पूर्वसांसद दनालाल चौधरी जसपा नेपालमा प्रवेश गरेका छन्। शनिबार जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्दै चौधरीले देशको वर्तमान राजनीतिक अवस्था, संघीयताको कार्यान्वयन, मधेशका अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी रहेको भन्दै त्यसैमा विश्वास गरेर पार्टी प्रवेश गरेको बताए।
कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले अधिकारसम्पन्न संघीयता र मधेशको मुक्ति आफूहरूको मूल लक्ष्य भएको भएको भन्दै यसका लागि जस्तोसुकै संघर्ष गर्न तयार रहेको बताएका छन् ।
संघीयता मधेश जनविद्रोहबाट स्थापित भएको चर्चा गर्दै सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष यादवले भने, ‘संघीयता कांग्रेस र एमालेको एजेन्डा थिएन, अझै पनि चाहेको छैन, राष्ट्रिय स्वतन्त्र पार्टीले त झन् संघीयता खारेज गर्ने दाउमा छन्, उक्त पार्टीले प्रदेशमा उम्मेदवारसम्म खडा गरेन, तर अधिकारसम्पन्न संघीयता र मधेशको मुक्ति हाम्रो मूल लक्ष्य हो, यसका लागि जस्तोसुकै संघर्ष गर्न तयार छौँ।’