राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार मनीष झाले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी पोस्टर नटाँस्ने घोषणा गरेका छन्। जनकपुरधामलाई सफा र सुन्दर राख्ने उद्देश्यले यस्तो निर्णय लिएको उनले बताएका छन्।
रास्वपाका कार्यकर्ताहरूलाई धनुषा क्षेत्र नम्बर ३ भित्र कुनै पनि स्थानमा प्रचार सामग्रीका रूपमा पोस्टर नटाँस्न स्पष्ट निर्देशन दिएका छन्। साथै, निर्वाचन प्रचारका नाममा सहरलाई फोहोर र अव्यवस्थित नबनाउन अन्य राजनीतिक दल तथा उम्मेदवारहरूलाई पनि आग्रह गरेका छन्।
‘म जुन देश र नगरलाई सुन्दर बनाउन राजनीतिक अभ्यासमा छु, त्यही नगरलाई कुरूप बनाएर चुनावी प्रचार–प्रसार गर्न चाहन्न,’ झाले भने । झाका अनुसार स्वच्छ, सभ्य र जिम्मेवार राजनीतिक संस्कारको विकास आजको आवश्यकता हो, र यसको सुरुवात आफ्नै व्यवहारबाट गर्नुपर्छ । उनको यस पहलप्रति स्थानीयवासी, नागरिक समाज तथा विभिन्न संघसंस्थाबाट सकारात्मक प्रतिक्रिया आएको छ ।