रौतहटमा कर्फ्यु आदेश जारी

शनिबार, ९ फागुन, २०८२
डिजिटल संस्करण

दुई समुदायबिच भएको झडपले उग्र रूप लिएपछि रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार दुवै पक्षबिच ६ बुँदे सहमति भए पनि अवस्था नियन्त्रणभन्दा बाहिर गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश जारी गरेको हो ।

सदरमुकाम गौरका केही संवेदनशील क्षेत्रमा कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ । रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको आदेश तथा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लागू गरिएको हो ।

जारी आदेशअनुसार पूर्वमा मुडबलवा गेट, पश्चिममा लालबकैया खोला, उत्तरमा जमुना नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मको क्षेत्रलाई कर्फ्यु क्षेत्र तोकिएको छ । तोकिएको क्षेत्रमा पाँचजना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस गर्न, प्रदर्शन गर्न तथा आवतजावतमा अवरोध सिर्जना गर्ने कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ।

प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम आदेश जारी गरिएको जनाएको छ। कर्फ्यु आदेश उल्लंघन गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।
जिल्ला प्रशासन कार्यालय गौरले शान्ति–सुरक्षा कायम राख्न सर्वसाधारणलाई सहयोग गर्न अनुरोध गर्दै अफवाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेको छ ।

सुझावित समाचार