राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदहरूको सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ। तर, नयाँ सरकार गठन हुन अझै करिब १० दिन लाग्न सक्ने रास्वपाले जनाएको छ ।
पार्टी प्रवक्ता मनीष झालले केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै समानुपातिक उम्मेदवारहरूको नामावली टुंग्याएर आजै आयोगमा बुझाइने बताए। उनले भने, ‘हाम्रो पहिलो प्राथमिकता समानुपातिक उम्मेदवारहरूको नामावली बुझाउनु हो, त्यसैले आज हामी त्यसो गर्नेछौँ।’
सरकार गठनका विषयमा उनले थपे, ‘केही संवैधानिक र व्यावहारिक प्रक्रियाहरू बाँकी छन्। संसद सचिवालयको तयारी, निर्वाचन आयोगले अन्तिम विवरण राष्ट्रपति कार्यालयमा बुझाउने प्रक्रिया र प्रमाणपत्र वितरणजस्ता कामहरू बाँकी छन्।’
झालले बताए, ‘सबै प्रक्रिया हाम्रो हातमा हुँदैन। संसद् सचिवालय, निर्वाचन आयोग र अन्य निकायहरूको जिम्मेवारी पनि हुन्छ। त्यसैले ठ्याक्कै समय भन्न गाह्रो भए पनि करिब १० दिन लाग्न सक्छ भन्ने अनुमान छ।’