देशभर रास्वपा बलियो देखिँदा कर्णालीमा कमजोर देखिएको छ । कर्णालीका १० जिल्लाका १२ निर्वाचन क्षेत्रमध्ये एउटा निर्वाचन क्षेत्रमा रास्वपा विजयी भएको छ । अन्य निर्वाचन क्षेत्रमा पुराना दल नै बलियो देखिएका छन् । सार्वजनिक मतपरिणामअनुसार ११ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेस चार निर्वाचन क्षेत्रमा, नेपाली कम्युनिस्ट पार्टीले चार निर्वाचन क्षेत्रमा विजयी भएको छ। नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपा समान एक–एक निर्वाचन क्षेत्रमा विजयी भएका छन् । मुगु जिल्लामा मतगणना कार्य जारी छ, त्यहाँ कांग्रेस उम्मेदवार अगाडि रहेका छन्।
हालसम्म मतपरिणाम सार्वजनिक भएका ११ निर्वाचन क्षेत्रमध्ये हुम्ला, दैलेख १, जाजरकोट र सुर्खेत १ मा कांग्रेसले जित हात पारेको छ भने नेकपाले रुकुम पश्चिम, सल्यान, कालीकोट र डोल्पामा जितेको छ । यस्तै रास्वपाले सुर्खेत २, राप्रपाले जुम्लामा र एमालेले दैलेख २ विजयी भएको छ । यद्यपि, प्रत्यक्षमा रास्वपाले एउटा सिट जिते पनि समानुपातिक मतमा अगाडि देखिएको छ । जारी समानुपातिक मतगणनाअनुसार विगतका ठुला दलभन्दा सबैभन्दा बढी मत पाएको छ ।
जसमा पहिलो कारण यहाँका मतदातासँग पुराना दलहरूको लामो राजनीतिक सम्बन्ध र संगठनात्मक आधार बलियो छ भने गाउँगाउँसम्म पार्टीका संरचना, कार्यकर्ता र स्थानीय नेतृत्वको उपस्थितिले मतदातामा प्रभाव पार्ने गरेको छ । दोस्रो कारणमा उम्मेदवारको स्थानीय पहिचान र पहुँच पनि निर्णायक बनेको देखिन्छ। कर्णालीका धेरै मतदाताले आफ्नो क्षेत्रमा लामो समयदेखि सक्रिय र परिचित उम्मेदवारलाई प्राथमिकता दिएको बताइन्छ ।
कर्णालीका धेरै स्थानमा नयाँ दलको संगठन कमजोर रहेको कारणले पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सहरी क्षेत्रमा प्रभाव देखाए पनि दुर्गम र ग्रामीण क्षेत्रमा संगठन विस्तार गर्न पर्याप्त समय नपाएको रास्वपा कर्णाली प्रदेश सभापति मदन खड्काले बताए। ‘तर, आगामी दिनमा पार्टी संगठन बलियो बनाउने र अर्को निर्वाचनमा रास्वपामय कर्णाली बनाउने योजना रहेको छ,’ उनले भने, ‘यसपटक समानुपातिकमा हामी कर्णालीबाट पहिलो दल नै बन्छौँ ।’
निर्वाचनको समयमा पुराना दलका उम्मेदवारले स्थानीय मुद्दा, विकासका योजना र व्यक्तिगत सम्पर्कलाई प्राथमिकता दिँदा मतदातामा पनि पुराना दलप्रति विश्वास कायम रहेको मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकालले बताए । ‘रास्वपाले राष्ट्रियस्तरमा चर्चा पाए कर्णालीजस्ता दुर्गम प्रदेशमा संगठन निर्माण, स्थानीय नेतृत्व विकास र जनतासँग निरन्तर सम्पर्क विस्तार गर्नुपर्ने चुनौती रह्यो,’ उनले भने, ‘देशभरको जुन जनमत निर्माण हुँदै थियो । त्यो कुरा कर्णालीले बुझ्न नसकेको पनि हुन सक्छ ।’