युवालाई उद्यमी बनाउँदै जुम्लाका स्थानीय तह

बिहिबार, ५ चैत, २०८२
डिजिटल संस्करण

यहाँका स्थानीय तहले विदेशबाट फर्किएका युवालाई उद्यमी बनाउन थालेको छ । स्थानीय तहले उद्यमशीलतासम्बन्धी प्रशिक्षित गरेर उद्यमी बनाउन थालेको हो । वैदेशिक रोजगारीमा लामो समय बिताएका युवाको अनुभव र सिपलाई स्वदेशमा लागू गर्न उद्यमशीलता तालिमबाट प्रशिक्षित बनाउन थालेको हो । तातोपानी र सिँजा गाउँपालिकाले २०–२० जना युवालाई उद्यमी बनाउन थालेको हो । 

वैदेशिक रोजगारीबाट फर्किएका बेरोजगार युवा–युवतीलाई उद्यमशीलता तालिम दिएर गाउँमै रोजगार प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ । स्थानीय उत्पादनमा आधारित साना उद्योग तथा व्यवसाय सञ्चालन गरी आयआर्जन वृद्धि गर्न उद्यमशीलता तालिम प्रदान गरिने तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए । 
तातोपानीका आठवटा वडाका २० जना विदेशबाट फर्किएका युवालाई उद्यमशीलता तालिम दिइनेछ । पालिकाले इच्छुक युवालाई सात दिनभित्र सम्पर्कमा आउन आह्वान गरेको छ । 

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको सिप, अनुभव तथा पुँजीलाई उपयोग गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने र पुनः बिदेसिनु नपर्ने वातावरण बनाउन युवा उद्यमीको अवधारणा ल्याइएको सिँजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनका अनुसार सिँजाका पनि २० जना युवालाई उद्यमशीलता तालिम दिइनेछ । 
‘वैदेशिक रोजगारीका अनुभवलाई स्थानीय स्तरमा लागू गरी उद्यमशीलता प्रवर्द्धन गर्ने स्थानीय तहको योजना छ,’ उनले भने, ‘अनुभव भएर पनि केही गर्न नसकेका युवालाई हौसला पनि प्रदान हुनेछ । ती युवाको प्रेरणाले अरू युवा पनि उद्यमशीलतामा आकर्षित हुने अपेक्षा गरिएको छ ।’ वैदेशिक रोजगारीबाट फर्किएकाहरूका लागि पालिकास्तरमै उद्यमी बनाउन विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूसँग लागत साझेदारीका लागि समन्वय भइरहेको पालिका प्रमुखहरूले बताएका छन्।

 विदेशमा आर्जन गरेको पुँजी, ज्ञान, सिप, प्रविधि र अनुभव आफ्नै माटोमा प्रयोग गर्ने योजना छ । नवीनतम ज्ञान र सिपमा आधारित व्यवसाय स्थापना र सञ्चालनका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई अनुदान, सहुलियत ब्याजदरमा उद्यमी कर्जा प्रवाह गर्ने स्थानीय तहले रणनीति बनाएका छन् ।  छनोट भएका युवालाई पालिका र संघसंस्थासँग समन्वय गरी निर्ब्याजी ऋणसमेत उपलब्ध गराइनेछ । पालिकाको अन्य विकास निर्माण तथा रोजगार प्रवर्द्धनका कार्यक्रममा तालिम लिएका युवालाई प्राथमिकता दिइनेछ ।
 

सुझावित समाचार