फेक रेस्क्युबाट जोगिन चार्टर्ड फ्लाइटको आवरण दिने योजना, सरकारी वकिलमा एक हप्तासम्म रोकियो फाइल

आइतबार, ८ चैत, २०८२
डिजिटल संस्करण
  • फेक रेस्क्युका ‘मास्टर माइन्ड’ नेपाल वायुसेवा संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंह, जसले अनुसन्धानलाई नै प्रभावित पार्न एयर डायनेस्टीका मालिक श्यामसुन्दर कँडेलसँग गरेको फोन संवाद बाहिरिएको छ

पदयात्रामा जाने पर्यटकको फर्जी उद्धारका नाममा भइरहेको ठगीलाई जोगाउन फरार अभियुक्तहरूले नै नयाँ योजना बनाइरहेको खुलेको छ । प्रमाण नष्ट गर्नेदेखि रेस्क्यु फ्लाइटलाई चार्टर्ड फ्लाइटको आवरण दिएर ठगी लुकाउने प्रयास भएको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनमा सो मुद्दामा फरार रहेका एयर डायनेस्टीका मालिक श्यामसुन्दर कँडेल र हिरासतमा रहेका नेपाल वायुसेवा संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहबिचको अडियोसमेत समावेश छ । करिब एक महिनाअघि भएको उक्त कुराकानीमा अनुसन्धानलाई प्रभावित गर्न नागरिक उड्डयन प्राधिकरणबाट पर्यटकको रेस्क्यु फ्लाइटसम्बन्धी तथ्यांक नै लुकाउन सिंहले चलखेल गरिरहेको प्रस्ट हुन्छ । 

उनले कँडेललाई भनेका छन्, ‘अनि अबउप्रान्त चाहिँ हामी रेस्क्यु भन्दै नभन्ने के श्यामजी । हाम्रो चार्टर हो, हेलिकोप्टरले त भन्दै–भन्दैन, तपाईंहरूले पनि रेस्क्यु नभन्ने ।’ 

विभिन्न हेलिकोप्टर कम्पनीमा प्रबन्धकदेखि नागरिक उड्डयन क्षेत्र सुधारका लागि सरकारले गठन गरेको कार्यदलका सदस्यसम्म भएर काम गरिसकेका सिंहले प्रक्रिया मिलाएर फेक रेस्क्यु ठगीमा सघाएकोदेखि पछि प्रमाण लुकाउन भूमिका खेलेकोसमेत सिआइबी अनुसन्धानले देखाएको छ । सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । फेक रेस्क्युका नाममा भइरहेको ठगीको उनी ‘मास्टर माइन्ड’ भएको सिआइबीको निष्कर्ष छ । 

उनले कँडेलसँगको टेलिफोन कुराकानीमा भनेका छन्, ‘मैले अहिलेचाहिँ पर्यटन विभागको डिजीलाई भेटेर आएको के । अब उ त भाइ हो । अनि उसलाई चाहिँ मैले के भनेँ भने यसपालि आउने सिजनमा यो रेस्क्यु भन्ने शब्द प्रयोग गर्नुभएन के श्यामजी । धेरै... मेडिकल रेस्क्यु भयो भने रेस्क्यु भन्ने, जहाँचाहिँ डाक्टर नै जान्छ, हैन । हैन भने चाहिँ रेस्क्यु भन्ने शब्द हामी त केयरलेसली पनि रेस्क्यु... इन्स्योरेन्स क्लेम भन्दैमा रेस्क्यु हुँदैन के । जस्तो प्रिमियम अब इन्स्योरेन्स पोलिसी लिएर आएको हुन्छ, उसले चाहिँ हिँडेर ट्रेकिङको लागि भनेर आउँछ, हेलिकोप्टर चढ्नुपर्यो, गाह्रो भएर त्यसो भएकोले उसले क्लेम गर्छ । त्यो उसको कुरा हो नि, हैन...। अनि अर्को कुराचाहिँ के छ भन्दाखेरि एउटा सुधार्नुपर्नेचाहिँ जो पार्टी हो, उसले नै क्लेम गर्नुपर्छ के ।’ अबदेखि बिमाबाट नभई पर्यटकबाटै नगद पैसा लिने गरी उनीहरूले योजना बनाइरहेको सुनिन्छ । 

जसमा कँडेलले भनेका छन्, ‘पछिल्लो समय त हामीले त्यही नै गर्न थालिसकेका छौँ, कतिपय पछिल्लो एक–दुई वर्षमा चाहिँ । पेमेन्टचाहिँ तपाईंको... त्यहाँमाथि हामीले त्यो नै गर्दा पनि भन्दा पनि पेमेन्ट क्यास नै लिन थालेका छौँ के । दुनियाँथरी झमेला–लफडा पर्नुभन्दा क्लाइन्टसँग पैसा लियो अनि हेलिकोप्टर बिल बनायो पठायो, ऊ आफैँ क्लेम गरिरहन्छ । क्यास लियो भने टेन्सन नै साफ । हामी त्यसमा चाहिँ पछिल्लो समय त्यसैमा फोकस गरेका छौँ । अब कोही–कोहीको चाहिँ त्यो ट्रेकिङ कम्पनीहरूलाई आइडिया हुँदैन । ‘ल न गर्दिनुपर्यो सर’ भनेर भन्छ । नगर्दिऊँ अर्कोले गर्दिन्छ, त्यही बाध्यताले गर्नुपर्ने हुन्छ ।’ कँडेल एयर डायनिस्टीसहित फेक रेस्क्युमा जोडिएको स्वाकन अस्पतालका समेत मालिक हुन् । 

क्यानका महानिर्देशकलाई समेत आफूअनुकूल पत्र लेख्न भनेको सिंहको दाबी छ । कुराकानीमा सिंहले भनेका छन्, ‘मैलेचाहिँ क्यानको डिजीलाई फोन गरेर अब म चिट्ठी लेख्न... आइतबारतिर चिट्ठी लेख्छु । हामीकहाँ रेस्क्यु भनेर डेटा राख्ने चलन नभएको, फ्लाइट डेटा मात्र हुने हुनाले त्यसको चाहिँ दिन नसकिने भनेर लेख्दिन्छु के । बुझ्नुभयो नि ?’ 

सिंहले आफूलाई ‘मे नेपाल में फेक रेस्क्युका डन हें’ भनेर हिन्दीमा बोलेको अडियो पनि सिआइबीले फेला पारेको छ ।

सरकारी वकिलमा किन रोकियो फाइल ?
फर्जी उद्धारका नाममा भएको ठगीसम्बन्धी अनुसन्धान फाइल एक सातादेखि जिल्ला सरकारी वकिल कार्यालयमा रोकिएको छ । गत १ चैतमै सिआइबीले अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अध्ययनका नाममा फाइल रोकिएको छ । मुद्दामा विभिन्न निकायबाट दबाबका कारण अभियोग अस्वाभाविक रूपमा रोकिएको स्रोत बताउँछ । खासगरी पक्राउ परेका १० मध्ये वायुसेवा सञ्चालक संघका पूर्वउपाध्यक्ष राजेन्द्रबहादुर सिंहविरुद्ध मुद्दा नचलाउन दबाब आइरहेको सरकारी वकिल कार्यालयका एक अधिकारी बताउँछन् । सिंह फेक रेस्क्युका नाममा भइरहेको ठगीको ‘मास्टर माइन्ड’ भएको सिआइबीको निष्कर्ष छ । 

प्रहरीले सिंहसहित माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक जयराम रिमाल, एभरेस्ट एक्सपिरियन्स एन्ड असिसटेन्स प्रालिका सुवास केसी र मुक्ति पाण्डे, नेपाल चार्टर सर्भिस प्रालिका रवीन्द्र अधिकारी, मास्टर हिमालय ट्रेक्सका विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका अपरेसन म्यानेजर विवेक थपलियालाई पक्राउ गरेको छ । त्यस्तै, श्रृद्धि इन्टरनेसनल अस्पतालका सञ्चालक डा. गीर्वाणराज तिमिल्सिना, रोयल होलिडेजका सन्दीप तिवारी तथा पानोराम ट्रेकिङका पासाङ शेर्पालाई पनि पक्राउ गरेर मुद्दा अघि बढाएको छ । यसमा संलग्न देखिएका अन्य २३ जना भने फरार छन् । उनीहरूविरुद्ध संगठित अपराधसहित राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको ब्युरोले जनाएको छ ।

सुझावित समाचार