गुल्मीमा ठुला दलका नारा फेरिए, उम्मेदवार पुरानै

विगतमा धारो, पानी, बिजुली, मोटरबाटोका नारा लिएर जाने दलहरूले यसपटक सुशासन, युवा र रोजगारीलगायत मुद्दालाई बनाए चुनावी एजेन्डा

बिहिबार, १४ फागुन, २०८२
डिजिटल संस्करण

इस्मा गाउँपालिका– ४ का पैयुँपाटावासीले मध्यरातमा उठेर खानेपानी भर्ने पालो पर्खन थालेको २७ वर्ष भयो । खानेपानी धारामा ल्याइदिने प्रतिबद्घतापछि आफ्नै छिमेकी वडाका उम्मेदवार गोकर्णराज विष्टलाई भोट हाल्न थालेको पनि २६ वर्ष पुग्यो । आफ्नो भोटले चारपटक चुनाव जितेर १४ वर्ष पाँच महिना सांसद र पटकपटक मन्त्री बनेका विष्टले आफ्नो जन्मेको गाउँको छिमेकी वडामा खानेपानीको समस्या समाधान भने गरेनन् । हरेकपटक खानेपानी, मोटरबाटो र बिजुली ल्याउने नारा लिएर चुनावमा भोट माग्ने विष्टको यसपालिको नारा पनि उही छ । पैयुँपाटा मात्र होइन, सोही वडाको अलि तल चैँया गाउँमा पनि खानेपानीको समस्या उस्तै छ । 

गुल्मी १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडा नम्बर १ र २ को देउराली गाउँका जनताले खानेपानीका लागि दुःख भोगेको वर्षौँ भयो । धेरै वर्षपहिला सात–आठ किलोमिटर टाढाको फोक्सिङबाट खानेपानी ल्याएर केही राहतको महसुस गरे पनि टाढाको मुहान, मर्मतका लागि जाने बाटोको असुविधा, मर्मतको रकम अभावलगायत समस्याका कारण योजना जीर्ण बनेपछि झन्डै काकाकुलको अवस्थामा पुगेका त्यहाँका जनतालाई हरेक चुनावमा भोट माग्ने नेताहरूले खानेपानी ल्याउने प्रतिबद्धता जनाएर चुनाव जिते पनि । 

गाउँबाट तल कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना, परियोजना प्रभावित क्षेत्र भएकाले लिफ्टिङका लागि बिजुलीको पनि अभाव थिएन, गाउँभन्दा तल मुहानको समस्या पनि थिएन, तर एमालेका प्रदीप ज्ञवाली, कांग्रेसबाट चन्द्र भण्डारी, कृष्णबहादुर छन्तेल र तत्कालीन माओवादीबाट सुदर्शन बरालले चुनाव जिते पनि देउरालीको खानेपानीको समस्या हरेक चुनावमा भोट माग्ने एजेन्डा मात्र बनाए ।

यी दुई खानेपानी समस्या उदाहरण मात्र होइन, गुल्मीका उम्मेदवारले लगातार चुनावी एजेन्डा बनाउँदै आएका खानेपानी, मोटरबाटो, बिजुली बत्तीका समस्या चुनावी नारामा मात्र सीमित भएका छन् । ०५६ देखि जनताका समस्या चुनावी विषय मात्र बनेको गुल्मीमा संघीय निर्वाचनका लागि ‘पुरानै अनुहार, पुरानै नारा’ बनेको छ । ‘एक घर एक धारा भन्न थालेको वर्षौँ भयो, पानीको समस्या उही छ, मोटरबाटो ल्याउँछु भनेर चुनाव जित्छन्, एउटा गाउँबाट अर्को गाउँमा पुग्न ६–७ घण्टा हिँड्नुपर्छ,’ सत्यवती गाउँपालिकाका नेकपा नेता खोमा तरामू भन्छन्, ‘कानुन बनाउनुपर्ने सांसदले पूर्वाधारका झुटा आश्वासन दिएर जनता झुक्याइरहेका छन् ।’

कानुन बनाउनुपर्ने सांसदहरूले भौतिक पूर्वाधार विकास गर्ने आश्वासन बाँडेर भोट माग्ने, तर आफ्नो जिम्मेवारी पूरा नगर्ने गरेको उनको भनाइ छ । ‘वन क्षेत्र उपयोगसम्बन्धी कानुन नभएर आफ्नै जिल्लाको पर्यटकीय क्षेत्र रेसुंगामा होटेल पौवा बन्द, छत्रकोटमा बनेको जिपलाइनलाइन बन्द हुने अवस्थामा छन्, उहाँहरूले ध्यान दिनुपर्ने यता हो,’ तरामूले भने, ‘तर, उहाँहरू चुनावमा पूर्वाधार निर्माणका आश्वासन बाँड्नुहुन्छ, चुनावपछि न विकासका काम गर्नुहुन्छ, न बनाउनुपर्ने कानुन बनाउनुहुन्छ ।’    

हरेक चुनावमा विभिन्न आश्वासन बाँड्ने नेताहरूले फरक निकायको सक्रियतामा भएको विकासलाई पनि आफ्नो पहल भन्दै झुटा कुरा गर्न थालेको भन्दै जनताले आलोचनासमेत गर्न थालेका छन् । गुल्मी २ मा एक घर एक धारा जनप्रतिनिधिले ल्याइदिएको भन्दै सामाजिक सञ्जालमा सेयर भएका समाचारमा टिप्पणी गर्दै गुल्मी धुर्कोटका श्यामलाल पाण्डे भन्छन्, ‘खानेपानीका लागि प्रतिपरिवार १० हजार नगद र पाँच हजार धाराटुटीका लागि तिरेका छौँ, कसले कहाँबाट बजेट ल्यायो र एक घर एक धारा हामीले बनाइदियौँ भनेर प्रचार गर्छ ?’

शिक्षा, स्वास्थ्य र रोजगारी नागरिकको अपेक्षा 
सडक, खानेपानीमा जिल्लामा अहिलेसम्म भएको प्रगतिलाई संघीय सांसदले आफ्नो पहलमा पूरा गरेको भन्दै प्रचार गरिरहँदा जनता भने गाउँमा जनताले बस्नुपर्ने गरी केही विकास नभएको भन्दै विरोध गरेका छन् । ‘सामान्य उपचारका लागि जिल्लाको सीमापारि मिसन अस्पताल धाउनुपर्ने, आयआर्जनको सम्भावना बोकेको जिल्लाबाट हजारौँ परिवार बसाइँ सर्नुपर्ने, १० कक्षा पास गरेपछि राम्रो विषय पढ्न बुटवल झर्नैपर्ने बाध्यता छ,’ मुसिकोटका ध्रुवराज खराल भन्छन्, ‘फेरि उही पुरानैलाई हात उठाएर जिताइदिनुपर्ने ?’ खरालले भनेजस्तै शिक्षा, स्वास्थ्य र रोजगारीमा जिल्ला कमजोर छ । गुल्मीबाट आव ०८१÷८२ मा एक हजार १७४ परिवारका चार हजार २५ जना आधिकारिक रूपमा बसाइँसराइ गरेको तथ्यांक छ । बसाइँसराइ गर्नेमध्ये धेरैले शिक्षा र स्वास्थ्यका लागि जन्मथलो छाड्नुपरेको बताएका छन् । सदरमुकामको ५० शड्ढयाको जिल्ला अस्पतालबाहेक अन्य स्वास्थ्य संस्थाहरू प्रायः प्राथमिक उपचारका लागि मात्र सीमित छन् । जिल्ला अस्पतालमा पनि एकाध रोगबाहेक विशेषज्ञ सेवा नहुँदा उपचारका लागि पाल्पा, बुटवल, काठमाडौं पुग्नुपर्ने बाध्यता छ । 

वितृष्णाले नयाँ खोजी 
गुल्मीमा जनताको वास्तविक समस्यामा बेवास्ता र समयक्रमले भएका सडक पूर्वाधारमा झुटो प्रचार बढी हुँदा जनतामा निराशा बढेको धुर्कोटका राजेन्द्र पोखरेल बताउँछन् । ‘मुख्य आवश्यकता गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र गाउँमै रोजगारी हुन्, त्यसमा खासै ध्यान छैन, तर विभिन्न स्रोतबाट आएको बजेटबाट भएका पूर्वाधार निर्माणमा जस लिने हानथाप भएपछि जनताले पुराना पार्टी, नेताको विश्वास नगरेको अवस्था देखिन्छ,’ उनले भने, ‘त्यही वितृष्णाले नयाँ दल र उम्मेदवारले भोट पाउने सम्भावना देखिन्छ ।’

पुराना जनप्रतिनिधिप्रतिको अविश्वासकै बिचमा चर्चित युवा सागर ढकालको प्रवेशले गुल्मी १ मा फरक माहोल बनेको छ । यो क्षेत्रमा एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारीले आलोपालो चुनाव जित्दै आएका छन् । राष्ट्रिय राजनीतिका प्रभावशाली नेताहरू भए पनि जिल्लाको विकासमा खास भूमिका खेल्न नसकेको भन्दै ज्ञवाली र भण्डारीको आलोचना भइरहेका वेला ०७९ को निर्वाचनमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा उम्मेदवारी दिएर चर्चामा आएका ढकालको प्रवेशले चुनावी परिणाम नै फेरबदल हुन सक्ने देखिएको छ । वैकल्पिक शक्तिप्रति जनताको आकर्षणका कारण गुल्मी १ मा विगतदेखिको आलोपालो मतपरिणाम नै परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

विगतमा एकपटक प्रतिनिधिसभा र एकपटक प्रदेश सभा सदस्य निर्वाचित भएका नेपाली कम्युनिस्ट पार्टीका नेता सुदर्शन बराल पनि यस क्षेत्रमा उम्मेदवार रहेको र उनले चुनाव जितेको पुरानो क्षेत्र नम्बर १ मा मगर बाहुल्यता रहेका कारण पुराना दलहरूको धेरै भोट काटेर यसपालिको मतपरिणाम प्रभावित गर्न सक्ने देखिन्छ । 

पूर्वमन्त्री गोकर्ण विष्टले लगातार चुनाव जित्दै आएको क्षेत्र नम्बर २ मा कांग्रेसका भुवनप्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीका श्रीराम महत र राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्द पन्थी मुख्य उम्मेदवार छन् । लगातार चुनाव जितेका विष्ट र कांग्रेसका श्रेष्ठ अहिले पनि मुख्य प्रतिस्पर्धी हुन् । रास्वपाप्रति देखिएको जनलहर र नेकपाका युवा उम्मेदवार महतको जनतालाई प्रभावित पार्न सक्ने शैलीका कारण विष्टलाई विरासत जोगाउने चुनौती छ । विष्टको असन्तुष्टिको भोट नेकपा र रास्वपालाई जाँदा यस क्षेत्रमा कांग्रेसका श्रेष्ठले चुनाव जित्न सक्ने आकलन गर्न थालिएको छ । नेकपाका महतको सक्रियता राम्रो भए पनि यस क्षेत्रका पूर्वमाओवादीका केही नेताहरूले विगतदेखि आफ्ना उम्मेदवारसँग चुनाव प्रचार गर्ने, तर मत अर्कैलाई माग्ने गरेको आरोप लाग्ने गरेको छ । रास्वपाको जनलहर राम्रो छ, तर उम्मेदवार पन्थी नयाँ र प्रचारमा कम प्रभाव देखिन्छ । 

युवा र रोजगारी दलका एजेन्डा
अघिल्ला चुनावमा धारो, पानी, बिजुली, मोटरबाटोका कुरा मात्रै लिएर जनतामाझ जाने दलहरूले यसपटक सुशासन, युवा र रोजगारीका मुद्दासमेतलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । विशेषगरी जेन–जी आन्दोलनले उठाएको सुशासन र रोजगारीका नारालाई समेत दलहरूले चुनाव प्रचारको हतियार बनाएका छन् । 
कांग्रेसले सुशासन र रोजगारीलाई पहिलो एजेन्डा बनाएको जिल्ला सभापति खिलध्वज पन्थी बताउँछन् । ‘कांग्रेसको पहिलो एजेन्डा सुशासन हो । जुन बदलिएको कांग्रेसले देश बनाउँछ भन्ने संकल्पका साथ लागेका छौँ,’ उनले भने, ‘मिसन रोजगारी भन्ने अभियान अगाडि बढाउने, जसअन्तर्गत कृषि, पशुलालनमार्फत किसानलाई व्यवसायीकरण गरी उद्यमशीलतामार्फत स्वरोजगार बनाउने अभियान नमुनाका रूपमा रेसुंगा नगरपालिकाबाट सुरु पनि गरिसकेका छौँ र जिल्लाभर यो कार्यक्रम अगाडि बढाउनेछौँ ।’

जेन–जी आन्दोलनको भावनाको कदर र प्रतिनिधित्व गर्दै नीति बदलेकाले कांग्रेसले देश बनाउनेछ भन्ने आशा जनतामा पलाएको भन्दै उनले त्यही आशाले जनताले आफूहरूलाई भोट दिने दाबी गरे । ‘नयाँ भनेको पार्टी हाम्रो हो, उम्मेदवारका हिसाबले पनि दाग नलागेका उम्मेदवारहरू हुनुहुन्छ, त्यसैले हामी जित्छौँ,’ उनले भने ।

एमाले भने पूर्वाधार र रोजगारीको कार्यक्रमलाई सँगसँगै लिएर चुनावमा होमिएको छ । एमाले गुल्मीका उपसचिव चक्रबन्धु भुसाल युवाहरूलाई उसको शैक्षिक योग्यता र सिपअनुसार रोजगारी दिने बताउँछन् । ‘खासगरी पुराना विकासका पूर्वाधारलाई पूर्णता दिने, युवालाई लक्षित गरेर कार्यक्रम तय गरेका छौँ,’ उनले भने, ‘युवालाई सक्षम बनाउने र रोजगार दिने कार्यक्रमअन्तर्गत शिक्षित युवालाई आइटी तालिम दिने र नपढेकालाई कृषि उद्यमशीलतामार्फत रोजगारी दिने हाम्रो एजेन्डा छ ।’ 

नेपाली कम्युनिस्ट पार्टी सुशासन सँगसँगै पूर्वाधार र रोजगारीलाई प्रमुख मुद्दा बनाएर चुनावमा होमिएको छ । नेकपाका लुम्बिनी प्रदेश सचिवालय सदस्य भूपाल पोखरेल भ्रष्टाचारविरोधी अभियान, अस्थिरताबाट मुक्ति, जिल्लाको भौतिक पूर्वाधार र रोजगारीका लागि भनेर आफूहरू जनतामाझ भोट माग्न गएको बताउँछन् । ‘मुख्य गरी सुशासन, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका काम तथा रोजगारीका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले जित्नुपर्छ भनेर चुनावी अभियानमा छौँ,’ उनले भने । 

रास्वपा अरू दलले भन्दा अलि फरक योजनाका साथ चुनावमा होमिएको छ । रास्वपाका सचिव निशेष श्रेष्ठ आफूहरूले ठुलो काम नगर्ने, तर जनताको जीवनस्तर परिवर्तन गर्ने गरी सानो–सानो सुधार गरेर जनताका समस्या समाधान गर्ने योजना बनाएको बताउँछन् । ‘पाँच वर्षमा बाटो पनि, रोजगारी, शिक्षा, स्वास्थ्यलगायत सबै कुरा गर्छौँ भनेर झुटा आश्वासन दिँदैनौ, दुई वर्षमा नीति बनाउने बाँकी तीन वर्षमा जनतलाई रिजल्ट दिन्छौँ,’ उनले भने, ‘मुख्य एजेन्डा भनेकै सुशासन हो । दोस्रोमा बसाइँसराइलाई वैज्ञानिक तरिकाले समाधान, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीमा जनतालाई अनुभूति हुने गरी रिजल्ट दिन्छौँ ।’

के भन्छन् प्रमुख दलहरू ?
खिलध्वज पन्थी, सभापति, कांग्रेस गुल्मी 

बदलिएको कांग्रेसले देश बनाउँछ भन्ने संकल्पका साथ अगाडि बढेका छौँ । मिसन रोजगारी अभियान अगाडि बढाउने, जसअन्तर्गत कृषि, पशुपालनमार्फत किसानलाई व्यवसायीकरण गरी उद्यमशीलतामार्फत स्वरोजगार बनाउने अभियान नमुनाका रूपमा रेसुंगा नगरपालिकाबाट सुरु गरिसकेका छौँ । 

चक्रबन्धु भुसाल, उपसचिव, एमाले गुल्मी
खासगरी पुराना विकासका पूर्वाधारलाई पूर्णता दिने, युवालाई लक्षित गरेर कार्यक्रम तय गरेका छौँ । युवालाई सक्षम बनाउने र रोजगार दिने कार्यक्रमअन्तर्गत शिक्षित युवालाई आइटी तालिम दिने र नपढेकालाई कृषि उद्यमशीलतामार्फत रोजगारी दिने एजेन्डा छ ।

भूपाल पोखरेल, लुम्बिनी प्रदेश सचिवालय सदस्य, नेकपा
मुख्य गरी सुशासन, शिक्षा, स्वास्थ्य र अन्य पूर्वाधारका काम तथा रोजगारीका लागि नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवारले जित्नुपर्छ भनेर चुनावी अभियानमा छौँ ।

निशेष श्रेष्ठ, सचिव, रास्वपा गुल्मी
हाम्रो मुख्य एजेन्डा भनेकै सुशासन हो । बसाइँसराइलाई वैज्ञानिक तरिकाले समाधान, गुणस्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीमा जनतालाई अनुभूति हुने गरी रिजल्ट दिन्छौँ । कृषि, पर्यटन, शिक्षा, रिसर्च एन्ड डेभलपमेन्ट, बसाइँसराइको दिगो समाधानलगायत मोडेल बनाएर जान्छौँ । 

सुझावित समाचार