बाह्य पयर्टकहरूको केन्द्र ठमेलसहितको क्षेत्र ओगट्ने काठमाडौं ७ मा तीनजना निवर्तमान सांसदहरूको प्रतिस्पर्धा रोचक बन्दै गएको छ । अघिल्लो निर्वाचनमा रास्वपाबाट प्रतिनिधिसभा सांसद जितेका गणेश पराजुली, प्रदेश सभा जितेर भौतिक पूर्वाधारमन्त्री बनेका एमालेका प्रकाश श्रेष्ठ र प्रदेश सभामै नेकपाका निवर्तमान सांसद वसन्त मानन्धर २१ फागुनको प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धामा रहेकाले पनि आपसी प्रतिस्पर्धा रोचक बन्दै गएको मतदाताहरूको भनाइ छ ।
अघिल्लोपटक माओवादीलाई समर्थन गरेको कांग्रेसबाट यसपटक प्रमोदहरि गुरागाईं पनि बलियो उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिएका छन् । त्यसैले यो क्षेत्रमा मुख्यतया: चौपक्षीय प्रतिस्पर्धा रहेको चर्चा चलिरहेको छ ।
देशभर माहोल देखिएकाले रास्वपाका पराजुली यसपटक पनि जनताले आफूलाई जिताउन सक्ने प्रक्षेपणमा छन् । एमालेले पनि यो क्षेत्रलाई परम्परागत गढ ठान्दै आएको छ । तर, प्रभावशाली मानिने पूर्वसांसद रामवीर मानन्धरको कांग्रेस प्रवेशबाट उसले राहत महसुुस गरिरहँदा एमालेमाथि परम्परागत गढमा जित हासिल गर्न उम्मेदवार प्रकाश श्रेष्ठलाई चुनौती थपिएको छ । यद्यपि, एक्लाएक्लै प्रतिस्पर्धामा सहज जित हुने विश्वासमा एमाले छ । ०७४ को विरासत फर्काउने हो भने उसले कडा मिहिनेत गर्नुपर्ने अवस्था देखिएको छ ।
नेकपाका वसन्त मानन्धर पनि जित दोहर्याउनैपर्ने दबाबमा छन् । सांसद पद छाडेर प्रतिस्पर्धामा उत्रिएका कारण पूर्वविद्यार्थी नेता मानन्धर सक्रियतापूर्वक लागेका छन् । यो क्षेत्रमा १७ जना दल र ११ जना स्वतन्त्र उम्मेदवार छन् । राप्रपाका लालकुमार लामा, राष्ट्रिय जनमोर्चाका दिल्लाकुमार श्रेष्ठ, नेकपा (संयुक्त)का गुणबहादुर बन्जारा क्षेत्री, नेमकिपाकी गणेशमाया डंगोल, जसपाका बाबुराम लामा, आम जनता पार्टीका प्रदीप भट्टराई, प्रगतिशील लोकतान्त्रिक पार्टीका अमिनरत्न ताम्राकार, राष्ट्रिय एकता दलका विनोदकुमार गुरुङ, जय मातृभूमि पार्टीका बैकुण्ठ फुयाँल उम्मेदवार छन् । श्रम संस्कृति पार्टीका मणिराम बहादुर प्रधान, नेकपा माओवादीका दीपक मानन्धर, उज्यालो नेपाल पार्टीका विमला लामा, राष्ट्रिय मुक्ति पार्टीका दिपिन पन्त उम्मेदवार बनेका छन् । स्वतन्त्र रूपमा रामशरण थपलिया, सविता गमाल, सुजिता श्रेष्ठ, अन्जला बज्राचार्य, पुष्प बानियाँ, शर्मिला फुयाँल, सुमन महर्जन, अमन श्रेष्ठ, बुद्धिप्रसाद रेग्मी, भरत पौडेल र प्रकाश कुँवर उम्मेदवार छन् ।
काठमाडौं महानगरपालिकाका १६, १७, १८ र २५ नम्बर वडा, नागार्जुन नगरपालिकाका १, २ र ३ नम्बर वडा तथा तारकेश्वर नगरपालिकाका ३, ४ र ५ नम्बर वडा पर्छन् । जसभित्र काठमाडौंको ठमेलसहित म्हैपी, बालाजु, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे, धोबीचौर, ठहिटी, भुरुङखेल, नरदेवी, ह्नयौखा, मच्छिन्द्र टोललगायतका क्षेत्र पर्दछन् । काठमाडौंको कोर सिटीदेखि पर्यटकीय केन्द्रसमेत पर्ने यो क्षेत्रमा अव्यवस्थित सडक, खानेपानी, शिक्षा, स्वास्थ्यकै मुख्य समस्या रहेको मतदाता बताउने गर्छन् । ‘यस क्षेत्रको मुख्य समस्या भनेकै अव्यवस्थित सडक, खानेपानी, शिक्षा, स्वास्थ्य नै हो,’ मतदातासमेत रहेका पत्रकार पुकार तिमल्सिनाले भने ।
बागमती प्रदेश सभाबाट राजीनामा दिएर प्रतिनिधिसभामा उत्रेका प्रकाश र वसन्त दुवै बागमती प्रदेशका पूर्वमन्त्री हुन् । अहिलेको पदै त्यागेर प्रतिस्पर्धामा उत्रिएकाले एमाले विभाजनपूर्व एउटै दलमा रहेका सहयात्री दुवैजना जित्नैपर्ने दबाबमा छन् । मानन्धरले ०७८ मा खानेपानी र ऊर्जामन्त्रीको रूपमा १४ महिना काम गरे भने श्रेष्ठले ०८१ मा कृषि तथा पशुपन्छी विकासमन्त्रीको रूपमा एक वर्ष काम गरेका छन् । उता, रास्वपाका पराजुली एक कार्यकाल काम गरिसकेकाले क्षेत्रमा गरेको कामका आधारमा अनुमोदित हुने कि नहुने कडा चुनौतीबिच प्रतिस्पर्धामा छन् । राष्ट्रिय माहोल पार्टीको पक्षमा रहे पनि निवर्तमान सांसदका रूपमा पराजुलीले मतदाताबाट क्षेत्रमा काम गर्न नसकेको आरोप पनि खेप्नुपरेको छ ।
पछिल्लो निर्वाचनमा आठ हजार ७४३ मत ल्याई पराजुली विजयी भएका थिए । निकटम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार आठ सय मत पाएका थिए भने तत्कालीन नेकपा (तत्कालीन माओवादी)की उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत पाएकी थिइन् । उनी कांग्रेस–माओवादीको गठबन्धनबाट साझा उम्मेदवार थिइन् । ०७० मा सोही क्षेत्रबाट मानुषीकी आमा हिसिला यमीले पनि चुनाव लडेकी थिइन् । ०७० र ०७४ मा भने एमालेका रामवीर मानन्धरले लगातार जित हासिल गरेका थिए । यसपटक कांग्रेसले नयाँ अनुहारका रूपमा प्रमोदहरि गुरागाईंलाई उभ्याएको छ ।
समानुपातिकमा रास्वपा पहिलो, एमाले दोस्रो
०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ चुनाव जितेको रास्वपा नै समानुपातिक मतमा पनि पहिलो दल बनेको थियो । जसअनुसार उसले १० हजार ५८८ मत पाएको थियो । त्यस्तै, एमालेले ६ हजार २९९, कांग्रेसले ५ हजार ४० र माओवादीले एक हजार ६६८ र जसपा नेपालले एक हजार ४०७ मत पाएको थियो ।