आइतबार १० बजेसम्मका १० मुख्य समाचार

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न आयोगको निर्देशन

निर्वाचन आयोगले निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन दिएको छ। सुरक्षाको विषयलाई मध्यनजर गर्दै आयोगले धातु र काठजस्ता सामग्रीबाट बनेको भौतिक स्वरूपका चिह्न प्रयोग नगर्न निर्देशन दिएको हो।

कपडा, तुल, फ्लेक्स वा कागजमा छापी वा प्रिन्ट गरी तोकिएको मापदण्डबमोजिम आफ्नो निर्वाचन चिह्नको प्रचारप्रसार गर्न भने सकिने आयोगले प्रस्ट पारेको छ।

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दाः पूर्वमन्त्री अमात्य र पूर्वसचिव आचार्य साधारण तारेखमा छुटे

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गरी दायर मुद्दामा पूर्वमन्त्री र सचिव साधारण तारेखमा छुटेका छन्। विशेष अदालतमा उपस्थित भएका पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा छुटेका हुन्। 

विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले आइतबार साधारण तारेखमा छाड्न भनेको हो। 

नेकपा नेतृ रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश

पोखराको लिची बगैँचा जग्गासम्बन्धी घुस प्रकरणमा मुछिएकी नेतृ रञ्जिता श्रेष्ठलाई विशेष अदालतले धरौटीमा छाड्न आदेश दिएको छ। आइतबार विशेष अदालतमा उपस्थित भएकी उनलाई न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो। 

गत २२ असोजमा उनीसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सो मुद्दामा रञ्जितालाई ७८ लाख रुपैयाँ बिगो कायम गरिएको थियो। 

फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

निर्वाचन आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।

२१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरिएको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिए।

१५ फागुनभित्र जेन–जी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

सरकारले जेन–जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण १५ फागुनभित्र उपलब्ध गराउन सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारमा संलग्न अस्पतालहरूलाई छुट भएका घाइतेको विवरण मन्त्रालयमा पेस गर्न भनिएको हो। घाइतेहरूको सूचीकरण तथा वर्गीकरणसम्बन्धी काम सम्पन्न गर्न फागुन १ देखि १५ गतेभित्र विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी महिलाको मृत्यु

सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिकाकी २३ वर्षीया सुजानदेवी सदाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गर्भावस्थामा पीडा सुरु भएपछि शुक्रबार उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो।

ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा १५ प्रतिशत विश्वव्यापी भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। अदालतले उनको अघिल्लो आयात करसम्बन्धी निर्णयलाई खारेज गरेपछि ट्रम्पले थप आक्रामक हुँदै करको दर बढाउने निर्णय गरेका हुन्।

ट्रम्पले सुरुमा शुक्रबार अदालतले खारेज गरेको करको सट्टा १० प्रतिशत मात्र महसुल लगाउने बताएका थिए। तर, शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनले यो दरलाई बढाएर अधिकतम १५ प्रतिशत पुर्याउने जानकारी दिए। यो वृद्धि दुर्लभ रूपमा प्रयोग हुने एक व्यापार कानुनअन्तर्गत गरिएको हो।

फुलचोकी जंगलमा ५ दिनदेखि हराएका व्यक्तिको सकुशल उद्धार

ललितपुरको फूलचोकी जंगलमा पाँच दिनदेखि हराइरहेका एक व्यक्तिको सकुशल उद्धार गरिएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीका अनुसार उद्धार गरिएका व्यक्ति ४० वर्षीय सोमबहादुर तामाङ हुन्। उनी टौखेल क्षेत्रबाट पाँच दिनअघि हराएका थिए।

आइतबार जंगल क्षेत्रबाट मान्छे कराएको आवाज आएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि ललितपुर प्रहरीको टोली तत्काल जंगल क्षेत्रमा पुगेर खोजी कार्य तीव्र बनाएको थियो। खोजी अभियानका क्रममा तामाङलाई जंगलभित्रै फेला पारिएको प्रहरीले जनाएको छ।

चुनाव प्रचार-प्रसारमा लाञ्छना लगाउनेलाई कारबाही गर्ने गृह मन्त्रालयको चेतावनी

चुनाव प्रचार प्रसारको क्रममा राजनीतिक दल र व्यक्तिमाथि लाञ्छना लगाउने गतिविधि नगर्न गृह मन्त्रालयले ध्यानाकर्षण गराएको छ । आइतबार बसेको गृह मन्त्रालयको बैठकले त्यस्ता गतिविधिले निर्वाचनको वातावरणमा खलल पुर्याउने भन्दै कारबाही गर्ने चेतावनी दिएको हो। 

श्रीलंकामाथि इंग्ल्यान्ड ५१ रनले विजयी

आइसिसी टी–२० विश्वकपअन्तर्गत जारी सुपर–८ को खेलमा आयोजक श्रीलंका इंग्ल्याण्डसँग ५१ रनले पराजित भएको छ। इंग्ल्याण्डले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका १६.४ ओभरमा मात्र ९५ रन जोडेर अलआउट भयो।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डका लागि ओपनर फिल साल्टले अर्धशतक पूरा गरे। ४० बल सामना गरेका उनले ६ चौका र दुई छक्काको मद्दतमा ६२ रन जोडेका हुन्। यसैगरी विल ज्याक्सले २१, कप्तान ह्यारी ब्रुकले १४, साम करेनले ११ तथा जामी ओभरटनले नटआउट १० रन बटुल्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुझावित समाचार