मुख्यमन्त्री र मेयरको टकरावले अस्पताल स्तरोन्नति अन्योलमा

कैलालीको लम्कीचुहा नगरपालिकाले सञ्चालन गरेको १५ शैय्याको अस्पताललाई प्रदेशमातहत ल्याएर ५० शैय्या बनाउने विषय विवादमा

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

दुई तहका सरकारबिच देखिएको विवादले कैलालीको लम्कीचुहा नगर अस्पताल स्तरोन्नतिको विषय अन्योलमा परेको छ । पालिकाले सञ्चालन गरिरहेको १५ शैय्याको यो अस्पताललाई प्रदेशमातहतमा ल्याएर ५० शैय्यामा सञ्चालन गर्ने अन्तिम प्रक्रियामा विवाद सिर्जना भएको छ । अस्पताल स्तरोन्नतिको प्रक्रियामा प्रदेशले पालिकालाई बाइपास गरेको आरोप लम्कीचुहा नगरपालिकाले लगाएको छ । प्रदेश सरकारले भने नगरपालिकाले निर्णय गरेर पठाएका आधारमा प्रदेशले प्रादेशिक अस्पतालमा स्तरोन्नतिको सबै प्रक्रिया पूरा गरेको, तर हस्तान्तरण गर्ने वेला नगरपालिकाले अनावश्यक विवाद सिर्जना गरेको जनाएको छ ।

दायित्व भुक्तानी, कार्यरत कर्मचारीको व्यवस्थापन, सम्पत्ति हस्तान्तरण, अस्पताल विकास समिति गठनलगायत विषयमा प्रदेशले कुनै छलफल नगरेको भन्दै नगरपालिकाले अस्पताल हस्तान्तरणसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ । नगर प्रमुख सुशीला शाहीले अस्पताल स्तरोन्नतिको विषयमा आफूहरूलाई बाइपास गरेर प्रदेशले स्थानीय तहको अस्तित्वलाई बेवास्ता गरेको आरोप लगाएकी छिन् । उनले प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न नगरपालिकाले नै विगतमा प्रदेशलाई पत्र पठाए पनि त्यसपछि प्रदेशले पालिकासँग कुनै छलफल र समन्वय नगरेको बताइन् । 

प्रादेशिक अस्पताल भएपछि अहिले कार्यरत ८१ जना कर्मचारीको व्यवस्थापन कसरी गर्ने, औषधि खरिदको दायित्व कसले लिनेजस्ता विषयमा प्रदेशले छलफल नगरी हस्तान्तरणको सम्झौता गर्न भनेकोप्रति आफ्नो आपत्ति रहेको उनको भनाइ छ । ‘अस्पताल हस्तान्तरणको सम्झौता गर्न आउनू भनेर प्रशासकीय अधिकृतलाई ह्वाट्सएपमा पत्र पठाइएको छ । सम्झौताअघि दुई निकायबिच छलफल त हुनुपर्ला नि,’ उनले भनिन् । प्रदेशले सुरुमा पालिकाकै सहमतिमा प्रादेशिक अस्पताल स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएको हो । तर, सहमति दिएपछि प्रदेशले कुनै छलफल र समन्वय नगरेको नगरपालिकाले जनाएको छ । लम्कीचुहा नगरपालिकाले ०८१ कात्तिकमा नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउन प्रदेशलाई पत्र पठाएको थियो । नगरपालिकाबाट सहमति पाएपछि प्रदेशले निर्णय गरेर संघीय सरकारसँग प्रादेशिक अस्पताल सञ्चालनको अनुमति मागेको थियो । 

संघीय मन्त्रिपरिषद्ले गत जेठमा स्वीकृति दिने निर्णयपछि प्रदेश सरकारले जनशक्ति व्यवस्थापनका लागि मंसिरमा संगठन तथा व्यवस्थापन सर्भेसमेत स्वीकृत गरिसकेको छ । प्रदेशको चालू वर्षको बजेटमै कैलालीको लम्कीचुहा र डडेल्धुराको जोगबुडा नगर अस्पताललाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्ने योजना समावेश छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सबै प्रक्रिया पूरा भएपछि गत २१ पुसमा दुवै नगरपालिकालाई अस्पतालको सम्पत्ति हस्तान्तरणसम्बन्धी सम्झौताका लागि पत्राचार गरिएको थियो । 

‘प्रादेशिक अस्पताल आवश्यक भएरै कार्यपालिकाबाट निर्णय गरेर प्रदेशलाई पठाएका हौँ, तर त्यसपछिका कुनै पनि प्रक्रियाबारे जानकारी दिइएन र प्रदेशले छलफल पनि गरेन,’ नगर प्रमुख शाहीले भनिन्, ‘अहिले एकैपटक सम्झौता गर्न आउनु भनियो । हस्तान्तरणअघि दुई निकायबिच आर्थिक र प्रशासनिक विषयमा छलफल हुनुपर्छ ।’ प्रदेश सरकार छलफल गर्न आए अस्पताल हस्तान्तरण गर्न नगरपालिका तयार रहेको उनको भनाइ छ । हस्तान्तरण सम्झौता नहुँदै प्रदेशले गत साता लम्कीचुहा अस्पताल व्यवस्थापन समिति गठन गरेपछि विवाद झन् चर्किएको छ । सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट रामबहादुर विष्टलाई अध्यक्ष नियुक्त गरिएको छ । नगरपालिकाले भने समिति गठनप्रति विरोध जनाएको छ ।

सतहमा कर्मचारी व्यवस्थापनलगायत विषयमा छलफल र समन्वयको नभएको भनेर विवाद देखिए पनि विवाद देखिनुको मूल कारण मुख्यमन्त्री कमलबहादुर शाह र नगर प्रमुख शाहीबिचको व्यक्तिगत टकराव रहेको स्थानीय बताउँछन् । यी दुवै नेता कांग्रेसबाट निर्वाचित हुन् भने मुख्यमन्त्री शाहको घर पनि लम्की हो । कांग्रेसका स्थानीय नेताहरूका अनुसार पार्टीको एउटै खेमामा रहेका यी दुई नेताबिच पहिले राम्रो सम्बन्ध भए पनि पछिल्लो समय तिक्तता छ । दुईजनाबिचको विवाद पछिल्लो समय सार्वजनिक रूपमै देखिन थालेको थियो । प्रदेशले मेयरलाई बाइपास गरेर पालिकाको कर्मचारी नेतृत्वबाट हस्तान्तरणको प्रक्रिया पूरा गर्न खोजेको भन्दै शाही रुष्ट बनेकी हुन् । 

अस्पताल स्तरोन्नतिको विषयमा मुख्यमन्त्री र नगर प्रमुखले एक–अर्काको आरोपलाई सार्वजनिक रूपमै खण्डन गरेका छन् । मुख्यमन्त्री शाहले भने दुईपटक पत्र पठाउँदा पनि लम्कीचुहा नगरपालिका नआएपछि व्यवस्थापन समिति गठनलगायत प्रक्रिया अगाडि बढाइएको बताएका छन् । लम्कीमा पत्रकार सम्मेलन गरेर उनले सुरुमा सहमति दिइसकेकाले अन्तिममा भाँजो हाल्न नहुने बताए । ‘पालिकाले अनुमति दिएरै स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको हो । प्रादेशिक अस्पताल भइसकेको छ । अब रोकिँदैन, प्रक्रियागत रूपमै सबै कुरा टुंग्याएर प्रादेशिक अस्पताल सञ्चालन हुन्छ,’ शाहले भने । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले लम्कीचुहा अस्पताल प्रदेशमातहत आइसकेको र कर्मचारी व्यवस्थापन तथा सम्पत्ति दायित्व हस्तान्तरणमा सम्झौता गर्न मात्र बाँकी रहेको बताए । ‘अहिले देखिएको विवादबारे पालिकासँग छलफल गरिरहेका छौँ, केही न केही निकास निस्केला,’ उनले भने, ‘अब रोकिने ठाउँ छैन ।’ स्तरोन्नतिको प्रक्रियामा यसअघि पालिकासँग समन्वय गर्न खोजे पनि हुन नसकेको उनले बताए । मन्त्रालयका अनुसार लम्कीलाई प्रादेशिक अस्पतालका रूपमा सञ्चालन गर्न यस वर्ष प्रदेशले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

सुझावित समाचार