रास्वपा सभापति रवि लामिछानेले २१ फागुनको चुनावबाट भाग्य र भविष्य फेर्नुपर्ने बताएका छन् । विभिन्न राजनीतिक दलहरूले ३५ वर्षसम्म जनतालाई धोका दिएपछि जनता रिसाएको उनको भनाइ छ । रास्वपाले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको चुनावी आमसभामा सभापति लामिछानेले भने, ‘हिजो तपाईंहरूले नै यो देश बनाउनुहुन्छ कि भनेर आस गरेर बसेका मान्छे थिए । तपाईंहरूले जनतालाई धोका दिनुभयो । धोका दिनुभयो ल ठिकै छ, तर बच्चालाई गोली ठोकेर मार्नुभयो । आमाको कोख रित्यानुभयो । त्यसकारण जनता रिसाएका छन् । जनता रिसाएको वेला हो यो ।’
देशभर जनता जागेको र जागरणलाई परिणाममा बदल्नुपर्ने उनले बताए । ‘यसअघिका निर्वाचनमा यहाँहरूले भोट हाल्नुभएकै हो, पटक–पटक विभिन्न राजनीतिक दललाई छान्नुभएकै हो । नेहेरिएको होइन, मौका नदिएको होइन,’ उनले भने, ‘तर, यसपटक फेर्नुपर्नेछ, जनप्रतिनिधि फेर्ने होइन– हाम्रो आफ्नो भाग्य र भविष्य फेर्नुपर्नेछ, हाम्रो आफ्नै हातले, कसैको हातले होइन ।’
आफू गृहमन्त्री छँदा सरकारले भ्रष्टाचारीलाई कारबाही गरिरहेका वेला कांग्रेस–एमालेबिच सहमति गरेर सरकार ढालेको उनको आरोप छ । ‘मलाई संसद्बाट निकाल्ने योजनाकार यहीँ छन् नि । यो देशका जनताले सबैभन्दा धेरै मत दोस्रोपटक दिएर पठाएको मलाई छलछाम गरी, बिचौलियासँग मध्यरातमा हस्ताक्षर गरेर, सुशासन कायम गर्दै गरेको, भ्रष्टाचारीलाई कोच्दै गरेको सरकारलाई संसद्बाट छलछाम गरेर दुई घण्टामा सूचना टाँस गरेर निकाल्ने योजनाकार यहीँ छन् नि,’ उनले भने, ‘उठेका होलान् यसपटक पनि, तिनले सुन्ने गरी भन्न चाहन्छु । संसद्बाट निकाल्यौँ, जनताको मनबाट निकालेर देखाऊ । तिनको आदेशमा मेरो बेडरुममा प्रहरीले अन्तिम इच्छा सोधेको थियो । यहीँ छन् तिनीहरू । मध्यरातमा पुलिस पठाएर मेरो अन्तिम इच्छा सोध्न आदेश दिने यहाँबाट चुनाव लड्दै छन् ।’
लामिछानेले नेपालको राजनीतिलाई षड्यन्त्र र पाखुराको बलमा कब्जा गर्नेहरू भाग्नुपर्ने बताए । ‘हामीले वाचापत्रमा भ्रातृ संगठनरहित पार्टी बनाउने भनेका छौँ । किसान, मजदुर, शिक्षकलाई भन्न चाहन्छु– दलहरूले तपाईंहरूलाई एकत्रित गरेर भ्रातृ संगठन बनाए । तर, ३५ वर्षसम्म शिक्षकको हितमा काम नगर्दा, शिक्षकहरू दुईतिहाइको सरकार हुँदा आफ्नो अधिकार माग्न काठमाडौं गएको होइन, किन चाहियो त्यो संगठन ? किसानलाई आफ्नो पार्टीमा राखेर बिल्ला भिडाइदिएको होइन ? किसानले मूल्य नपाएर बाटोमा दुध फ्याँकेको होइन, किन चाहियो त्यो संगठन ? किसानले मलबिउ नपाएको होइन, बजार नपाएको होइन । तपाईंहरूको भोट लगेर बिचौलियालाई बेच्छन् किन हाल्नुहुन्छ ?’
अब शिक्षकले आफ्नो अधिकारका लागि सडकमा जानु नपर्ने उनको भनाइ छ । ‘रास्वपामा शिक्षक, किसान, मजदुर, विद्यार्थी कसैको भ्रातृ संगठन छैन । यी सबैको हकहित हाम्रा मूल नारा हो । हामी हाँगा बनाएर होइन, जरा बनाएर यी समस्यालाई राजनीतिभन्दा माथि पुगेर समाधान गर्छाैँ,’ लामिछानेले भने, ‘३५ वर्ष थारूहरूलाई भोट बैंक बनाएको होइन ? जहाँ भन्यो त्यही भोट हाल भनेको होइन । भयो पूरा माग ? भयो संरक्षण ? भूमिहीनले लालपुर्जा देख्न पाए ? पाए कसैले अधिकार ? तपाईंहरूका अधिकारका लागि हामी विनाभ्रातृ संगठन लड्छौँ । कसैले चिन्ता लिनुपर्दैन ।’