रास्वपाको अबको चुनौती

मिडियामुखी राजनीति, व्यक्तिगत ब्रान्डको होड र कमजोर सामूहिक निर्णय प्रक्रियालाई समयमै सुधार्न सकिएन भने यो अवसर संकटमा बदलिन सक्छ

बिहिबार, १२ चैत, २०८२
डिजिटल संस्करण

हालै सम्पन्न निर्वाचन परिणामले फेरि एकपटक नेपालको राजनीतिक मानचित्रलाई गहिरो रूपमा हल्लाएको छ । यो परिणाम धेरैका लागि ‘अप्रत्याशित’जस्तो देखिए पनि जमिनमा हिँड्ने, मतदातासँग प्रत्यक्ष संवाद गर्ने र जनभावनाको नाडी छाम्नेका लागि भने यो कुनै आकस्मिक विस्फोट होइन । यो लामो समयदेखि जम्दै आएको आशा, आक्रोश र विकल्प खोजीको स्वाभाविक निष्कर्ष हो । निर्वाचन परिणामले केवल सरकार परिवर्तन गरेको छैन, राजनीतिक संस्कार परिवर्तनको मागलाई पनि वैधानिकता दिएको छ । निर्वाचनको यो नतिजा तीन दशक लामो लोकतन्त्रको अभ्यास, त्यसभित्रका संस्थागत कमजोरी र क्रमशः गहिरिँदै गएको जनअविश्वासको स्वाभाविक निष्कर्ष हो । यसले एउटा स्पष्ट सन्देश दिएको छ, जनता अब विकल्प खोज्ने चरणबाट विकल्पलाई सत्तामा परीक्षण गर्ने चरणमा प्रवेश गरिसकेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दिग्विजयलाई यही ऐतिहासिक मनोविज्ञानबाट बुझ्नुपर्छ ।

आशा र आक्रोशको संयुक्त जनादेश :  रास्वपाको दिग्विजयलाई केवल चुनावी अंकगणितको सफलता भनेर बुझ्नु पर्याप्त हुँदैन । यो परिणाम बहुआयामिक छ । बाहिरबाट हेर्दा बालेन शाहको ब्रान्ड, ‘घन्टी’ को प्रतीकात्मक शक्ति र रवि लामिछानेप्रतिको सहानुभूति निर्णायक देखिए पनि भित्री तहमा यो विजय पुरानो राजनीतिक संरचनाप्रतिको गहिरो वितृष्णा, निराशा र प्रतिरोधको अभिव्यक्ति हो । मतदाताले केवल कसैलाई जिताएका छैनन्, उनीहरूले कसैलाई हराएका पनि छन् । त्यो हार केवल उम्मेदवारको होइन, एक पुरानो राजनीतिक शैलीको हो ।

निर्वाचन परिणाम सतही रूपमा हेर्दा ‘लोकप्रियता’को जितजस्तो देखिन सक्छ, तर गहिरो विश्लेषणले देखाउँछ, यो परिणामको वास्तविक इन्धन ‘नकारात्मक जनादेश’ पनि हो । यो चुनावमा कतै आशा थियो, कतै आक्रोश । कतै नयाँप्रतिको विश्वास थियो, कतै पुरानाप्रतिको अस्वीकार । विशेषतः युवा पुस्ता, जसलाई ‘जेन–जी’ को रूपमा चिनिन्छ, यो परिणामको सबैभन्दा महत्वपूर्ण स्टेकहोल्डर बनेर उभियो ऊ । उनीहरूले पहिलोपटक संगठित रूपमा ‘अब पुराना शैली स्वीकार्य छैन’ भन्ने सन्देश दिए । यस अर्थमा रास्वपाको विजय केवल पार्टीको होइन, एउटा पुस्तागत मनोविज्ञानको राजनीतिक अनुमोदन हो । राजनीतिक सिद्धान्तमा यसलाई ‘प्रोटेस्ट भोट’ भनिन्छ, जहाँ मतदाताले कुनै एक शक्तिलाई समर्थन गर्नभन्दा बढी अर्को शक्तिलाई अस्वीकार गर्न मतदान गर्छ । नेपालको पछिल्लो चुनाव यही ‘आशा + आक्रोश’ को संयोजन हो ।

यस विजयका कारण बहुआयामिक छन् । पहिलो, बालेन शाहको व्यक्तित्वले निर्माण गरेको ‘ब्रान्ड पावर’ हो । उनी केवल एउटा मेयर होइनन्, उनी एउटा ‘प्रतीक’ बने अस्वीकारको, साहसको र वैकल्पिक सम्भावनाको । दोस्रो, रवि लामिछानेप्रतिको सहानुभूति, राज्य संयन्त्रबाट भएको व्यवहारलाई धेरै मतदाताले ‘प्रतिशोध’का रूपमा लिए । तेस्रो, अघिल्लो संसद्मा रास्वपाले देखाएको तुलनात्मक रूपमा सशक्त उपस्थिति, जसले ‘बोल्ने र प्रश्न गर्ने’ संस्कृति स्थापना गर्यो । र, चौथो, पुराना दलप्रतिको गहिरो आक्रोश, ओली, देउवा र प्रचण्डको लामो राजनीतिक वर्चस्वले सिर्जना गरेको थकान । अझ गहिरो तहमा हेर्ने हो भने यो परिणाम जेन–जी चेतनाको संस्थागत रूपान्तरण हो । यस पुस्ताले राजनीतिलाई ‘नैतिक आलोचना’को विषयबाट ‘व्यावहारिक परिणाम’को मागमा रूपान्तरण गरिदिएको छ । यस अर्थमा यो परिणाम एउटा ‘म्यान्डेट’ हो, परिवर्तनको, परिणामको र नयाँ राजनीतिक संस्कारको । 

बाहिरबाट हेर्दा बालेन्द्र शाहको ब्रान्ड, ‘घन्टी’ को प्रतीकात्मक शक्ति र रवि लामिछानेप्रतिको सहानुभूति निर्णायक देखिए पनि भित्री तहमा यो विजय पुरानो राजनीतिक संरचनाप्रतिको गहिरो वितृष्णा, निराशा र प्रतिरोधको अभिव्यक्ति हो 

यद्यपि, यहीँबाट सबैभन्दा गम्भीर प्रश्न सुरु हुन्छ, के रास्वपा यो म्यान्डेट बोक्न सक्षम छ ? वास्तविकता के हो भने रास्वपा अझै परिपक्व राजनीतिक संगठन बनिसकेको छैन । चुनाव जित्नु र संगठन निर्माण गर्नु दुई फरक पाटा हुन् । चुनावी लहरमा धेरै मानिस जोडिन सक्छन्, तर संस्थागत संरचना बनाउन अनुशासन, दृष्टि र दीर्घकालीन प्रतिबद्धता आवश्यक पर्छ । अहिले रास्वपाभित्र देखिएको सबैभन्दा ठुलो चुनौती यही हो, संख्यामा विस्तार भए पनि गुणस्तरमा स्थिरता नआउनु ।

लोकप्रियता ‘भर्सेस’ संस्थागत क्षमता :  राजनीतिशास्त्रमा एउटा महत्वपूर्ण बहस छ, लोकप्रियता र संस्थागतताबिचको सम्बन्ध । लोकप्रियता तीव्र गतिमा उक्लिने ऊर्जा हो भने संस्था स्थायित्व दिने संरचना । लोकप्रियता सत्ता दिलाउन पर्याप्त हुन्छ, तर शासन टिकाउन संस्था अपरिहार्य हुन्छ । नेपालको वर्तमान सन्दर्भमा यही प्रश्न निर्णायक बनेको छ, के रास्वपा लोकप्रियतालाई संस्थागत क्षमतामा रूपान्तरण गर्न सक्षम छ ?

यही सन्दर्भमा बालेन शाहको उदय र उनको भूमिकाको चर्चा अपरिहार्य हुन्छ । बालेन्द्रको उदय परम्परागत राजनीतिभन्दा बिल्कुल फरक शैलीको थियो । स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरको मेयर जित्नु केवल व्यक्तिगत सफलता थिएन, त्यो एउटा राजनीतिक सन्देश थियो । काठमाडौं महानगरमा उनका काम क्रान्तिकारी नभए पनि मानक स्थापित गर्ने खालका रहे, जसले स्थानीय सरकारको अधिकार र राज्य संरचनाबारे राष्ट्रिय बहस सुरु गर्यो ।

उनले औसत काम गरेका भए पनि मेयर पदको गरिमा, स्थानीय सरकारको शक्ति र केन्द्रीय सरकारसँगको सम्बन्धलाई राष्ट्रिय बहसको विषय बनाउने काम गरे । पुराना दलप्रति वाक्कदिक्क भएका स्थानीय तहमा भ्रष्टाचार र राजनीतिक दल भित्रका ‘टोले झुन्ड’ संस्कृतिबाट हैरान भएका जनताले बालेनमा एउटा साहसी विकल्प देखे । उनले कम बोल्ने, कामले उत्तर दिने, औपचारिकताभन्दा व्यावहारिकता अपनाउने शैलीमार्फत नयाँ राजनीतिक संस्कारको सुरुवात गरे । यसले जनतामा आशा जगायो ।

तर, लोकप्रियता जति छिटो उक्लिन्छ, त्यति नै छिटो झर्न पनि सक्छ । अहिले पनि उनलाई नजिकबाट चिन्ने–जान्ने नगण्य छन्, त्यसैले मानिसका लागि उनी कहिलेकाहीँ अपरिपक्व, घमण्डी वा टाढा बसेका नेताजस्ता देखिन्छन् । यसले कहिलेकाहीँ उनलाई रहस्यमयी पात्र बनाउँछ र यो नै उनको शक्ति र कमजोरी दुवै हो । यस्तो छवि चिर्न उनको एक मात्र उपाय निरन्तर परिणाम नै हो । कामले उत्तर दिने । अझ महत्वपूर्ण कुरा, बालेन अब एक्लो ‘व्यक्ति’ होइनन्, उनी एउटा ‘संस्थागत सम्भावना’ हुन् । त्यसैले, उनको सफलताका लागि परिपक्व, अनुभवी र जवाफदेही टिम निर्माण अनिवार्य छ । सानो घेराभित्रको टिमबाट बाहिर निस्केर व्यापक र सन्तुलित संरचना बनाउन नसके उनको राजनीतिक उचाइ दीर्घकालीन नहुन सक्छ ।

अर्कातर्फ रवि लामिछानेको भूमिकालाई अलग ढंगले बुझ्नुपर्छ । राजनीतिमा आउनुअघि उनका व्यक्तिगत कमजोरी हुन सक्छन्, तर राजनीतिमा आएपछि उनको नियत स्पष्ट देखिन्छ, केही गर्ने । उनले देखाएको उदारता, नयाँ व्यक्तिलाई अवसर दिने शैली र दबाबबिच पनि टिक्ने क्षमता नेपाली राजनीतिमा दुर्लभ छ । उनले भोगेको प्रतिशोधपूर्ण राजनीतिक प्रहार र कानुनी चुनौतीको स्तर हेर्ने हो भने त्यो कुनै परम्परागत आन्दोलनकारी तथा त्यागी नेताले भोगेभन्दा कम छैन । यही कारणले जनताले उनलाई साथ दिएका हुन् । अहिले उनले बालेनलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारेर देखाएको नेतृत्व क्षमताले नयाँ आशा पनि जगाएको छ, साथै उनले निर्वाचित संसद्लाई दिएको प्रशिक्षणात्मक मन्तव्य मात्र कार्यान्वन गर्ने हो भने उनको उचाइले व्यक्तिगत, दलगत र राष्ट्रका लागि मानक स्थापित हुनेमा शंका छैन । तर, चुनौती यहीँ छ– यो सम्बन्धलाई टिकाउने । वरिपरिका स्वार्थ समूह, नजिकका मानिसको प्रभाव र शक्ति सन्तुलनको खेलले यो सम्बन्ध बिगार्न सक्छ । यदि यो साख जोगाउन सकिएन भने त्यसको असर सीधै सरकार र पार्टीमा पर्नेछ । अर्को निर्वाचनमा जनतामा जाने त परको कुरा, मुख देखाउनै नसक्ने स्थितिमा पुग्नेछन् ।

रास्वपाको अर्को गम्भीर चुनौती भनेको ‘व्यवस्थापन’ हो । विभिन्न क्षेत्रबाट आएका मानिसको स्वार्थ, अपेक्षा र व्यवहारलाई समेट्नु सजिलो छैन । राजनीति सबै क्षेत्रको ‘अभिभावक’ हो, जहाँ सहनशीलता, धैर्य र समन्वय अनिवार्य हुन्छ । अहिले पार्टीभित्र निर्वाचन जित्ने केही सांसद सक्षम र योग्य पनि होलान, तर उल्लेखनीय संख्यामा कमजोर र अपरिपक्व नै छन् । उनीहरू केवल रवि–बालेन र घन्टीप्रतिको आशा र पुरानो दलप्रतिको आक्रोशको मतबाट जितेका प्रतिनिधि हुन् । केहीमा ‘हिरोगिरी’ गर्ने, सामाजिक सञ्जालमा लोकप्रिय हुने तर जिम्मेवारी नलिने प्रवृत्ति पनि देखिन्छ । यिनलाई समयमै नियन्त्रण गरिएन भने पार्टीभित्रै अराजकता पैदा हुन सक्छ । यसका साथै बाह्य चुनौती पनि कम छैनन् । अन्तर्राष्ट्रिय रूपमा मध्यपूर्वको द्वन्द्वले आर्थिक प्रभाव पार्न सक्छ । भित्र पुराना दलले अवसर खोजिरहेका छन्, कुनै पनि सानो कमजोरीलाई ठुलो मुद्दा बनाउन बहाना खोजेर बसेका छन् । अझ गम्भीर कुरा, काम गर्न सकिएन भने जनताले केवल आलोचना गर्नेछैनन्, उनीहरू नेताहरूलाई आफ्नो निर्वाचन क्षेत्रमै छिर्न नदिने स्तरसम्म पुग्न सक्छन् ।

रास्वपाको संरचनागत द्विविधा :  रास्वपा आज एउटा विरोधाभासभित्र छ । एकातिर यसले नयाँ पुस्ताको आकांक्षा, आक्रोश र आशालाई समेटेको छ भने अर्कातिर यसको आन्तरिक संरचना अझै तरल, असंगठित र प्रयोगधर्मी अवस्थामै छ । पार्टीभित्र प्रवेश गरेका धेरै व्यक्ति आआफ्नो क्षेत्रमा स्थापित भए पनि, राजनीतिक संगठन सञ्चालनको अनुभव र अनुशासनमा समान स्तरमा छैनन् । यसले ‘पपुलर स्ट्रेन्थ’लाई ‘फ्रग्मेन्टेड एनर्जी’मा बदल्ने जोखिम हुन्छ ।

अहिले देखिएको एउटा प्रमुख प्रवृत्ति, ‘कस्मेटिक राजनीति’ विशेष ध्यान दिनुपर्ने विषय हो । सामाजिक सञ्जालमा सक्रियता, न्युज र भ्युजका साथै तात्कालिक लोकप्रियता भएका व्यक्ति पार्टीमा आकर्षित हुनु स्वाभाविक हो । तर, यिनलाई संस्थागत अनुशासन, विचारधारा र दीर्घकालीन दृष्टिकोणमा बाँध्न सकिएन भने यही समूह भविष्यमा अस्थिरताको स्रोत बन्न सक्छ । राजनीति केवल ‘भिजिबिलिटी’ होइन, यो ‘रेस्पोन्सिबिलिटी’ हो ।र अन्त्यमा, बालेन्द्र शाहको उदयलाई केवल चुनावी जितका रूपमा बुझ्नु अपूरो हुन्छ, उनी परम्परागत राजनीतिक संस्कारको विकल्पका रूपमा उभिएको एउटा नयाँ शैलीका प्रतिनिधि हुन्, कम बोल्ने, काममार्फत सन्देश दिने र औपचारिकताभन्दा व्यावहारिकतालाई प्राथमिकता दिने । तर, अहिले उनी निर्णायक मोडमा छन्, लोकप्रिय व्यक्तिमा सीमित रहने कि संस्थागत नेतृत्वमा रूपान्तरण हुने ? इतिहासले देखाएको छ, व्यक्ति असाधारण हुन सक्छ, तर दीर्घकालीन रूपमा संस्था नै टिकाउ हुन्छ । यहीँबाट उनको वास्तविक परीक्षा सुरु हुन्छ, वाचापत्र कार्यान्वयन र सक्षम टिम निर्माणमार्फत आफूलाई प्रमाणित गर्ने ।

अर्कातर्फ, रवि लामिछानेले विभिन्न पृष्ठभूमिका व्यक्तिलाई जोड्ने सेतुका रूपमा आफ्नो क्षमता देखाइसकेका छन् । उनले भोगेको राजनीतिक दबाब र सार्वजनिक परीक्षणले उनलाई खारिएको नेता बनाएको छ, तर अब उनको मुख्य जिम्मेवारी आन्दोलनको ऊर्जा व्यवस्थापन गर्दै संस्थागत दल निर्माण गर्नु हो । रास्वपाको सबैभन्दा ठुलो चुनौती बाह्य होइन, आन्तरिक हो, विभिन्न स्वार्थ, अपेक्षा र अपरिपक्व प्रवृत्तिलाई समेट्दै अनुशासित संरचना बनाउने । मिडियामुखी राजनीति, व्यक्तिगत ब्रान्डको होड र कमजोर सामूहिक निर्णय प्रक्रियालाई समयमै सुधार्न सकिएन भने यो अवसर संकटमा बदलिन सक्छ । तर, यति हुँदाहुँदै पनि अवसर अभूतपूर्व छ, जनताले पहिलोपटक विकल्पलाई परिवर्तनको स्पष्ट म्यान्डेट दिएका छन् ।

अब प्रश्न एउटै हो, यो यात्रा इतिहास निर्माणतर्फ जान्छ कि विगतको पुनरावृत्तितर्फ ? अन्ततः अपेक्षा यही हो, बालेन सफल प्रधानमन्त्रीका रूपमा उभिऊन्, रविले सफल सभापतिका रूपमा रास्वपालाई व्यक्तिकेन्द्रित होइन, विधि र संस्थामा आधारित लोकतान्त्रिक दलमा रूपान्तरण गरून् र जनताले दिएको विश्वासको वास्तविक कदर होस् । तर, यिनका वाचा असफल भए भने यो केवल एउटा सरकारको असफलता हुनेछैन, यो एउटा पुस्ताको भरोसामाथि गरिएको ऐतिहासिक क्षति हुनेछ । अन्ततः प्रश्न सरल छ, यो जित सत्ता प्राप्तिको हो कि इतिहास निर्माणको ?

सुझावित समाचार