राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एमालेको झन्डा जलाउने जोकोेही भए पनि कारबाही हुने बताएका छन् ।
दाङको घोराहीमा शुक्रबार भएको चुनावी आमसभालाई सम्बोधन गर्दै उनले रास्वपाको कोही–कसैले झन्डा जलाएको भए पनि कारबाही हुने बताएका हुन् । ‘झन्डा जलाउने रास्वपाको चरित्र होइन,’ उनले भनेका छन्, ‘यदि रास्वपाको कोही कसैले झन्डा जलाएको रहेछ भने पनि कारबाही हुन्छ ।’
तर, उनले त्यो कार्यमा घुसपैठ भएको हुन सक्ने आशंका गरेका छन् । ‘आफैँ घुसपैठ गरेको हो भने होसियार, काँक्रो खाएर बियाँ टाँसेको हो भने होसियार,’ उनले भने, ‘बिथाेल्न पाइने रहेछ भन्ने लागेर आँखा चम्काएको रहेछ भने नचम्काए हुन्छ ।’
साथै उनले पुराना पार्टीले काम गर्न नसकेपछि सबै जनता रास्वपामा आबद्ध भएकोसमेत बताए । ‘अहिलेका हाम्रा मान्छे रास्वपाले जन्माएको होइन, हामीले जन्माएको भए त भर्खर तीन वर्षका हुन्थे,’ उनले भने, ‘तपाईंहरूले काम गर्न नसकेपछि रास्वपा बनेका मान्छे छन् यहाँ ।’
साथै उनले प्रहरीलाई आफ्नो अन्तिम इच्छा सोध्न लगाउनेहरू अहिले चुनाव लडिरहेको अभिव्यक्ति दिएका छन् । एमाले महासचिव शंकर पोखरेललाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । ‘जसको आदेशले प्रहरीले मलाई बेडरुममा अन्तिम इच्छा सोधेको थियो,’ उनले भने, ‘अहिले जित्छु भनेर निर्वाचनमा उठेका छन् । पोखरेल दाङ– २ बाट चुनावी मैदानमा छन् ।’