सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा कुल मतदाताको ५०.९ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार प्रदेशभरि १७ लाख १६ हजार ६६० मतदातामध्ये आठ लाख ७४ हजार १७७ जनाले मतदान गरेका छन् । सबैभन्दा बढी कञ्चनपुरमा ५८.६ प्रतिशत मतदाताले मतदान गरेका छन् । कञ्चनपुरमा तीनवटै निर्वाचन क्षेत्रमा तीन लाख १४ हजार ३८५ मतदातामध्ये एक लाख ८४ हजार ३१६ जनाले मतदान गरेका छन् ।
त्यस्तै अछाममा सबैभन्दा कम ३९.२ प्रतिशत मतदान भएको छ । सुदूरपश्चिमका सात पहाडी जिल्लामध्ये अछाममा मात्र दुई वटा निर्वाचन क्षेत्र छन् । अछाममा एक लाख ६५ हजार ३३७ मतदाता रहेकोमा ६४ हजार ७८० जनाले मतदान गरेका छन् ।
कैलालीमा ५५.४ प्रतिशतले मतदाता मतदानमा सहभागी भएका छन् । प्रदेश निर्वाचन कार्यालयको विवरणअनुसार कैलालीमा पाँच लाख ५१ हजार ५२ मतददाता रहेकोमा तीन लाख पाँच हजार १२२ जनाले मतदान गरेका छन् । कैललाीमा सुदूरपश्चिमका नौ जिल्लामध्ये सबैभन्दा बढी पाँचवटा निर्वाचन क्षेत्र रहेका छन् ।
डोटीमा एक लाख २८ हजार ३९९ मतदातामध्ये ५२ हजार ४८५, बाजुरामा ८७ हजार ८१६ मतदातामध्ये ४६ हजार २३२ र बझाङमा एक लाख २६ हजार ९०३ मतदातामध्ये ५२ हजार २१७ जना निर्वाचनमा सहभागी भएका छन् । यी जिल्लाको मतदान प्रतिशत क्रमशः ४०.९, ५२.६ र ४१.१ प्रतिशत छ ।
त्यस्तै बैतडीमा ४६.८ प्रतिशत, दार्चुलामा ५३.८ प्रतिशत र डडेल्धुरामा ४९.२ प्रतिशत मतदान भएको कार्यालयले जनाएको छ । एक लाख ५६ हजार ३७२ मतदाता रहेको बैतडीमा ७३ हजार १४८ जनाले मतदान गरेका छन् । त्यस्तै दार्चुलामा ९२ हजार ९४८ मतदाता रहेकोमा ४९ हजार ९६८ र डडेल्धुरामा ९३ हजार ४०३ मतदाता रहेकोमा ४५ हजार ९०९ जनाले मतदान गरेका छन ।