सवारीचालक अनुमतिपत्र वितरण गर्दा घुस लेनदेन गरेको भेटिएपछि नेपाल प्रहरीका इन्स्पेक्टरसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले याायात कार्यालय, बाँकेमा भएको अनियमितताको छानबिन गर्दा चार ट्राफिक प्रहरीको संलग्नता भेटाएको हो। जसमा ३३ जनाविरुद्ध मुद्दा दायर भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रमुख रहेका इन्स्पेक्टर पुष्करराज पन्त, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रवीण र नन्दकुमार पोखरेल तथा प्रहरी सहायक निरीक्षक दमनबिक्रम सेनाविरुद्ध मुद्दा दायर भएको हो।
गत वर्ष चैतमा अख्तियारले यातायातका कम्प्युटर अधिकृत शक्ति ठाकुरसहित चारजनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। जस क्रममा ट्राफिक प्रहरीलगायत कर्मचारीको घुस बाहिर आएको हो। परीक्षामा फेल भएकालाई पास बनाएर लाइसेन्स दिएर दिनमै यातायात कार्यालयमा १० लाख रुपैयाँसम्म घुस लेनदेन हुने गरेको थियो।