कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन आगामी १६–१९ असोजसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार र बुधबारको बैठकले २१ चैतदेखि क्रियाशील सदस्यता फाराम जिल्लाहरूमा पठाउनेदेखि वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रको महाधिवेशन गर्ने निर्णय गरेको छ । सभापति गगन थापाले मंगलबार बैठकमा कांग्रेस महाधिवेशन २४–२६ भदौसम्म गर्ने प्रस्ताव गरेका थिए । थापाले असार मसान्तभित्र क्रियाशील सदस्यता टुंग्याउनेदेखि भदौमा महाविधेशन गर्ने प्रस्ताव गरेकोमा सबैको सुझावअनुसार पछि सार्ने निर्णय भएको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।
‘सभापति थापाले प्रस्तुत गर्नुभएको महाधिवेशन कार्यतालिकामा विमति थिएन, तर बर्सात मौसमको समय अलिक व्यावहारिक नहोला भन्ने सबैजसो नेताहरूको सुझावका आधारमा असोज १६ देखि १९ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएको हो,’ शिवाकोटीले भने । बुधबार निर्णय भएको कार्यतालिकाअनुसार विदेशस्थित पार्टी जनसम्पर्क समितिको अधिवेशन ०८३ साउन मसान्तभित्र सम्पन्न गर्ने, २ भदौमा वडा अधिवेशन, ७ भदौमा गाउँ/नगर अधिवेशन, १७ भदौमा प्रदेश क्षेत्रीय अधिवेशन, २४ भदौमा क्षेत्रीय अधिवेशन, २ र ३ असोजमा जिल्ला अधिवेशन सम्पन्न गर्ने उल्लेख छ । शिवाकोटीका अनुसार ७ र ८ असोजमा प्रदेश अधिवेशन सम्पन्न गर्ने र त्यसपछि १६ देखि १९ असोजसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका पारित भएको छ ।
कांग्रेसले संस्थागत रूपमा इतर समूहसँग छलफल नगर्ने पनि स्पष्ट पारेको छ । व्यक्तिगत रूपमा असन्तुष्ट नेताहरूसँग छलफल गर्न कांग्रेसले उपसभापति पुष्पा भुसाललाई जिम्मा दिएको केन्द्रीय सदस्य शिवाकोटीले बताए । ‘यो कुनै संस्थागत वार्ता टोली होइन । असन्तुष्ट कोही हुनुहुन्छ र कुराकानी गर्न चाहनुहुन्छ भने उपसभापतिज्यूले कुराकानी गर्नुहुन्छ र सभापतिज्यूलाई जानकारी गराउनुहुन्छ,’ उनले भने, ‘विशेष महाधिवेशन कांग्रेसको संस्थागत निर्णय हो र यही नेतृत्वलाई सबैले स्वीकार गरेर निर्वाचनमा सहभागी भइसकेको पनि यथार्थ हो ।
पार्टी नेतृत्वले अब विधिवत् रूपमा पार्टीको नियमित महाधिवेशन गराउनेछ । यसमा सबैलाई समेटेर अघि बढ्ने पार्टी निर्णय छ ।’ चुनावपछि पहिलोपटक मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले पार्टीभित्र अब व्यापक शुद्धीकरण र ‘ग्रान्ड रिफर्म’ (बृहत् सुधार) गर्ने उद्घोष गरेका थिए । ‘सभापतिले भन्नुभएको बृहत् सुधार अब सुरु हुनेछ,’ शिवाकोटीले भने । उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिले वरिष्ठ अधिवक्तासमेत रहेका केन्द्रीय सदस्य प्रेमबहादुर खड्काको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।
कांग्रेसका महाधिवेशनहरू
पहिलो : ००३ माघ १२–१३ कलकत्ता
दोस्रो : ००४ माघ २०–२१ वाराणसी
तेस्रो : ००५ फागुन १८–२० दरभंगा
चौथो : ००६ चैत २६–२७ कोलकाता
पाँचौँ : ००९ जेठ १०–१३ जनकपुर
छैटौँ : ०१२ माघ १०–१२ वीरगन्ज
सातौँ : ०१७ वैशाख २५–३१ काठमाडौं
आठौँ : ०४८ फागुन १–३ झापा
नवौँ : ०५३ वैशाख २६–२८ काठमाडौं
१०औँ : ०५७ माघ ६–९ पोखरा
११औँ : ०६२ भदौ १४–१७ ललितपुर
१२औँ : ०६७ असोज १–५ काठमाडौं
१३औँ : ०७२ फागुन २०–२३ काठमाडौं
१४औँ : ०७८ मंसिर २४–२६ काठमाडौं