाल्न र कोलाहल नगर्न भनिएको थियो । साथै सिंगल युज प्लास्टिक ब्याग र सभासम्मेलनमा अजैविक फोहोर पनि नगर्न निर्देशन थियो नै । कसैले यस्तो आचारसंहिता उल्लंघन गरेको र कारबाही भएको नसुनिएकाले यो लगभग प्लस्टिक–फ्री र हरित निर्वाचन भयो भन्न सकियो । तर, सो आचारसंहितामा न्यून कार्बन उत्सर्जनको मापदण्ड समावेश थिएन, यस मानेमा समग्र निर्वाचन लो–कार्बन इलेक्सन भयो वा भएन, वा जलवायुमैत्री निर्वाचन भयो–भएन भन्ने यकिन गर्न सकिएन ।
हो, यसरी निर्वाचनजन्य क्रियाकलापबाट कार्बन उत्सर्जनको पनि लेखाजोखा गर्ने र समग्र चुनावलाई नै हरित निर्वाचन अभियानका रूपमा लैजान अबका दिनमा सरकार, निर्वाचन आयोग र वातावरण विभागले उपयुक्त कार्ययोजना ल्याउला, त्यो आशा गर्न सकिने भयो नै । यस्ता निर्वाचनमा सघन मानवीय क्रियाकलाप हुने र प्रचारप्रसार दौरान इनर्जी तथा ‘मटेरियल’ खपत पनि बढी हुने प्रवृत्तिले वातावरणमा हरितगृह ग्यास (खासगरी कार्बन डाइअक्साइड र मिथेन) थप हुन गई वैश्विक तापमान वृद्धिमा योगदान पुग्ने देखिँदा यस्को न्यूनीकरणतर्फ सचेत भई लाग्नुपर्ने हुन्छ । यस्तो ग्रिन इलेक्सन अभियान छिमेकी देश भारत, अमेरिका, युरोपलगायतमा डिजिटल भोटिङ (इ–भोटिङ) का रूपमा हुन थालेको छ । हामीले पनि यस्ता असल अभ्यास अनुसरण गर्दै नेपालका अब आउने निर्वाचनमा राजनीतिक दललाई पर्यावरणमैत्री बनाउन कडा रूपले आचारसंहिता पालना, सोको स्थलगत अनुगमन, कारबाही, दण्डजरिवना र हरित सम्परीक्षण (ग्रिन अडिट) प्रतिवेदन बुझाउने प्रावधान निर्वाचन कार्यविधिमा थप गर्नुपर्छ । यसो गर्दा सबै दललाई कार्बन फुटप्रिन्ट कम गर्न अपिल गर्न अनि सोको निराकरणका लागि कार्बन
ह्यान्डप्रिन्ट बढाउन सकेमा कार्बन अफसेटिङ गर्न लगाउने पद्धति विकास गरी इलेक्सनको ग्रिन अडिट कार्ड लिने अवधारणा पनि लैजान सकिन्छ ।
बढ्दो कार्बन फुटप्रिन्टको चिन्ता : युरोपेली संघ क्लाइमेट कोपर्निकसअनुसार संसारले सन् २०२३–०२५ मा लगातार उच्च तापमान (करिब १.४८ डिग्री) वृद्धि रेर्कड गर्यो । यसरी नै एनओएएको आर्कटिक रिपोर्ट २०२४ ले पनि ध्रुवीय तापमान वृद्धि १.२ डिग्रीसम्म पुगेको देखायो । इसिमोडका अध्ययनले हिन्दकुश हिमालयमा अचेल तापमान बढ्दा हिउँ कम परेको देखाउँदै छन् । यो चरम पर्यावरणीय विशृंखलता हो । पृथ्वीको तापमान यसरी वृद्धि हुनुको खास कारण औद्योगीकरण, जंगल आगलागी र फँडानी, उच्च उपभोगजस्ता मानवीय क्रियाकलाप बढ्नु नै हो । यीबाटै वैश्विक हरितगृह ग्यास (मूलत: कार्बन डाइअक्साइड र मिथेन) को उत्सर्जनमा भारी बढोत्तरी देखिएको छ । कार्बन उत्सर्जन तथ्यांक हेर्दा उन्नाइसौँ शदीमा यसको मात्रा २८० पिपिएम थियो । तर, आज ४२९ पिपिएमस्तरमा छ । ‘पेलिओक्लाइमेट डाटा’सँग तुलना गर्दा यस्तो तीव्र कार्बन वृद्धिदर एक लाख वर्षयताको सबभन्दा उच्च मानिन्छ ।
विगत दुई शताब्दीयता औद्योगिक देशबाट अधिक कोइला, पेट्रोल, ग्यास जलनकै कारण वायुमण्डलमा धेरै हरितगृह ग्यास थुप्रिएको र यिनले सौर्य तापलाई पुन: कब्जा (रिट्र्यापिङ) गर्दा पृथ्वी बढी तातेकाले यस्तो उत्सर्जन घटाउन वैश्विक गैरकार्बनीकरण मार्ग पेरिस सहमति–२०१५ ले सुझाएको हो । तर, उल्टै जीवाश्म ऊर्जा खपत र कार्बन उत्सर्जन बढेकोबढ्यै छ । प्रत्येक मानिस, संस्था, फर्म वा पार्टीबाट भएको कार्बन डाइअक्साइड उत्सर्जन र खपतलाई वार्षिक रूपले ‘कार्बन इक्वेभेलेन्ट’मा बहीकृत गरी कार्बन फुटप्रिन्टका रूपमा व्यक्त गरिन्छ । यो बस्तु खपत क्रियाकलापसँग बढी जोडिन्छ । कसैले त कार्बन डेबिट र क्रेडिट खाता पनि बनाउँछन् । यो भनेको जोकसैले व्यक्तिगत वा संस्थागत रूपमा गर्ने वार्षिक कार्बन खपत परिमाण हो ।
जति कार्बन फुटप्रिन्ट (कार्बन पदचिह्न) बढ्छ, उति पृथ्वीको तापमान बढ्ने बुझ्न सकिन्छ । यसर्थ, पृथ्वीको तापमान घटाउन सबै मानवीय गतिविधिबाट हुने कार्बन फुटप्रिन्ट घटाउनैपर्छ । आवर वल्र्ड इन डाटा (२०२५) को प्रतिवेदनअनुसार हाल अमेरिकी प्रतिनागरिकको कार्बन फुटप्रिन्ट १४.२३ मेटन देखिन्छ, जो उच्च छ । वैश्विक औषत प्रतिव्यक्ति कार्बन फुटप्रिन्ट ४.७३ मेटन छ । आज हामी नेपालीको कार्बन फुटप्रिन्ट ०.६३ मेटन परकेपिटा छ, जबकि सन् २०१५ मा यो ०.२५ मेटन थियो । यस तथ्यांकले हाम्रो कार्बन खपत बढेको देखाउँछ, अब यस्तो खपत न्यूनीकृत गर्नुपर्छ ।
१.५ डिग्री तापमान लक्ष्यमा सघाउने : सन् २०२३ यता कार्बन डाइअक्साइडको वैश्विक वार्षिक उत्सर्जन ४०–४२ बिलियिन मेटन देखिएको छ । उत्सर्जन रेकर्ड हेर्दा अमेरिका र युरोपका धनी देश नै यसमा जिम्मेवार छन् । पेरिस सहमतिपत्र–२०१५ ले आउँदो शदीभित्र पृथ्वीको तापमान वृद्धि १.५ डिग्रीभित्रै राख्ने लक्ष्य बोकेको छ । तापमान यो सीमाभन्दा बढ्यो भने पृथ्वीमा भयानक पर्यावरणीय नोक्सानीका परिघटना हुनेछन्, जसले मानवजातिको अस्तित्व नै विनाश गर्ने भय पैदा गर्छ । बाढीपहिरो, हिमपिघ्लन, समुद्रसतह बढ्ने, चक्तवात बढ्ने, जंगलमा आगलागी बढ्नेजस्ता डरलाग्दा रूप अब देखिनेछन् । यस्ता प्रलयको रोकथाम गर्न सोही पेरिस सहमतिले कार्बन उत्सर्जनमा तीव्र कटौती योजना ल्याएको हो । जसअनुसार हरेक देशले सन् २०३५ भित्र सन् २०१९ को दाँजोमा कार्बनस्तर ४३ प्रतिशतले घटाउने र सन् २०५० मा शून्य (नेट जिरो) कार्बन अवस्था ल्याउनुपर्ने भनिएको छ । यो डिकार्बनाइजेसन हो । यो मिसन पूरा गर्न सबै देशले मुख्यत: पाँचवटा उपाय अपनाउनुपर्नेछ । ती हुन्– १) हरेक देशले एनडिसी पेपर तयार गरी कार्बन कटौती परिमाण बढाउँदै जाने, २) हरेक देशले जीवाश्म ऊर्जा (कोइला, तेल पेट्रोल) बन्द गर्दै जाने, ३) हरेक देशले नवीकरणीय ऊर्जा उत्पादन–खपत बढाउने साथै हरित प्रविधिमा जोड दिने, ४) सबै देश नेचर बेस्ड योजनामा जाने जसमा उच्चस्तरमा वन जंगल र इकोसिस्टम प्रवद्र्धन उपाय लागू गर्ने र ५) अर्थतन्त्रको उपभोक्ता (खाद्य–कृषि) क्षेत्र र यातायात क्षेत्रबाट अधिक कार्बन फुटप्रिन्ट घटाउने ।
यी सबै उपायलाई अर्थतन्त्रका स्कोप १, २ र ३ ‘इमिसन प्रोटोकल’सँग समायोजन गरिएको हुनाले यिनबाट कार्बन फुटप्रिन्टको उल्लेख्य घटोत्तरीले १.५ डिग्री वैश्विक तापमान स्थिरीकरणलाई सघाउ पुग्ने हुँदा राष्ट्र संघले खासगरी उपभोक्ता कार्बन घटाउन स्कोप–२ र ३ का अप्रत्यक्ष विधि व्यापक गर्न भनेको छ ।
यसै सन्दर्भमा नै कार्बन फुटप्रिन्ट घटाई कार्बन ह्यान्डप्रिन्ट बढाउन आग्रह भएको हो । साँच्चै विश्वका आठ अरब जनसंख्याले आफ्ना दैनिक क्रियाकलाप नियन्त्रण गरी निजी उपभोगस्तर न्यूनीकरण गर्दै जान सकेमा, व्यावसायिक फर्मले आफ्ना भ्यालु चेनमा बढी उत्सर्जन घटाउन सकेमा र हरेक देशका निर्वाचन पर्यामैत्री बनाउन सकेमा कार्बन ह्यान्डप्रिन्ट बढ्ने र जलवायु व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।
चुनावमा कार्बन ह्यान्डप्रिन्ट बढाऊ : हामीले ग्रिनहाउस ग्यासको उत्सर्जन प्रोटोकल स्कोप–१, २ र ३ ले कसरी कार्बन फुटप्रिन्ट बढाउने रहेछन् भन्ने बुझ्यौँ । स्कोप–१ ले सबैभन्दा बढी उत्सर्जन गर्छ, जसमा प्रत्यक्ष कार्बन उत्सर्जन क्रियाकलाप पर्छन्, जस्तै– उद्योग सञ्चालन, मेनुफेक्चर फेक्ट्री तथा खनिज ऊर्जा उत्खनन परियोजना सञ्चालनजस्ता कार्य यसअन्तर्गत पर्छन् । स्कोप–१ को कार्बन घटाउन ट्रेड एन्ड क्याप, सिसिएस, डिए वा यस्तै उपाय अवलम्बन गरिन्छन्, जो महँगो र उच्च प्रविधिमा निर्भर छ ।
यसैले स्कोप–२ र ३ लाई अप्रत्यक्ष उत्सर्जन वर्गमा राखिएको छ, जसमा घरेलु वा कार्यालयमा हुने विद्युत् खपत, बोइलर सञ्चालन, लजिस्टिक कार्य, यातायात क्षेत्र (कार, गाडी, हवाईयात्रा अदि), खाद्य सामग्री उपभोग, प्याकेजिङ, प्लास्टिक प्रयोगजस्ता सामान्य क्रियाकलाप पर्छन् । कार्बन ह्यान्डप्रिन्ड बढाउन यिनै स्कोप–२ र ३ का क्रियाकलापमा न्यूनता ल्याउने र वस्तु खपत पनि घटाउन सकिन्छ । चुनावी क्रियाकलाप पनि यसैमा पर्छन् ।
स्कोप–२ र ३ बाट कार्बन उत्सर्जन कम गर्न घरेलु काममा कम पानी उपभोग गर्ने, अफिसमा इ–ऊर्जा, सोलार प्रयोग, इभी कार र इ–मोटर प्रयोग, कम हवाई यात्रा, कम राजनीतिक भिडभाड, हरित निर्वाचनजस्ता कार्य अपनाउन सकिन्छ । यसरी नै प्लास्टिक बहिष्करण, मासु कम उपभोग, फोहोरमैला थ्रिआर (रिड्युस, रिसाइकल, रियुज) व्यवस्थापन क्रियाकलाप गर्न सकिन्छ । नेचर बेस्ड समाधान गरी सडक वृक्षरोपणजस्ता समूहगत क्रियाकलापबाट कार्बन ह्यान्डप्रिन्ट बढाउन सकिन्छ ।
कैयौँ देशले स्थानीय, प्रादेशिक र संसदीय चुनावलाई हरित निर्वाचन अभियान बनाई कार्बन फुटप्रिन्ट घटाइरहेका छन् । भारतले बीस वर्षअघि निर्वाचनमा प्लास्टिक बन्देज लगाएको र हाल बायोडिग्रेडेबल सामग्री मात्रै प्रयोग गर्न दिएको छ । अमेरिकी चुनाव पनि सन् २०१६ यता ग्रिन इलेक्सन बनाइएको छ । इस्टोनियाको सन् २०२३ को चुनावी अध्ययनले प्रतिपेपर भोट र प्रतिविद्युतीय भोटको कार्बन फुटप्रिन्ट क्रमश: २.२४० केजी र ०.०१२ केजी देखाएको छ । पर्यामैत्री–
राजनीतिको मापदण्ड बनाउने : नेपालले पनि अबका निर्वाचनलाई हरित स्वरूप दिएर सकारात्मक जलवायु अभियानका रूपमा बढाउन सकिन्छ । इ–भोटिङमा जाने निर्वाचनले गैरकार्बनीकरण दिशामा सहयोग गर्छ । स्थानीय, प्रदेश र संघीय निर्वाचनमा स्कोप–२ र ३ बाट हुने उत्सर्जन घटाउनुपर्छ । चुनावी उपक्रममा प्रदूषण नगर्न, अधिक वस्तु र प्लास्टिक खपत कम गर्न, फ्लेक्स–वालपोस्टर र भित्तेलेखन नगर्न, फोहोर नगर्न, ध्वनि उत्पन्न नगर्न, पेट्रोल–डिजेल खपत कम गरी आआफ्नो कार्बन फुटप्रिन्ट घटाएकोबारे हरित सम्परीक्षण गर्न–गराउन सबै दलसँग अनुरोध गर्न सकिन्छ ।
हरित आचरसंहिताको पालना, अनुगमन र ग्रिन अडिटबारे निर्वाचन आयोगले वातावरण विभागसँग समन्वय गरी त्यहाँका निरीक्षकलाई जिम्मा दिन सक्छ । निर्वाचनपछि चुनाव खर्च बुझाउने व्यवस्था भएजस्तै दलहरूलाई आआफ्नो हरित अडिट रिपोर्ट (कार्बन फुटप्रिन्ट र ह्यान्डप्रिन्ट लेजर) अर्थात् ग्रिन ब्यालेन्स सिट पनि बुझाउन लगाउनुपर्छ । निर्वाचनपछि आफ्नो दलले गरेको कार्बन उत्सर्जन ‘सेक्वेटे«सन’ (अधिशोषण) गर्न पर्याप्त रुख लगाउने व्यवस्थाका लागि तोकिएको अफसेटिङ वृक्षरोपण वा कार्यकर्ताबाट भोलन्टियर वृक्षरोपण गर्ने अभ्यास पनि बसाल्न सकिन्छ, जसका लागि वन विभागसँग सहयोग लिन सकिन्छ । प्रचारप्रसारदेखि समग्र निर्वाचनका क्रममा सबै दलले हरित आचारसंहिता र जैविक चुनावी उपाय अपनाउँदै कार्बन ह्यान्डप्रिन्ट बढाउने र कार्बन फुटप्रिन्ट घटाउने क्रियाकलाप गरी निर्वाचनबाट सकारात्मक जलवायु योगदान दिन सक्छन् ।
तसर्थ, अब निर्वाचन आयोग आफैँ पनि निर्वाचन हरितीकरण गर्न इ–भोटिङ, पेपरलेस र गैरकार्बनीकरणतर्फ अगाडि बढ्नुपर्छ । सकिन्छ भने दलहरूका समग्र नीति, विचार, कार्यक्रम र घोषणापत्र पनि पर्यामैत्री, चुरे–निकुञ्ज र वनक्षेत्रमैत्री, नदीनालामैत्री, प्रदूषण घटाउने, वातावरण संरक्षण गर्ने र जलवायुमैत्री छ–छैन ? सोको पनि थप रुजु गर्ने जाँच कार्यविधि बनाई निर्वाचनको ग्रिन अडिट (हरित सम्परीक्षण) गर्ने प्रचलन बसाल्न सकिन्छ । जसले हाम्रो समग्र राजनीतिलाई जलवायुमैत्री, पर्यामैत्री र हरितीकृत हुन सघाउँछ ।