पालिका र प्रदेश छाडेर संघीय संसद् ताकेका ३० मध्ये २२ जना पराजित

बुधबार, २७ फागुन, २०८२
डिजिटल संस्करण

२१ फागुनको निर्वाचनका लागि झन्डै साढे दुई वर्ष कार्यकाल बाँकी छँदै स्थानीय तहका एक दर्जनभन्दा बढी जनप्रतिनिधिले राजीनामा दिए । जितेर केन्द्र सरकारको सांसद बन्ने इच्छासहित पालिका र प्रदेशको छँदाखाँदाको पद छाडेका उनीहरू अहिले यता न उताका भएका छन् ।

चुनाव जितौँला भन्ने सोचमा चुनावमा होमिएका अधिकांशले पराजय व्यहोरेका छन् । पद छाडेर चुनाव हारेपछि उनीहरू चिन्तामा छन् । यसपटकको निर्वाचनमा स्थानीय तह छाडेर संघीय सांसद बन्ने आससहित १७ बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दिएका थिए । तर त्यसमध्ये तीनजना मात्रै सफल भए । १४ जनाले हार व्यहोर्नुप¥यो । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन, धरान उपमहानगरका मेयर हर्कराज राई र वीरगन्ज महानगरपालिकाका वडाध्यक्ष सुशील साह कानु मात्र विजयी भए । अन्य १४ उम्मेदवारको संघीय सांसद बन्ने सपना पूरा भएन ।

पालिका छाडेका जसले पराजय व्यहोरे 
भरतपुर महानगरकी प्रमुख रेनु दाहाल पनि मेयर पद छाडेर चुनावमा होमिएका थिइन् । चितवन ३ बाट उम्मेदवार बनेकी उनले पराजय भोग्नुप¥यो । रास्वपाकी सोविता गौतमले ५९ हजार २७७ मतसहित चुनाव जित्दा दाहालले २० हजार ६१५ मत प्राप्त गरिन् ।

पदबाट राजीनामा दिएका बाँकेको नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राई पनि पराजित भए । उपेन्द्र यादवको जसपा नेपालबाट बाँके २ मा उम्मेदवारी दिएका उनी पराजित भए । उनको क्षेत्रमा एमालेका मोहम्मद इस्तियाक राई २४ हजार ६१६ मतसहित निर्वाचित भए ।

धुलिखेलको मेयरबाट राजीनामा दिएर चुनाव लडेका अशोक ब्याञ्जू श्रेष्ठ पनि पराजित भए । काभ्रे २ मा एमालेका उम्मेदवार श्रेष्ठलाई रास्वपाका उम्मेदवारले हराए । रास्वपाका बदन भण्डारीले ५३ हजार ३४४ मत ल्याउँदा श्रेष्ठले १३ हजार ९४० मात्र मत प्राप्त गरे ।

एमालेबाट मोरङ २ मा उम्मेदवारी दिएका रंगेलीका पूर्वमेयर दिलीप अग्रवाल पनि पराजित भए । उनलाई रास्वपाका कृष्णकुमार कार्कीले ४० हजार ९२४ मतसहित पराजित गरे । अग्रवालले १५ हजार ६२४ मत ल्याए । नेकपाका उम्मेदवार रहेका सूर्योदयका पूर्वमेयर रणबहादुर राई इलाम १ मा पराजित भए । उनले सात हजार ७७५ मत ल्याउँदा कांग्रेसका निश्कल राई १४ हजार ५४३ मतसहित विजयी भए ।

नागरिक उन्मुक्ति पार्टी छाडेर नेकपामा प्रवेश गरेर कैलाली १ बाट चुनाव लडेका टीकापुर नगरपालिकाका पूर्वमेयर रामलाल डगौरा थारूको सांसद बन्ने यात्रामा पनि पूर्णविराम लाग्यो । रास्वपाकी कोमल ज्ञवालीले १७ हजार ८१२ मत प्राप्त गरी विजयी भइन् । डगौरा आठ हजार ३९२ मतमा खुम्चिए ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष पद छाडेर नेकपाबाट प्रतिनिधिसभा संसद बन्न दौडिएका असीम राईले पनि पराजय भोग्नुपरेको छ । उनलाई पछि पार्दै कांग्रेसका प्रकाशसिंह कार्की विजयी भए । कार्कीले १३ हजार १६६ र राईले नौ हजार ४१४ मत ल्याए ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष पद छाडेर उदयपुर २ मा स्वतन्त्र उम्मेदवारी दिएका मेजरकुमार राई पनि पराजित भएका छन् । उनले ९० मत मात्र ल्याए । रास्वपाका सूर्यबहादुर तामाङ १४ हजार ८०२ मतसहित निर्वाचित भए ।

ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा एमालेबाट उम्मेदवार बने पनि हार व्यहोर्नुप¥यो । उनले १० हजार ७२० मत ल्याउँदा रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित निर्वाचित भए । 
वीरगन्ज महानगरपालिका २० वडाध्यक्ष रामकिशोर सिंह पर्सा १ मा उज्यालो पार्टीबाट उम्मेदवार थिए । उनले ४१५ मत ल्याउँदा रास्वपाका बुद्धिबहादुर पन्त २७ हजार २७४ मतसहित निर्वाचित भए ।

धरान उपमहानगरपालिका १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई नेकपाबाट सुनसरी १ मा पराजित भए । उनी उम्मेदवार रहेको सुनसरी १ बाट श्रम संस्कृति पार्टीका हर्कराज राई ३५ हजार ७४१ मत ल्याएर विजयी भए । भट्टराईले ६ हजार १८५ मत ल्याए ।
भजनी नगरपालिका– ३ का वडाध्यक्ष विक्रम चौधरी पनि सांसद बन्ने दौडमा थिए । तर, उनीहरूको संघीय संसद् पुग्ने यात्रा भने सफल हुन सकेन । चौधरीले ६ हजार ७४७ मत ल्याउँदा रास्वपाका जगतप्रसाद जोशी २० हजार ३५९ मतसहित निर्वाचित भए । 
दुईपटक स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष बनेका खिमबहादुर थापाको पनि माननीय बन्ने यात्रामा पूर्णविराम लाग्यो । एमालेबाट स्याङ्जा २ मा उम्मेदवार बनेका उनले पनि हारे व्यहोरे । रास्वपाका झबिलाल डुम्रे २५ हजार ३५४ मतसहित निर्वाचित हुँदा थापा १४ हजार १०८ मतमा सीमित भए । 

पालिका छाडेर चुनाव लडेका जसले चुनाव जिते 
स्थानीय तहको कार्यकाल छँदै छाडेर प्रतिनिधिसभा निर्वाचनमा होमिएका केही उम्मेदवार भने विजयी भएका छन् । काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएर चुनाव लडेका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित भए । उनले एमाले अध्यक्ष तथा चारपटक प्रधानमन्त्री भइसकेका केपी ओलीलाई भारी मतान्तरले पराजित गरे । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि चुनाव जितेका छन् । पालिका छाडेर श्रम संस्कृति पार्टी खोलेका उनी धरान १ बाट ३५ हजार ७४१ मत ल्याएर प्रतिनिधिसभा सदस्य निर्वाचित भए । वडाध्यक्ष पद त्यागेर चुनावमा लडेका वीरगन्ज महानगर– १० का वडाध्यक्ष सुशीलकुमार साह पनि निर्वाचित भए । उनी ३० हजार ७४० मत ल्याएर पर्सा २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

 
पूर्वप्रदेश सांसद : कसैको जमानत खोसियो, कसैको पद 
प्रदेश सांसद छाडेर प्रतिनिधिसभा सांसद बन्ने दाउमा निर्वाचनमा होमिएका पूर्वसांसदमध्ये अधिकांशले हार व्यहोरेका छन् । अझ उम्मेदवारी दिएकामध्ये केहीको त जमानत नै जफत भएको छ । जमानत जफत हुनेमा मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि छन् । न्यून मत ल्याएपछि उनको जमानत नै जफत भएको छ । स्वाभिमान पार्टीबाट उम्मेदवार बनेका उनले जम्मा तीन हजार ५५७ मत पाए । उनको क्षेत्र सप्तरी २ मा रास्वपाका रामजी यादव २८ हजार ४०४ मत ल्याई विजयी भएका छन् ।

बाँकेकी प्रदेश सांसद कृष्णा केसी पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेकी थिइन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएकी उनले एक हजार २४० मत प्राप्त गर्दा रास्वपाका सुरेशकुमार चौधरी निर्वाचित भए । 
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका धर्मबहादुर चौधरी बर्दिया २ (२) मा सांसद थिए । नागरिक उन्मुक्ति पार्टीबाट सांसद भएका उनी पद छाडेर उज्यालो नेपाल पार्टीबाट बर्दिया २ मा उम्मेदवार बनेका थिए । तर जम्मा चार हजार ४७२ मत प्राप्त गरे भने रास्वपाका श्रीधर पोख्रेलले २९ हजार ६७८ मत ल्याएर जिते ।

नेकपाबाट महोत्तरी ४ बाट प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिएका भरतप्रसाद साह पनि पराजित भएका छन् । पूर्वसांसद उनले पाँच हजार ३३६ मत ल्याउँदा रास्वपाकी गौरीकुमारीले ३० हजार मतसहित निर्वाचन जितिन् । 
मधेश प्रदेशकै पूर्वसभामुख रामचन्द्र मण्डलले पनि संघीय सांसद बन्ने दाउमा धनुषा १ बाट उम्मेदवारी दिएका थिए । नौ हजार ३१५ मत ल्याएका उनी रास्वपाका मातृका यादवबाट पराजित भए । यादव १० हजार ४०३ मत ल्याएर विजयी भए । 
प्रदेश सांसद त्यागेर राप्रपाबाट प्रतिनिधिसभा निर्वाचनमा उमेदवार बनेका राप्रपाका भक्तिप्रसाद सिटौला पनि पराजित भएका छन् । उनले दुई हजार ८० मत ल्याउँदा रास्वपाका शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मत ल्याएर निर्वाचित भएका छन् । 

बागमतीमा पाँचमध्ये तीनजना पराजित
प्रदेश सभा सदस्य पदबाट राजीनामा दिँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका बागमती प्रदेशका पाँच नेतामध्ये तीनजनाले लज्जास्पद हार व्यहोरेका छन् । प्रदेशको राजनीति छाडेर संघीय संसद् पुग्ने आकांक्षासहित मैदानमा उत्रिएका उनीहरू मतदाताबाट अपेक्षित समर्थन जुटाउन असफल हुँदा संघीय यात्रामा ‘ब्रेक’ लागेको छ । दुईजनाको जमानत नै जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि गत ५ माघमा कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, नेकपाका वसन्त मानन्धर र युवराज दुलाल तथा राप्रपाका सुनील केसीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए । तीमध्ये पाँचजनाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका थिए ।

उम्मेदवार बनेकामध्ये एमालेका दुई र नेकपाका एक उम्मेदवार पराजित भएका छन् । एमालेबाट काठमाडौं ६ का उम्मेदवार मास्के र काठमाडौं ७ का उम्मेदवार प्रकाश श्रेष्ठ तथा काठमाडौं ७ बाटै उम्मेदवार बनेका नेकपाका मानन्धर पराजित भएका हुन् । प्रकाश र वसन्तको जमानत नै जफत भएको छ ।

वसन्त र प्रकाशले कुल खसेको मतमा सदर मतको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि उनीहरूको जनमान जफत भएको हो । काठमाडौं ७ मा कुल मतदाता संख्या ६८ हजार ६८५ रहेकोमा ४४ हजार ८५७ मत खसेको थियो । यो क्षेत्रमा ४४ हजार ०५२ मत सदर भएको थियो भने ८०५ मत बदर भएको छ । उम्मेदवारले जमानत जोगाउन कुल सदर मतमध्ये १० प्रतिशत ल्याउनै पर्ने व्यवस्था भए पनि नेकपाका मानन्धर र एमालेका श्रेष्ठले क्रमशः तीन हजार ६६७ र तीन हजार ५४४ मत मात्रै प्राप्त गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २७ हजार ८०५ मत प्राप्त गर्दै विजयी भए ।

दुलाल र केसी संघीय सांसद बन्न सफल
बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका सुनील केसी र युवराज दुलाल भने निर्वाचित भएका छन् । राप्रपाबाट प्रदेश सांसद रहेका केसी राजीनामा दिएर रास्वपाबाट काठमाडौं २ मा उम्मेदवार बनेका थिए । उनी यस क्षेत्रबाट अत्यधिक मतसहित निर्वाचित भएका छन् । केसीले ३४ हजार २३८ मत प्राप्त गर्दै संघीय संसद्को यात्रा तय गरेका छन् । नेकपाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका दुलाल पनि निर्वाचित भएका छन् । उनी सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए । उनले संघीय संसद्को यात्राका क्रममा २१ हजार ६९९ मत प्राप्त गर्दै जित निकालेका हुन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चाहनाका साथ प्रदेश सदस्यबाट राजीनामा दिएका कांग्रेसका कुन्दनराज काफ्लेले भने टिकट नपाएपछि उनको संघीय संसद्को यात्रा भने यसअघि नै टुंगिसकेको थियो ।

मधेश प्रदेश सांसद त्यागेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका रहबर अन्सारी निर्वाचित भएका छन् । तत्कालीन माओवादीबाट मधेश प्रदेश सांसद बनेका उनी रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवार बनेका थिए । उनले ४१ हजार २०० मतसहित जित हात पारे । 

लुम्बिनीका एक सांसद प्रतिनिधिसभातिर 
लुम्बिनीका पूर्वप्रदेश सभा सदस्य कन्हैया बानियाँ रुपन्देही ४ (१) बाट निर्वाचित भएका थिए । प्रदेश सांसद पद छाडेर उम्मेदवार बनेका उनी रास्वपामा प्रवेश गर्दै उम्मेदवार दिएका थिए । उनी २८ हजार ६६ मतसहित निर्वाचित भए ।

सुझावित समाचार