देश समृद्ध बनाउने रोडम्याप तयार गरेका छौँ : घिसिङ

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले गरिब र सीमान्तकृत समुदायको जीवनस्तर सुधार गरेर उनीहरुको अनुहारमा उज्यालो ल्याउन उज्यालो नेपाल पार्टी गठन भएको बताएका छन्। कैलालीको जोशीपुरमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीले गरिबलाई गरिबीबाट मुक्ति दिलाउने प्रमुख एजेन्डा बनाएको बताए ।

देशलाई उज्यालो बनाउने, भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने, सामाजिक न्यायसहित समातमुलक समाज स्थापना गर्दै देशलाई समृद्ध बनाउने रोड म्याप उज्यालो नेपाल पार्टीले तयार गरेको बताए । त्यसलाई कार्यान्वयन गर्न पनि उज्यालो नेपाल पार्टीलाई मत दिन उनले मतदातालाई आग्रह गरे ।

 ‘उज्यालो नेपाल पार्टी भनेको गरिबको, सीमान्तकृतको आवाजलाई उठाउने पार्टी हो । गरिबको अनुहारमा उज्यालो ल्याउन उज्यालो नेपाल पार्टी जन्मेको हो । सीमान्तकृतको अनुहारमा उज्यालो ल्याउन यो पार्टी गठन भएको हो,’ घिसिङले भने, ‘गरिबलाई गरिबीबाट मुक्ति दिलाउने प्रमुख एजेन्डा बनाएका छौँ ।’

उनले आफ्नो पार्टीमा कुनै एउटै व्यक्तिले लामो समय नेतृत्व गरिरहने अवस्था नहुने दाबी गरे । ‘पार्टीमा कुनै एउटा व्यक्तिले नेतृत्व गरिरहने होइन, यो देशका सबै समुदायका मानिसको नेतृत्व स्थापित गर्नका लागि हामीले उज्यालो नेपाल पार्टी गठन गरेका हौँ ।’

उनले आफू विद्युत् प्राधिकरणमा हुँदा परिणाम दिने गरी काम गरेको बताए । आफ्नै कार्यकालमा घाटामा रहेको विद्युत् प्राधिकरणलाई नाफामा पु-याएको र लोडसेडिङ अन्त्य गरेर विद्युत् निर्यातको अवस्थामा पु-याएको घिसिङले बताए ।
 

‘हामीले केही डेलिभरी दियौँ, काम ग-यौँ, परिणाम दियौँ । लोडसेडिङ  अन्त्य भयो, देशमा बढी भएको बिजुली भारत, बंगलादेशसम्म बेचेर बिसौँ अरब कमायौँ’ उनले भने, ‘३५–३६ अर्ब घाटामा भएको संस्थालाई एक खर्बभन्दा बढी नाफामा ल्याउन सफल भयौँ । गाउँगाउँमा बस्तीबस्तीमा बिजुली पुर्यायौँ।’

सुझावित समाचार