कर्णाली प्रतिष्ठानमा नयाँ शैक्षिक सत्रका लागि एमबिबिएससहित कोर्सका लागि १३० विद्यार्थी भर्ना
चिकित्सा शिक्षा अध्ययनका लागि भारतसहित नेपालका विभिन्न जिल्लाबाट १३० जना विद्यार्थी जुम्ला पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ शैक्षिक सत्र ०८२ का लागि एमबिबिएस, बिएनएस, बिपिएच, बिएस्सी नर्सिङ, नर्सिङ तथा बी–फार्मालगायत विषय अध्ययन गर्न उनीहरू जुम्ला पुगेका हुन् ।
आफ्नी छोरी रेन्जु सिंहलाई एमबिबिएस अध्ययनका लागि जुम्ला ल्याएका भारतको दिल्लीका रावेन्द्र सिंहले जुम्ला नेपालकै सुन्दर क्षेत्र भएको बताए । जुम्ला रोज्नुमा यहाँको शान्त र सुन्दर वातावरण तथा गुणस्तरीय शिक्षा मुख्य कारण रहेको उनको भनाइ छ ।
दाङबाट एमबिबिएस अध्ययनका लागि जुम्ला पुगेका अमय आचार्यले सुनेको भन्दा देखेको जुम्ला निकै फरक लागेको बताए । ‘जुम्लामा राम्रो बाटो छैन, भौगोलिक विकटता छ भन्ने मात्र सुनेका थियौँ,’ उनले भने, ‘तर, यहाँ चिकित्सा शिक्षा अध्ययनका लागि राम्रो वातावरण रहेछ । राज्यले लगानी गरे भाषा, साहित्य, सभ्यता, संस्कृति, जडीबुटी र प्राकृतिक सुन्दरताको अध्ययनका लागि समेत जुम्ला महत्वपूर्ण केन्द्र बन्न सक्छ ।’
लमजुङका विष्णुलाल श्रेष्ठले कर्णालीको विकटताभित्र लुकेका सम्भावना बुझेर आफ्नी छोरीलाई चिकित्सा शिक्षा पढाउन जुम्ला पठाएको बताए । विकटता मात्र नभई सम्भावना पनि छ भन्ने सन्देश दिन जुम्ला रोजेको उनको तर्क छ । भारतकी रेन्जु सिंहसहित धनुषाकी सूर्यकुमारी साह, धरानकी सुरक्षा श्रेष्ठ, कैलालीकी पूर्णिमा भट्टराई, गुल्मीकी पुष्पा भण्डारी, पोखराका विकास पोखरेल, अमरकुमार महतो, विकास सिंजाल, मधेशका राजकुमार मल्लमाझी, पोखराकी भूमिका गुरुङलगायत विभिन्न जिल्लाबाट विद्यार्थी अध्ययनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् । प्रतिष्ठानका शिक्षाध्यक्ष डा. डबलबहादुर धामीका अनुसार नयाँ शैक्षिक सत्रका लागि एमबिबिएसतर्फ ५० जना, नर्सिङतर्फ २० जना, बिएनएसतर्फ २० जना, बिपिएचतर्फ २० जना, बिएस्सी नर्सिङतर्फ २० जना र बिफार्मातर्फ २० जना गरी १३० विद्यार्थी भर्ना भएका छन् । गत वर्ष विभिन्न फ्याकल्टीमा १०४ विद्यार्थी भर्ना भएका थिए । तर, यस वर्ष थप १३० जना आएका हुन् । सीमित स्रोत–साधनका बिच पनि गुणस्तरीय शिक्षा दिन सकेकाले सुगम क्षेत्रका विद्यार्थीसमेत जुम्ला रोजेर आउने गरेका उनको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति डा. पूजन रोकायाले देशभरका विद्यार्थीले अध्ययनको गन्तव्यका रूपमा जुम्ला रोज्नु गौरवको विषय भएको बताए । प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पिछडिएको क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने महत्वपूर्ण संस्था भएको बताए । अध्ययनका लागि जुम्ला आएका विद्यार्थीको शान्ति–सुरक्षामा प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहने उनले बताए ।