दाङको तुलसीपुरमा एमालेको चुनाव चिह्न सूर्यअंकित झन्डा जलाएको आरोपमा प्रहरीले शुक्रबार एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका– ७, कालाखोलाका ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए । झन्डा जलाउने तीनजनाको पहिचान भएकामा दुईजना अझै फरार रहेको उनले बताए ।
तुलसीपुरस्थित वीरेन्द्र चोकमा भएको रास्वपासमर्थकको भेलामा बिहीबार केही व्यक्तिले एमालेविरुद्ध नाराबाजी गर्दै झन्डा जलाएका थिए । एमालेले भने रास्वपाका कार्यकर्ताले झन्डा जलाएको आरोप लगाएको छ । पार्टीको झन्डा जलाइएको घटनालाई लिएर एमालेको भ्रातृ संगठन अनेरास्ववियुले शुक्रबार काठमाडौंमा मसाल जुलुस निकाल्दै रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहको पुत्ला दहन गरेको छ । त्यसअघि शुक्रबार नै एमाले घोराहीमा कालोझन्डासहित प्रदर्शन पनि गरेको थियो । एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीले झन्डा जलाउनेलाई प्रहरी–प्रशासनले कारबाही नगरे एमालेले कारबाही गर्नेसमेत बताए ।
त्यस्तै, एमाले केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले शुक्रबार विज्ञप्ति जारी गरी पार्टी अध्यक्ष केपी ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी गरिएको तथा महासचिव शंकर पोखरेलको गृहनगरमै यस्तो (झन्डा जलाउने) घटना हुनु आपत्तिजनक भएको बताएका छन् । अपराधजन्य गतिविधि भन्दै संलग्नमाथि कानुनी कारबाही गर्न उनले माग गरेका छन् ।
तर, रास्वपा दाङका सभापति विनय घिमिरेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै झन्डा जलाउने गतिविधिमा रास्वपाका कार्यकर्ता संलग्न नभएको दाबी गरेका छन् । ‘पार्टीका सभापतिज्यू सुर्खेतको कार्यक्रम समापन गरी दाङ आउने क्रममा सडकपेटीमा स्वस्फूर्त रूपमा स्वागतमा जुटेका शुभेच्छुकको उत्साहजनक उपस्थितिलाई देखी अत्तालिएका केही घुसपैठ र अवाञ्छित तŒवहरूले भ्रमपूर्ण वातावरण सिर्जना गरेका हुन् भन्ने हाम्रो स्पष्ट ठहर छ,’ विज्ञप्तिमा भनिएको छ ।
रास्वपाले घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । रासवपा सभापति रवि लामिछानेले पनि शुक्रबार घोराहीमा आयोजित चुनावी सभामा झन्डा जलाउने रास्वपाको चरित्र नरहेको बताए । ‘यदि रास्वपाको कोही–कसैले झन्डा जलाएको रहेछ भने पनि कारबाही हुन्छ । आफैँ घुसपैठ गरेको हो भने होसियार, काँक्रो खाएर बियाँ टाँसेको हो भने होसियार,’ उनले भने । त्यस्तै, तुलसीपुरस्थित रास्वपा दाङ ३ को सम्पर्क कार्यालयमा शुक्रबार साँझ तोडफोड भएको छ । रास्वपा ३ का उम्मेदवार कमल सुवेदीले पार्टीको सम्पर्क कार्यालयमा शुक्रबार साँझ करिब ६ बजेतिर तोडफोड भएको बताए ।