रविको चुनौती : अल भर्सेस वान, घन्टी भर्सेस अल

शुक्रबार, ८ फागुन, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरूबाहेक सबै राजनीतिक दललाई एउटै दल बनाएर चुनाव लड्न पुनः चुनौती दिएका छन् । २१ फागुनको निर्वाचनका लागि अब दुई साता पनि बाँकी नरहँदा रास्वपाले वारपारको राजनीतिमा जोड दिएको छ । 

रास्वपाले बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको परिवर्तन उद्घोष सभामा लामिछानेले राजनीतिलाई ध्रुवीकरणतर्फ लगेर लाभ लिने रणनीतिक अभिव्यक्ति दिएका हुन् । ‘हामी निर्वाचनबाट भाग्य बदल्ने काममा लागिरहेका छौँ, यो विश्वास पनि जनताकै हो । निर्वाचनबाट भाग्ने होइन । कसैलाई लोकतन्त्रको पिर लाग्छ भने एउटा अफर छ–भएभरका सबै मिल्नुस्, एउटा दल बनाएर चुनाव लड्नुहोस्,’ उनले भने, ‘अल भर्सेस वान, घन्टी भर्सेस अल । जतिवेला जनता जाग्यो, त्यतिवेलामा कचकच गर्न पाइँदैन है, कचकच गर्न पाइँदैन । शान्तिपूर्ण निर्वाचनको प्रत्याभूति सरकारले दिन्छ, दियोस् ।’ 

उनले लोकतन्त्रलाई कसैबाट खतरा नभएको बताए । ‘मान्छेहरू लोकतन्त्रलाई खतरा हुन्छ भनिरहेका छन् । जब जनता जागे, तपाईंहरूलाई बल्ल लाग्यो लोकतन्त्रलाई खतरा छ ? लोकतन्त्रलाई खतरा छ–छैन जनताले बुझेका छन्,’ उनले भने, ‘मैले पहिला पनि भनेको छु र कर्णालीमा पनि भन्छु– लोकतन्त्रलाई जुन खतरा थियो, त्यो खतरा हेलिकोप्टर चढेर भागेको छ, बस ल्यान्ड नहोस् । लोकतन्त्रलाई खतरा तब हुन्छ, जब त्यो हेलिकोप्टर फेरि सिंहदरबार या बालुवाटारमा ल्यान्ड हुन्छ ।

जता ल्यान्ड हुन्छ, ल्यान्ड होस्, हामीलाई भन्नु केही छैन । तर, जनताको भाग्य फेर्ने र बनाउने मात्र होइन, बदल्ने सिंहदरबारमा ल्यान्ड नहोस्, यत्ति भए पुग्छ । त्यसैले परिवर्तनको यो आगोलाई, यो झिल्कोलाई, जनताको चेतनालाई कसैले चुनौती नदियोस् । म सबैले सुन्ने गरी कर्णालीबाट भन्न चाहन्छु, लोकतन्त्रलाई खतरा छैन, हामी जोगाउँछौँ ।’

रास्वपाले लोकतन्त्रको विधि मानेर लोकतान्त्रिक मूल्य र मान्यतामा अडिग रहेर काम गर्ने उनले बताए । लामिछानेले प्रश्नको ठेक्का नलिन पनि चेतावनी दिए । ‘हामीले प्रश्नहरूको सामना गरेनौँ, डिबेटमा भाग लिएनौँ भन्ने प्रश्न आएको छ । ‘यो प्रश्नको ठेक्का कसैले नलिए हुन्छ,’ उनले भने, ‘जनताको प्रश्न जनताले सोध्छन्, घरघरमा सोधेका छन्, जवाफ दिएका छौँ । हरघरदैलोमा जनताले प्रश्न सोधेका छन्, हरेक ठाउँमा जवाफ दिएका छौँ । प्रश्नको ठेक्का हामीले कसैलाई दिएका छैनौँ । जनताको प्रश्न जनताले सोधेका छन्, हरजनताको हरप्रश्नको हरठाउँमा, हरचोकमा, हरगल्लीमा, हरढोकामा जवाफ दिँदै छन् रास्वपाका सबै नेताहरू, सबै उम्मेदवारहरू । त्यसकारणले प्रश्नको ठेक्का पनि नलिए हुन्छ, लोकतन्त्रको ठेक्का पनि नलिए हुन्छ ।’

कर्णालीका सुइना हाम्मा सुइना : बालेन
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले कर्णालीका पीडा, गरिबी र दुःख बेच्ने नेता धेरै आएको, तर गरिबीलाई बुझ्न अहिलेसम्म कोही नआएको बताएका छन् । वीरेन्द्रनगरमा बिहीबार आयोजित परिवर्तन उद्घोष सभामा बालेनले भने, ‘देशमा अझै पनि भोकमरी छ । अझै पनि चार वर्षमुनिका बालबालिकाको मृत्युदर एकदमै बढ्दो छ, महिला, आमाको मृत्युदर बढ्दो छ, त्यो कर्णालीमा छ । र, त्यो कर्णालीको पीडालाई, गरिबीलाई, त्यो दुःखलाई बेच्ने नेता धेरै आए, त्यो गरिबीलाई बुझ्ने नेता धेरै आएका छैनन्, अहिलेसम्म कोही आएको छैन । त्यो बुझ्ने नेताहरू बन्न चाहन्छन् राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू ।’

कर्णालीमा पर्यटन, कृषि र आयआर्जन वृद्धि गर्न र आशीर्वाद लिन आफूहरू आएको उनले बताए । ‘यहाँको पर्यटन, कृषि, आयआर्जन सबै वृद्धि गर्न पाऊँ । तपाईंहरूको आशीर्वाद लिन पाऊँ । अस्ति मैले फेसबुकमा लेखेजस्तै, अब ‘कर्णालीका सुइना हाम्मा सुइना’ भनेजस्तै तपाईंहरूको त्यो सपना, कर्णालीबाट घोषणा गरेका छौँ,’ उनले भने, ‘आज उप्रान्तबाट त्यो सबै तपाईंका सपना हाम्रा सपना हुनेछन् । ती सपना बोकेर यहाँबाट जान पाऊँ ।’ 

देशको सबैभन्दा लामो नदी, सबैभन्दा ठुलो जिल्ला, सबैभन्दा ठुलो गाउँपालिका र देशकै सबैभन्दा गहिरो ताल रहेको ठाउँ कर्णाली रहेको बताउँदै उनले त्यो गहिराइलाई आजसम्म कुनै सरकार र पार्टीले बुझ्न नसकेको र आफूहरूले त्यो गहिराइलाई बुझ्न चाहेको बताए ।

‘डोल्पाको सुनजस्तो मानिने यार्सागुम्बा विश्वभरि पुग्न सक्छ । तर, कर्णालीको स्याउ र मार्सी चामल चितवन र झापा पुग्न सक्दैन । राष्ट्रिय स्वतन्त्र पार्टी यहाँको उत्पादन कम्तीमा पनि देशभरि पुर्याउने पार्टी बन्न चाहन्छ,’ उनले भने, ‘आफैँमा यो सिँजा उपत्यका सभ्यता भएको ठाउँ, नेपाली भाषाको उद्गम स्थल, खस भाषाको उद्गम स्थल, यहाँ आफ्नै भाषा छ, आफ्नै लिपि छ, आफ्नै चित्रकला छ, आफ्नै नाचगान छ, आफ्नै जात्रा पनि छ । यो सबै भयो भने एउटा सभ्यता मानिन्छ, राष्ट्रिय स्वतन्त्र पार्टी त्यो सभ्यता जोगाउने पार्टी बन्न चाहन्छ ।’

सुझावित समाचार