८६ वर्षीय सत्यराम खड्का हिँड्दै बिहीबार बिहानै डिल्लीबजारस्थित विजय स्मारक माविमा रहेको मतदान केन्द्र पुगे । नाति पुस्ताका कुरा सुनेर मतदान गरेको उनले सुनाए । ‘यतिका वर्ष मैले मतदान गरेँ, हुन पनि वृद्धभत्ता आइरहेको छ । तर, म बिरामी पर्दा अस्पताल लैजाने र म मर्दा मलामी जाने छोराछोरी यहीँ बसून् भन्न चाहन्छु, त्यसैले मैले नातिको कुरा सुनेर मतदान गरे,’ खड्काले भने, ‘बुढेसकालमा छोराछोरी विदेश पठाएर बुढाबुढी एक्लै हुनुको पीडा अब बन्ने सरकारले बुझोस्, छोरानातीलाई यही बस्ने स्थिति बनोस् ।’
मतदान केन्द्रमा आउने मतदाता उत्साहित देखिन्थे । बिहानैदेखि लामबद्ध मतदाता आफ्नो कर्तव्य ठान्दै मत दिन व्यस्त थिए । लामो लाइन र टाढाटाढाबाट धाएर मत दिएका उनीहरूको एउटै स्वर थियो– अब देशमा सुशासन आउनुपर्छ, युवालाई अवसरका ढोका खुल्नेछन् ।
डिल्लीबजारस्थित विजय स्मारक स्कुलमा मतदान गर्न आएकी दिया मैनालीले आफूले सुशासन र परिवर्तनको पक्षमा मतदान गरेको सुनाइन् । ‘मैले पहिलोपटक भोट हालेकी छु, उहाँहरूको घोषणापत्र जे थियो, त्यहीअनुसार काम भइदिए हुन्थ्यो भन्ने लागेको छ,’ उनले भनिन्, परिवर्तनका लागि मत दिएकी हुँ ।’ सोही ठाउँमा भेटिएका पुष्कर बस्नेतले आफ्नो मतको सदुपयोग हुनेपर्ने बताए । ‘अब जो आए पनि हाम्रो मतको सदुपयोग हुनुपर्यो, देशमा विकास गर्नुपर्यो,’ उनले भने, ‘नागरिकको हिसाबले मैले मत दिएको छु, देशमा शान्ति सुशासन होस्, विदेशमा रोजगारका लागि जान नपरोस् ।’
बौद्ध महांकालस्थित जनकल्याण माविमा मतदान गर्न पुगेका कुबेर लामाले पनि आफ्नो मतको कदर बन्ने सरकारले गर्नुपर्ने बताए । ‘हाम्रो मत खेर नजाओस् हामीले मत दिएर पठाएका व्यक्तिले आफ्नो कतव्र्य नविर्सिउन, आफ्ना घोषणापत्रमा रहेर काम गरोस्, मुख्य त जेनजी आन्दोलनका घाइते र मृतकका परिवारलाई हेरेर काम गरोस्,’ उनले भने, ‘जेनजी आन्दोलन सुशासनका लागि थियो, सोही आन्दोलनमा त्यतिधेरै कलिला नानीबाबुहरूको ज्यान गयो, सहिदहरूलाई भुल्ने काम नहोस् ।’
सातदोबाटोस्थित महेन्द्र आदर्श माविमा मत खसालेका राजु थापाले पनि आफ्नो मतले देशलाई सुशासन दिनुपर्ने बताए । ‘अब त सुशासन आउँछजस्तो लाग्छ, किनभने कलिला बालबालिकाले बलिदान दिएर चुनाव भयो, अब बन्ने सरकारले भ्रष्टाचार अन्त्य गर्ने गरी काम गरोस्,’ उनले भने, ‘विगतमा जसरी भ्रष्टाचार गरेर आमजनतालाई दु:ख दिने र देशलाई नै गतल बाटोतर्फ लैजाने काम गरोस् ।’
नयाँबानेश्वरस्थित सहकारी विभागमा रहेको मतदान केन्द्रमा मत खसालेका सन्तोष नेपालले पनि अब बन्ने सरकारले जेन–जी आन्दोलनको बलिदानलाई ख्याल गर्नुपर्ने बताए । ‘म मतदान गर्नका लागि विदेशबाट आएको हुँ, तर मैले दिएको मत भोलि खेर नजाओस् मैले मत दिन जति महत्वपूर्ण ठानेँ भोलि सरकारमा जानेहरूले पनि आफ्नो दायित्व त्यत्तिकै महत्वपूर्ण ठानून्,’ उनले भने, ‘तर राज्यशक्ति दुरुपयोग गर्ने, युवाहरूको चाहना नबुझ्ने र भ्रष्टाचार गर्ने कार्य नगरून् ।’
रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा काठमाडौं उपत्यकामा रहेका ९ लाख २० हजार मानिस जिल्ला पुगेका थिए । ‘म विद्यार्थी हुँ, काठमाडौंमा होस्टेलमा बसेर पढ्दै आइरहेको थिएँ, तर मतदान गर्नुपर्छ भन्ने आफ्नो कर्तव्य ठानेर कपिलवस्तु पुगेको छ,’ कपिलवस्तुस्थित चन्द्रौटामा मतदान गरेका आशिष अधिकारीले भने ।
सहिद परिवारको आशा : अब आउने सरकारले हामीलाई न्याय दिनेछ
जेन–जी आन्दोलनमा गोली लागेर नयाँबानेश्वरमा ज्यान गुमाएका २२ वर्षीय रसिक खतिवडाकी आमा रचना खतिवडाले बिहीबार मन भारी बनाउँदै काभ्रे १ स्थित बाल आदर्श मावि मतदान गरेकी छिन् । जेन–जी आन्दोलनमा विलिन भएका रसिकलाई सम्झँदै उनी भक्कानिइन् । ‘मेरो छोरा सुशासन माग्न सडकमा गएको थियो, त्यहीँ गोली हानियोे, छोराको मृत्युपछि घायल बनेर बाँच्नुपरेको छ, अब आउने सरकारले हामीलाई न्याय देओस्, जबसम्म न्याय पाउँदैनौँ हामी सहिदका परिवार अन्तिमसम्म लड्छौँ,’ उनले भनिन्, ‘हामीले अरू माग गरेका छैनौँ, सहिदलाई न्याय दिनुपर्छ भन्ने हो, हाम्रो छोराछोरीलाई गोली हानेर मार्नेलाई कारबाही होस्, अनि बल्ल हामीले न्याय पाउनेछौँ ।’ ४५ जना सहिहको सपना सरकारले पूरा गर्नुपर्ने उनले बताइन् ।
जेन–जी आन्दोलनमा गोली लागेर ज्यान गुमाएका श्रीयम चौलागाईंका बुबा गणेश चौलागाईंले अब बन्ने सरकारले सहिदको बलिदानलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । ‘७७ जनाको रगत बगेर यो निर्वाचनको अवस्था आएको हो, अब आउने सरकारले सहिदको बलिदान खेर जान दिनुहुँदैन, सहिदको परिवारलाई थप सहिद बनाउने काम नगरोस्,’ उनले भने, ‘सहिदको परिवारको समस्या हल गरोस्, उनीहरूको आर्थिक अवस्था बुझोस् ।’
जेन–जी आन्दोलनका घाइते भन्छन्, घाइतेसँगको १० बुँदे सहमति कार्यान्वयन होस्
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहराले दैलेखको सरस्वती मावि मतदान केन्द्रमा मतदान गरे । जेन–जी आन्दोलनमा रगत लतपतिएको उनको जुत्ता भाइरल बनेको थियो । पाँच महिना ट्रमा सेन्टरमा उपचार गराएर दैलेखमा मतदान गरेका प्रकाशले आफ्नो मतदान प्रयोग गर्दै अब बन्ने सरकारले जेन–जी आन्दोलनको मर्मलाई बुझेर काम गर्नुपर्ने सुझाब दिए । ‘मतदान गर्नु मेरो अधिकार हो, तर यो मतदानलाई मैले अधिकारभन्दा पनि फरक रूपमा लिएको छु, त्यति ठुलो जेन–जी आन्दोलन भयो, धेरैले बलिदान दिनुभयो, सयौँ घाइते हुनुभयो, त्यसैले अहिलेको निर्वाचनको अर्थ छ, मेरो भोट परिवर्तनको पक्षमा हो,’ उनले भने, ‘अब देशले छिट्टै नै नेतृत्व र निकास पाउनुपर्छ, राजपत्रमा प्रकाशन भएका जेन–जीका १० बुँदे सहमति कार्यान्वयन सरकारले गर्नुपर्छ, विगतको सरकारभन्दा निकै उत्तरदायी हुनुपर्छ ।’ उनले जेन–जी आन्दोलनमा घाइते भएकालाई अब बन्ने सरकारले बुझ्नुपर्ने बताउँदै जेनजी आन्दोलनको महत्वलाई ख्याल गरेर काम गर्नुपर्ने औल्याए ।
जेन–जी आन्दोलनका घाइते मुकेश अवस्थीको एउटा खुट्टा नै गुमेका छ । उनले पनि अब बन्ने सरकारले घाइतेसँग यसअघि भएका सहमतीको कार्यान्वयन गर्नुपर्ने बताए । ‘जेन–जी आन्दोलनमा अति गम्भीर घाइते हुनुभएकाको जीविकोपार्जन गर्न कठिन छ, कतिपयको अझै उपचार गर्नुपर्छ, रोगजारको समस्या छ,’ उनले भने, ‘त्यसबारेमा पनि सरकारले चासो दिएर काम गरोस्, यसअघिको १० बुँदे सहमति अक्षरश: पालना गरोस् ।’
उपत्यकाका तीनवटै जिल्लामा खस्यो उत्साहजनक मत
उपत्यकाका तीनवटै जिल्लामा उत्साहजनक मत खसेको छ । १० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा ६७.१ प्रतिशत, तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा ६८.३३ र दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरमा ७० प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचन कार्यालय ललितपुरका प्रमुख गोमा धमलाका अनुसार ललितपुर १ मा ५२ हजार ६३२ मत, २ मा ६१ हजार ९७५ मत र ३ मा ६९ हजार ३९१ म्त खसेको छ । ललितपुरको मतगणनाका लागि ललितपुर–१ को गोदावरी नगरपालिकामा, २ को सातदोबाटोमा नार्क भवनमा र ३ को जावलाखेल स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानलाई मतगणना स्थल बनाइएको छ ।
दुईवटा चुनावी क्षेत्र रहेको भक्तपुरमा ७० प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर १ मा ७६ हजार ५ सय र २ मा ७० हजार मत खसेको भक्तपुरका मुख्य निर्वाचन अधिकृत नवराज दाहालले बताए ।
काठमाडौं १ को मतगणना नयाँबानेश्वरस्थित सहकारी विभागको कार्यालय, २ को कागेश्वर मनोहरा नगरपालिका, ३ को चामुण्डा मावि नारायणटार, ४ को बुढानीलकण्ठ नगरपालिका २ ज्येष्ठ नागरिक कार्यालय, ५ को टोखास्थित श्रीसमाज भवन, ६ को तार्केश्वर नगरपालिका धर्मस्थली, ७ को जुडो हल नयाँबजार, ८ को जनउद्धार मावि हरिसिद्धी, ९ को चन्द्रागिरिनगरपालिका, बलम्बु र १० को त्रिभुवन विश्वविद्यालय स्मृति भवन कीर्तिपुरमा हुनेछ ।