धादिङ बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन

सोमबार, ११ फागुन, २०८२
डिजिटल संस्करण

गृह मन्त्रालयले धादिङमा आइतबार राति भएको बस दुर्घटनाको घटनाबारे औपचारिक अनुसन्धान अघि बढाउने निर्णय गरेको छ। ठुलो जनधनको क्षति भएपछि मन्त्रालयमा बसेको उच्चस्तरीय बैठकले तथ्यगत अध्ययन गरी प्रतिवेदन पेस गर्ने उद्देश्यसहित छानबिन समिति गठन गर्ने निष्कर्ष निकालेको हो।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघका प्रतिनिधि, तीनवटै सुरक्षा निकायका प्रमुख तथा अन्य सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग.२ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका– ५, भैँसेगौँडा क्षेत्रमा राति करिब १ बजे सडकबाट तल खसेर त्रिशूली नदी किनारमा पुगेको थियो।

दुर्घटनामा १८ जनाको ज्यान गएको पुष्टि भएको छ। घटनास्थलमै १७ जनाको मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा निधन भएको जनाइएको छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। प्रहरीका अनुसार नेसनल अस्पतालमा एक महिलासहित १० जना भर्ना छन् भने ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका १५ जनामध्ये एकजनाको मृत्यु भएको र बाँकी १४ जनाको उपचार जारी रहेको छ।

सरकारले घटनाको निष्पक्ष र तथ्यपरक छानबिनमार्फत उत्तरदायित्व निर्धारण तथा आगामी दिनमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्ने प्रतिबद्धता जनाएको छ।
 

सुझावित समाचार