झापाको सुरक्षा समन्वयका लागि एसएसपी अधिकारीलाई खटाइयो

बुधबार, १३ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनको ‘इपिसेन्टर’ बनेको झापा जिल्लामा प्रहरी प्रधान कार्यालयले अन्यत्रको तुलनामा ठुलो संख्यामा सुरक्षाकर्मी पठाएको छ। सुरक्षा संवेदनशीलताको विश्लेषण गरी झापामा डिएसपी र इन्स्पेक्टरसहित थप मद्दतका लागि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको हो। 

त्यस्तै, सुरक्षा समन्वयका लागि बुधबारदेखि एसएसपी पनि खटाइएको छ। झापा र इलाम जिल्लामा समन्वय गर्ने गरी एसएसपी गोविन्द अधिकारीलाई प्रहरी प्रधान कार्यालयको निर्णयअनुसार खटाइएको कोशी प्रदेशका डिआइजी विनोद घिमिरेले जानकारी दिए। एसएसपी अधिकारी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार रहेका बालेन शाह एउटै क्षेत्रमा प्रतिस्पर्धा गरिरहेकाले झापालाई सुरक्षा निकायले उच्च संवेदनशील जिल्लाका रूपमा राखेर सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्लाको नियमित कमान्ड भने एसपी बसुन्धरा खड्काले गर्दै आएकी छिन्। हरेक निर्वाचन क्षेत्रमा डिएसपीको कमान्डमा प्रहरी खटिएका छन्। 

त्यस्तै, मोरङ र सुनसरी हेर्ने गरी ज्ञानेन्द्र फुँयाल तथा उदयपुर र खोटाङ हेर्ने गरी योगेन्द्रसिंह थापालाई खटाइएको छ। 
 

सुझावित समाचार