ललितपुर ३ मा तोसिमालाई साख जोगाउने चुनौती

आइतबार, १७ फागुन, २०८२
डिजिटल संस्करण

ललितपुर ३ रास्वपा नेतृ तोसिमा कार्कीका कारण चर्चामा छ । गत ०७९ को निर्वाचनमा कार्कीले सदर मतको करिब ५४ प्रतिशत मत ल्याएर जितेकी थिइन् । उनी सांसद मात्र होइन, स्वास्थ्य राज्यमन्त्रीसमेत बनिन् । कार्की ३१ हजार १३६ मत ल्याएर निर्वाचित हुँदा निकटप्रतिस्पर्धी एमालेका अमृत खड्काले १२ हजार ९६३ मत ल्याएका थिए । कांग्रेससहितको गठबन्धनबाट तत्कालीन माओवादीकी पम्फा भुसालले आठ हजार ७६९ मत ल्याएकी थिइन् ।

यो निर्वाचनमा रास्वपाले कार्कीलाई दोहोर्याउँदा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीले नयाँ अनुहार अघि सारेको छ । कार्कीले गत निर्वाचनमा पुराना दलको धेरै मत तानेकी थिइन् । योपटक पार्टीप्रति बढ्दो आकर्षणका कारण जित्नेमा उनी ढुक्क छिन् । ०७० को निर्र्वाचनमा विजयी भएको कांग्रेस योपटक इतिहास दोहोर्याउने दाउमा छ । कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको छ । कांग्रेसका ललितपुर जिल्ला सभापतिसमेत रहेका श्रेष्ठ ०७९ को प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए ।

एमालेले ०५६ को निर्वाचनयता यो क्षेत्रमा जित्न सकेको छैन । विरासत फर्काउने रणनीतिमा एमाले उम्मेदवार सन्दन थापामगर छन् । एमालेको संगठन, विगतका कामको प्रभावका आधारमा अनुकूल नतिजा ल्याउने योजना उनको छ । ०६४ र ०७४ मा नेकपा (तत्कालीन माओवादी)ले जितेको थियो । विरासत फर्काउने रणनीतिमा नेकपाका उम्मेदवार राजकाजी महर्जन छन् । महर्जन ०६४ को पहिलो संविधानसभा निर्वाचनमा ललितपुर २ बाट निर्वाचित भएका थिए । ०७४ मा ललितपुर ३ (क)बाट प्रदेश सभामा निर्वाचित भएका महर्जन ०७९ मा प्रदेश सभामा पराजित भएका थिए ।

२० उम्मेदवार चुनावी मैदानमा
ललितपुर ३ मा १५ दल र पाँच स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । रास्वपाले कार्कीलाई दोहोर्याउँदा कांग्रेसले जितेन्द्रकुमार श्रेष्ठ, एमालेले सन्दन थापामगर र नेकपाले राजकाजी महर्जनलाई उम्मेदवार बनाएको छ । यस्तै, राप्रपाले सबिनकुमार खड्का, राष्ट्रिय जनमोर्चाले नीलगोविन्द महर्जन, नेकपा संयुक्तले यज्ञप्रसाद पन्त, नेमकिपाले रमिला महर्जन, मंगोल नेसनल अर्गनाइजेसनले दिलकुमार महर्जन, जसपा नेपालले कृष्णदेवी महर्जन, प्रलोपाले विष्णुराज खड्का, संयुक्त नागरिक पार्टीले श्यामबहादुर राई, श्रम संस्कृति पार्टीले ऋतुवर्तन राई, नेकपा (माओवादी)ले खगेन्द्र महर्जन र उज्यालो नेपाल पार्टीले विजय पन्तलाई उम्मेदवार बनाएका छन् । स्वतन्त्र पाँच उम्मेदवारमा रूपेश शाह, अञ्जु कारञ्जित (थापा), अशोजकुमार महर्जन, राधेश्याम खड्का र विमर्श मिश्र छन् । घना बस्ती भएका ललितपुर महानगरपालिकाका २० वटा वडा र गोदावरी नगरपालिकाको १२ र १४ वडा यो क्षेत्रमा पर्छन् । ललितपुर महानगरपालिकाका १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ वडा पर्छन् । यो क्षेत्रमा जम्मा मतदाता १ लाख दुई हजार ४३७ मतदाता छन् । मतदानस्थल ३९ र मतदान केन्द्र ११४ छन् ।

समानुपातिकमा पनि रास्वपा पहिलो
गत निर्वाचनमा समानुपातिकमा पनि रास्वपा पहिलो भएको थियो । रास्वपाले १६ हजार ६५० मत ल्याएको थियो भने एमालेले १२ हजार २९७ मत ल्याएको थियो । समानुपातिकमा तेस्रो भएको कांग्रेसको आठ हजार २४७, राप्रपाले आठ हजार ७८९, माओवादीले ६ हजार ५३१ मत ल्याएको थियो ।

स्थानीय तहको स्थिति
स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयर कांग्रेस र उपमेयर एमालेले जितेका छन् । २२ वडामध्ये एमालेले ८, कांग्रेसले ७, माओवादीले ३ र एकीकृत समाजवादी र स्वतन्त्रले दुई–दुईवटा वडा जितेका छन् । गोदावरी नगरपालिकाका १२ र १४ नम्बर वडा र ललितपुर महानगरपालिकाका ४, १०, १४, २०, २८ नम्बर वडा कांग्रेसले जितेको छ । एमालेले ललितपुर महानगरको ५, १५, १८, २२, २३, २४, २५ र २९ नम्बर वडा जितेको छ । माओवादीले २१, २६ र २७ वडा जितेको छ । स्वतन्त्रले १ र १३, एकीकृत समाजवादीले २ र ३ नम्बर वडा जितेको छ ।

सुझावित समाचार