काठमाडौं उपत्यकाका १५ वटा क्षेत्रमा रास्वपाले क्लिन स्विप गरेको छ । ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीले देशभरबाट प्रत्यक्षमै १२० सिट ल्याउँदा पनि काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह र भक्तपुर १ मा नेमकिपाका नारायणमान बिजुक्छे निर्वाचित भएका थिए । तर, यसपटक भने १५ वटै क्षेत्रमा विरासत मात्र ढलेन, भक्तपुर १ मा नेमकिपाको गढसमेत भत्केको छ ।
१० क्षेत्र रहेको काठमाडौंमा १ बाट रञ्जु दर्शना (न्यौपाने), २ बाट सुनील केसी, ३ बाट राजुनाथ पाण्डे, ४ बाट पुकार बम, ५ बाट सस्मित पोखरेल, ६ बाट शिशिर खनाल, ७ बाट गणेश पराजुली, ८ बाट विराजभक्त श्रेष्ठ, ९ बाट डोलप्रसाद अर्याल र १० बाट प्रदीप विष्ट निर्वाचित भएका छन् । खनाल, पराजुली र श्रेष्ठ यसअघि ०७९ मा पनि सांसद बनेका थिए । अर्याल अघिल्लोपटक समानुपातिकबाट सांसद बनेका थिए । दर्शना, केसी, पाण्डे, बम, पोखरेल र विष्टको पहिलो संसद् यात्रा हो ।
०७९ को चुनावमा काठमाडौंका १० मध्ये १, ३, ४, ५ र १० मा कांग्रेस विजयी भएको थियो भने रास्वपाले २, ६, ७ र ८ मा जित निकालेको थियो । ९ मा एमाले विजयी भएको थियो ।
त्यस्तै, ललितपुर १ मा बुद्धरत्न महर्जन, २ मा जगदीश खरेल र ३ मा तोसिमा कार्की विजयी भएका छन् । ०७९ मा ललितपुरमा १ मा कांग्रेस, २ मा एमाले र ३ मा रास्वपा विजयी भएका थिए ।
यसैगरी, नेमकिपाको गढ मानिएको भक्तपुर १ मा पनि रुकेश रञ्जितले जितेका छन् । भक्तपुर २ मा रास्वपाका राजीव खत्री विजयी भए । ०७९ मा भक्तपुर १ मा नेमकिपाले जित्दा २ मा एमाले विजयी भएको थियो ।
राजनीतिक विश्लेषक राधेश्याम अधिकारीले यसपटकको चुनावी परिमाणलाई सुनामीका रूपमा लिन सकिने बताए । ‘यसलाई सामान्य निर्वाचन भन्न मिल्दैन, यो सुनामी नै हो, सामान्य अवस्थामा नभएको असाधारण चुनावले नेमकिपाले हालसम्म नहारेको भक्तपुर १ पनि खोसिएको छ,’ उनले भने, ‘यो चुनावको परिणामबारे राजनीतिक दल र विज्ञहरू फेल खाए, जनताको भावना तथा आशा दलले बुझ्न नसकेको कुरा यहीँबाट प्रस्ट हुन्छ, किनकि यस्तो परिणाम आउला भनेर कसैले सोच्न सकेका थिएनन् ।’
०७० यताका नतिजा यस्तो
०६४ को चुनावमा काठमाडौं उपत्यकामा एउटा मात्र सिट जितेको कांग्रेसले ०७० मा भने सानदार प्रदर्शन गरे भने एमालेले पनि कमब्याक गर्यो । तर, माओवादी निल भयो ।
०७० मा कांग्रेसले काठमाडौं १, ४, ५, ६, ८, ९ र १०, ललितपुरका तीनवटै क्षेत्र र भक्तपुर २ मा जित निकालेको थियो । एमालेले भने काठमाडौं २, ३ र ७ मा जित निकालेको थियो । भक्तपुर १ मा भने नेमकिपा नै विजयी भयो । त्यतिखेर काठमाडौं १ मा कांग्रेसका प्रकाशमान सिंह, २ मा एमालेका माधवकुमार नेपाल, ३ मा एमालेका रामेश्वर फुयाँल, ४ मा कांग्रेसका गगन थापा, ५ मा कांग्रेसका नरहरि आचार्य, ६ मा कांग्रेसका भीमसेनदास प्रधान, ७ मा एमालेका रामवीर मानन्धर, काठमाडौंमा कांग्रेसका नवीन्द्रराज जोशी, ९ मा कांग्रेसकै ध्यानगोविन्द रञ्जित र १० मा कांग्रेसका राजेन्द्रकुमार केसी विजयी भएका थिए ।
त्यस्तै, भक्तपुर १ मा नेमकिपाका नारायणमान बिजुक्छे र भक्तपुर २ मा कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल विजयी भएका थिए ।
ललितपुरमा तीन क्षेत्रमा कांग्रेस क्रमश: १ बाट उदयशमशेर राणा, २ बाट चन्द्र महर्जन र ३ बाट मदनबहादुर अमात्य विजयी भएका थिए ।
०७४ मा एमाले र माओवादीबिच वाम गठबन्धन हुँदा पनि कांग्रेस चार सिटमा खुम्चिएको थियो । एमालेले नौ तथा माओवादी र नेमकिपाले एक–एक सिट जितेका थिए ।