दशौँ नेपाल फर्मा एक्स्पो– २०२६ आजदेखि भृकुटीमण्डपमा सुरु

बिहिबार, २८ फागुन, २०८२
डिजिटल संस्करण

दशौँ नेपाल फर्मा एक्स्पो– २०२६ आजदेखि भृकुटीमण्डपमा सुरु भएको छ । नेपालमा उत्पादन भएका औषधिको बजारीकरण गर्न र विश्व बजारमा औषधि उत्पादनका लागि प्रयोग भएका आधुनिक उपकरण, ज्ञान प्रविधिलाई नेपालसँग जोड्न तथा यसको  आदान–प्रदान गर्न एक्स्पो आयोजना गरिएको हो। स्वास्थ्यमन्त्री सुधा शर्माले फर्मा एक्स्पोको उद्घाटन गर्दै नेपालमा औषधि उत्पादनमा सरकारले सहयोग गर्ने बताइन्।

‘एकातिर औषधि महँगो छ, एर्कातिर उत्पादकहरूले औषधिको मूल्य पाउनुभएको छैन, उत्पादन भएको औषधि पनि राम्ररी बजारीकरण भएको छैन, औषधि व्यवस्था विभागलाई यसबारेमा व्यवस्थित गर्न मैले गृहकार्य गरेकी छु,’ उनले भनिन्, ‘नेपालमा औषधि उत्पादनको लागि के–कस्तो कच्चा पदार्थ ल्याइएको छ, त्यसमा बढी जाँच गर्नुपर्छ, कच्चा पदार्थदेखि औषधिसम्म ल्याब परीक्षण गर्न आवश्यक छ, त्यसका लागि दक्ष जनशक्ति र उपकरण हामीले व्यवस्थित गर्न जरुरी छ ।’  तीन दिनसम्म आयोजना हुने एक्स्पोमा औषधि उत्पादनका प्रविधि र त्यसको बिक्री–वितरणलाई सहज पार्न विभिन्न औषधिजन्य वस्तु र उपकरणको प्रदर्शनीसमेत आयोजना गरिएको छ ।

हाल नेपालमा करिब ८० वटा औषधि उत्पादक कम्पनी छन्। तर, नीतिगत समस्याका कारण नेपालमा उत्पादन भएका औषधिको बजारीकरण असहज भएको औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारीले बताए । उनका अनुसार धेरैजसो औषधि उत्पादक कम्पनीहरूले एकै किसिमको औषधि उत्पादन गर्ने भएकोले बजारीकरणमा समस्या हुने गरेको छ ।

सुझावित समाचार