निर्वाचनविरोधी गतिविधिमा संलग्नहरू धमाधम पक्राउ

बिहिबार, ७ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचनविरोधी गतिविधिमा संलग्नमाथि प्रहरीले निगरानी र कारबाहीलाई तीव्रता दिएको छ । निर्वाचन बिथोल्ने गतिविधिमा लागेकाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो ।

सोही अभियोगमा आइतबार दुर्गा प्रसाईंलाई पक्राउ गरेको प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । त्यस्तै, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल र नेकपा बहुमतका महासचिव धर्मेन्द्र बाँस्तोला पनि पक्राउ परेका छन् ।

प्रसाईंनिकट एसपी साहलाई पनि काठमाडौंमा प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

नेकपा बहुमत पार्टीका चार नेता बुधबार पक्राउ परेका छन् । नेकपा (बहुमत) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी नेतृ सुप्रिया नेपाली, नेकपा बहुमतकै सदस्य वीरजन विश्वकर्मा, स्वर्णिम विके र नवलबहादुर भुललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

यसैगरी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य नरेन्द्र विक भन्ने नरेद्रबहादुर रिजाललाई पनि प्रहरीले पक्राउ गरेको छ। चुनाव बिथोल्ने गतिविधि गरेको प्रमाणका आधारमा उनीहरूलाई पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले बताए । 

निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई गृह मन्त्रालयले पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएको छ । सोहीअनुसार पक्राउ गर्न थालिएको प्रहरीले जनाएको छ । शान्तिपूर्वक निर्वाचन सम्पन्न गराउनका लागि योजनाबद्ध रूपमा निर्वाचनको विरोधमा लागेकाहरूमाथि कारबाही थालिएको प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार