अरू वेलाभन्दा आज तीन गुणा बढी पेट्रोल वितरण, तैपनि पम्पमा सुरु भइसक्यो लाइन

मंगलबार, १९ फागुन, २०८२
डिजिटल संस्करण

सामान्य अवस्थाको तुलनामा आज मंगलबार आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोट डिपोले तीन गुणा बढी पेट्रोल वितरण गर्दै छ, तैपनि दिउँसो १२ बजेदेखि नै पेट्रोल पम्पमा उपभोक्ताको लाइन बाक्लिएको छ ।

अरू वेला काठमाडौं उपत्यकामा दैनिक औसत ६ लाख लिटर पेट्रोल खपत हुने गरेको छ । आज भने थानकोट डिपोले १६ लाख ७५ हजार लिटर पेट्रोल माग भएकाले सोहीअनुसार वितरण गर्न थालेको थानकोट डिपो प्रमुख जगदीश यादवले जानकारी दिए । ‘बिहानै डिपो खोलेर पेट्रोल, डिजेल वितरण थालेका छौँ । आज १६ लाख ७५ हजार लिटर पेट्रोलको माग छ,’ उनले भने, ‘त्यसमध्ये दिउँसो एक बजेसम्म ६ लाख लिटर पेट्रोल डिपोबाट चलानी भइसक्यो । साँझसम्म माग भएअनुसार सबै इन्धन वितरण हुन्छ ।’

त्यस्तै, डिजेल पनि एक लाख ९४ हजार लिटर बिक्री गर्न लागेको उनले जानकारी दिए । अरू वेला डिजेलको दैनिक औसत खपत सात लाख लिटर हो । चुनावी चहलपहल र उपत्यकाबाट बाहिरिने सवारीसाधनको कारण खपत बढेको डिपो प्रमुख यादवको बुझाइ छ । उनले पनि दिउँसो १२ बजेपछि पेट्रोल पम्पमा लाइन बढ्न थालेको रिपाेर्टिङ प्राप्त भएको बताए ।

‘काठमाडौंबाट कुलेखानी हुँदै बाहिरिने नाका क्षेत्रका पम्पमा लाइन लागेको जानकारी प्राप्त भएको छ । त्यस्तै, बिपी र अरनिको राजमार्ग हुँदै बाहिरिने भक्तपुर र बनेपाका पम्पमा पनि उपभोक्ताको लाइन रहेको जानकारी प्राप्त भएको छ,’ उनले भने । काठमाडौंको साझा सहकारी, आर्मी र प्रहरीका पम्पमा समेत लाइन बाक्लिएको छ ।

मंगलबार दिउँसो १ बजे भद्रकालीस्थित आर्मीको रिपुमर्दिनी पेट्रोल स्टेसनमा सवारीसाधनको लाइन बाक्लिएपछि सडक खुलाउन ट्राफिक प्रहरी नै खटिएका छन् । ड्युटीमा खटिएका ती ट्राफिक प्रहरीले दिउँसो १२ बजेदेखि लाइन सुरु भएर बाक्लिएको जानकारी दिए । ललितपुरको पुल्चोकस्थित साझा सहकारीबाट सञ्चालित पेट्रोल पम्पमा पनि एक सय मिटरभन्दा टाढासम्म कार, मोटरसाइकलको लाइन लागिसकेको छ । आयल निगमले मागअनुसार इन्धन वितरण भइरहेकाले नअत्तालिन उपभोक्तालाई आग्रह गरिरहेको छ ।

निगमले आइतबार पनि उपत्यकामा १६ लाख ५० हजार र सोमबार १३ लाख ३९ हजार लिटर वितरण गरेको जनाएको छ । जुन सामान्य अवस्थाको मागको तुलनामा दोब्बर बढी हो ।
 

सुझावित समाचार