कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ। कैलाली क्षेत्र नम्बर ५ मा रास्वपाका आनन्दबहादुर चन्दले सुरुदेखि नै फराकिलो मतान्तरसहित अग्रता लिएका छन्।
यो क्षेत्रमा अहिलेसम्म गणना भएर सदर १८ हजार ५२१ मतमध्ये चन्दले नौ हजार ४५७ मत पाएका छन्। नेपाली कांग्रेसका नरनारायण शाह तीन हजार ५६८ मतसहित दोस्रो स्थानमा छन्।
नेपाली कम्युनिस्ट पार्टीका प्रेमबहादुर आले दुई हजार २४६ मतसहित तेस्रो र नेकपा एमालेका यज्ञराज ढुंगाना दुई हजार १५३ मतसहित चौथो स्थानमा छन्। क्षेत्र नम्बर ४ मा पनि रास्वपाका खेमराज कोइराला सुरुदेखि नै फराकिलो मतान्तरले आगाडि छन्।
पछिल्लो मत परिणामअनुसार कोइरालाले दुई हजार ७९५ मत ल्याउँदा कांग्रेसका गोरखबहादुर विष्ट एक हजार २४ मतसहित दोस्रो स्थानमा छन्। क्षेत्र नम्बर ४ मा एमालेका उपमहासचिव लेखराज भट्ट ९९८ मत पाएर तेस्रो र नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरी ३११ मत पाएर चौथो स्थानमा छन्।
क्षेत्र नम्बर ३ मा सुरुदेखि अग्रता लिएका नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरीलाई पछि पार्दै रास्वपाका जगतप्रसाद जोशीले अहिले अग्रता लिएका छन्। १४ हजार ५०२ मत गणना हुँदा जोशीले तीन हजार ८९६ र चौधरीले तीन हजार ४५५ मत पाएका छन्।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले दुई हजार ६६६, कांग्रेसका भीमबहादुर बडुवालले एक हजार ७२५ र एमालेका गौरीशंकर चौधरीले एक हजार ३९५ मत पाएका छन्।
कैलाली २ मा रोचक प्रतिस्पर्धा हुँदै छ। सुरुमा नेपाली कम्युनिस्ट पार्टीले अग्रता लिएको यो क्षेत्रमा त्यसपछि एमाले र अहिले रास्वपाले अग्रता लिएको छ।
रास्वपाका केपी खनालले एक हजार ७७९, एमालेका सूर्यबहादुर थापाले एक हजार ५३०, कांग्रेसका विजयबहादुर स्वाँरले एक हजार २०९ र नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले एक हजार ७२ मत पाएका छन्।
क्षेत्र नम्बर १ मा २० हजार ४१६ मत गणना हुँदा रास्वपाका कोमल ज्ञवालीले ६ हजार ४६५ मत पाएकी छिन्। त्यस्तै, कांग्रेसका जनकराज चौधरीले चार हजार ४०९, नेकपाका रामलाल डगौरा थारूले तीन हजार १०३ र एमालेका द्वारिकाप्रसाद न्यौपानेले दुई हजार १९ मत पाएका छन्।