मनमोहनमा एलएलएमका विद्यार्थीलाई पुरस्कार र स्वागत

शनिबार, ७ चैत, २०८२
डिजिटल संस्करण

मनमोहन प्राविधिक विश्वविद्यालयले कानुनतर्फ एलएलएमका पुराना विद्यार्थीहरूलाई पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको छ। विश्वविद्यालयको ‘मनमोहन इन्स्टिच्युट अफ ल’ले शनिबार अपराध शास्त्रमा एलएलएमका पहिलो समूहका उत्कृष्ट विद्यार्थीहरूलाई नगदसहित पुरस्कृत गर्दै नयाँ विद्यार्थीलाई अभिमुखीकरणसहित स्वागत गरेको हो। 

शनिबार विराटनगरमा सम्पन्न अभिमुखीकरण तथा स्वागत कार्यक्रममा बोल्दै विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड साइन्स टेक्नोलोजी अफ ल’ का डिन डा. रेखा श्रेष्ठले पाठयक्रमअनुसार गुणस्तरीय पढाइ र समयमै परीक्षा र परीक्षाफल प्रकाशनका लागि विश्वविद्यालयले कुनै सम्झौता नगर्ने बताइन्। उनले कानुनमा विशेषज्ञता हासिल गर्ने विद्यार्थीहरूलाई उत्तीर्ण हुनका लागि मात्र नभएर अनुसन्धानमा पनि जोड दिन आग्रह गरिन्। 

मनमोहन इन्स्टिच्युट अफ लका प्राचार्य कोषराज न्यौपानेले गुणस्तरीय पढाइमा जोड दिएकै कारण पहिलो र दोस्रो चरणमै कानुन पढ्ने विद्यार्थीहरूको आकर्षण उच्च भएको बताए। उनले मनमोहनले कानुनमा दक्ष जनशक्क्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरुसँग पनि सहकार्य गरिरहेको जानकारी गराए। प्राचार्य न्यौपानेका अनुसार मनमोहन कानुन विश्विद्यालयले केही वर्षभित्रै कानुनमा पिएचडी तहको पठनपाठन सञ्चालन गराउने सोच बनाइरहेको छ।  

कलेजका शिक्षक तथा अपराधशास्त्री केशवराज पन्तले मनमोहनमा कानुनमा एलएलएम अध्ययन गर्ने पहिलो समूहका विद्यार्थीहरूको पढाइको गुणस्तर आफूले सोचेभन्दा राम्रो पाएको बताए। विश्वविद्यालयका परीक्षाविज्ञ इन्जिनियर युवराज चौधरीले परीक्षालाई मर्यादित बनाएर समयमै परीक्षाफल प्रकाशन गर्ने लक्ष्यमा विश्वविद्यालय सधैँ प्रतिबद्ध रहने बताए।   

पहिलो सेमेस्टरका उत्कृष्ट विद्यार्थीहरू रामसुफल सदा र राजेश तिम्सिनाले मनमोहन विश्वविद्यालयको पढाइसँगै परीक्षा प्रणालीको खुलेर प्रशंसा गरे। कार्यक्रममा अपराध कानुनमा एलएलएममा भर्ना भएका ३०जना विद्यार्थीहरूलाई स्वागत गर्दै विश्वविद्यालयको शैक्षिक कार्यक्रम, परीक्षा र व्यवस्थापन प्रणालीबारे अभिमुखीकरण गराइएको थियो। साथै, एलएलएम पहिलो समूहका प्रथम सेमेस्टरमा प्रथम हुने विद्यार्थीहरू रामसुफल सदा दोस्रो हुने लवराज घिमिरे र तेस्रो हुने राजेश तिम्सिनालाई विश्वविद्यालयको तर्फबाट जनही ४८ हजार र जेहेनदार विद्यार्थी संजयकुमार यादवलाई कलेजका प्राचार्यको तर्फबाट नगद ११ हजार गिफ्ट ब्याक स्कलरसिपले पुरस्कृत गरिएको थियो। 

कोशी प्रदेश सरकारले स्थापना गरेको मनोहन प्राविधिक विश्वविद्यालयको ‘स्कुल अफ एप्लाइड  साइन्स, टेक्नोलोजी अफ ल’अन्तर्गतको मनमोहन इन्स्टिच्युट अफ लले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातोकोत्तर तहको पढाइ सञ्चालन गर्दै आएको छ।  
 

सुझावित समाचार