पार्टीमा स्वेच्छाचारिता र व्यक्तिवादी कार्यशैली बढेको तथा विधि–पद्धति र सिद्धान्तबाट विचलन भएको भन्दै नेकपा एमाले परित्याग गरेकी पूर्वसांसद् जानकीदेवी राम नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन्।
सिरहा क्षेत्र नं. ३ मा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार विश्वनाथ साह, केन्द्रीय सदस्य जगत यादवले मंगलबार दिउँसो गोलबजारमा आयोजित कार्यक्रममा रामलाई पार्टी प्रवेश गराएका हुन्। पछिल्लो समय पार्टी नेतृत्वको छलकपट, जालझेलसँगै विधि पद्धतिलाई समेत कुल्चिएर स्वेच्छाचारी ढंगले पार्टी चलाउन थालिएपछि बाध्य भएर पार्टी छोड्नु परेको रामले बताइन्।
‘मुलुकभर नेकपाको उत्साहजनक लहर छाएको छ,’ उनले भनिन् ‘यो मुलुकको मुहार फेर्न जनपक्षीय पार्टी र उम्मेदवारलाई विजयी गराउन जरुरी रहेकाले प्रवेश गरेकी हुँ।’ २ फागुनमा राम, एमालेकी निवर्तमान सांसद् सम्झना थपलियासहित पाँच दर्जन नेता कार्यकर्ताहरुले पत्रकार सम्मेलनमार्फत पार्टी परित्यागको सामूहिक घोषणा गरेका थिए। थपलिया भने सोमबार रास्वपा प्रवेश गरेकी छिन्।
२०७४ को निर्वाचनमा एमालेबाट समानुपातिक सूचीमा रहेकी रामलाई १८ चैत २०७७ मा सांसद् बनाउने निर्णय भएको थियो। दलित क्लष्टरबाट समानुपातिकतर्फ बन्दसूचीको पहिलो नम्बरमा रहेकी सानु सिवाको मृत्यु भएपछि तेस्रो नम्बरमा रहेकी रामलाई सांसद् बनाउने निर्णयसहित संसद् सचिवालयलाई जानकारी गराइएको थियो। बन्दसूचीकोे दोस्रो स्थानमा रहेकी धनकुमारी सुनारले त्यसअघि नै पार्टी परित्याग गरेपछि रामको नाम सिफारिश भएपछि २०७९ को निर्वाचनसम्म सांसद् थिइन्।