लामिछानेको मुद्दामा सोमबार फेरि सुनुवाइ हुने

अभियोगपत्र संशोधनको त्रुटि सच्याइएको टिप्पणी झिकाउन आदेश

शुक्रबार, ६ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको अभियोगपत्र संशोधनको वैधानिकता परीक्षण अझै पनि टुंगिएको छैन । सर्वोच्च अदालतले बिहीबार आदेश दिँदै ९ चैतका लागि पेसी तोकेको छ । सर्वोच्चका न्यायाधीशहरू शारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासले अभियोगपत्र संशोधनको त्रुटि सच्याइएको टिप्पणी आदेश झिकाउन भनेको छ । महान्यायाधिवक्ता कार्यालयले गत ३० पुसमा भएको आदेशलाई २ माघमा सच्याएको थियो । सोही आदेश झिकाउन सर्वोच्चले भनेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले सर्वोच्चमा पेस गरेको लिखित जवाफमा त्रुटि सच्याइएको विषय उल्लेख थियो । मातहतका सरकारी वकिलहरूलाई अभियोगपत्र संशोधनका लागि निकास दिने गरी भएको आदेशमा त्रुटि सच्याई विचाराधीन सबै मुद्दाका प्रतिवादीहरूउपरको सम्पत्ति शुद्धीकरण र संगठित अपराधतर्फको अभियोग हटाउने गरी निकास दिइएको थियो । यही निर्णयको व्यहोरा भएको लिखित जवाफ महान्यायाधिवक्ता सविता भण्डारीले पेस नगरेको भन्दै सर्वोच्चले आदेश दिएको हो ।

चार दिनदेखि सर्वोच्चले यो रिटको सुनुवाइ हेर्दाहेर्दैमा राखेर गरिरहेको थियो । १ चैतदेखि निवेदक र विपक्षीका साथसाथै जवाफी बहससमेत भइसकेकोमा अन्तिममा इजलासले अन्य आदेश दिएको हो । लामिछानेसमेतका अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध तीन रिट छन् । युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीसमेत तीनजनाले गत ४ माघमा दर्ता गरेका रिट हाल विचाराधीन छन् ।

महान्यायाधिवक्ता भण्डारीले २९ पुसमा पूर्वगृहमन्त्री लामिछानेउपरका दुई अभियोग कायम नरहने गरी अभियोगपत्रहरू संशोधन गर्ने निर्णय गरेकी थिइन् । चितवन जिल्ला अदालतमा विचाराधीन ठगी र सहकारी ठगीका मुद्दाझैँ अन्य चार जिल्ला अदालतमा पनि यी दुई मात्र अभियोग कायम राख्ने गरी सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयहरूमा लेखी पठाउने निर्णय भएको थियो ।  

सुझावित समाचार