राजनीतिक तहमा भएका सहमति कार्यान्वयनमा प्रतिबद्ध छु : नवययुक्त चिनियाँ राजदूत

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

नवनियुक्त चिनियाँ राजदूत झाङ माओमिङले नेपाल र चीनका राजनीतिक नेतृत्वबिच विगतमा भएका सहमति कार्यान्वयनमा आफू सक्रिय हुने प्रतिबद्धता जनाएका छन् । उनी काठमाडौं आएपछि पहिलोपटक चिनियाँ नयाँ वर्ष (वसन्त उत्सव)का अवसरमा मंगलबार पाटन दरबार क्षेत्रको रोयल स्क्वाएरमा आयोजित कार्यक्रममा देखिएका हुन् ।

‘यो वर्ष चीनको १५औँ नयाँ पञ्चवर्षीय योजना कार्यान्वयन सुरु भएको छ । दुई देशबिच उच्च राजनीतिक तहमा विगतमा भएका  सहमति कार्यान्वयनका लागि राजदूतका रूपमा म प्रतिबद्ध छु,’ राजदूत माओमिङले भने, ‘दुई देशबिच पुस्तौँदेखिको रणनीतिक सहकार्य तीव्र गतिमा अघि बढोस् भन्ने म चाहन्छु । दुई देशबिच दीर्घ इतिहास छ, प्राचीन एवं जनस्तरको सम्बन्ध सुदृढ गर्नुपर्छ ।’ दुई देशको सम्बन्ध नयाँ ऐतिहासिक मोडमा रहेको पनि बताएका छन् ।

‘राष्ट्रहरूको सम्बन्ध जनताको आत्मीयताबाट हुन्छ र जनताको हृदयबाट सम्बन्ध अघि बढ्छ,’ राजदूत माओमिङले भने, ‘हामी नेपाल र चीनको मित्रताको परम्परालाई निरन्तरता दिइरहेका छौँ । सभ्यता, विविधता, आपसी सिकाइमा हामी जोड दिन्छौँ ।’ उनले चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा प्रस्तावित विश्वव्यापी सभ्यता पहल (जिसिआई) कार्यान्वयन हुनुपर्नेमा पनि जोड दिए । चीनमा खुलापन सुरु भएको उल्लेख गर्दै यसको क्रमशः कार्यान्वयन हुँदै जानेसमेत उल्लेख गरे । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले चिनियाँ नयाँ वर्षको शुभकामना जनाउँदै दुई देशबिचको सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका थिए ।  
 

सुझावित समाचार